सेल रोटी पकाउन छोडेर अछामी महिलाहरु रक्सी-जुवा विरोधी अभियानमा
३१ असोज, अछाम । रक्सी सेवनले दशैंमा विकृति तथा अराजकता मच्चाउने भन्दै अछामका महिलाहरु रक्सी नियन्त्रण अभियानमा जुटेका छन् । महिला पहिला पुरुषले जे गरेपनि चुपचाप बस्ने महिलाहरु अहिले भने रक्सी भट्टी भत्काउन कम्मर कसेर लागेका छन् ।
पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरु रक्सी नियन्त्रण अभियानमा जुटेका छन् । उनीहरुले दशैंमा घर पोत्नेदेखि सरसफाईका काम छोडेर अभियानमा जुटेका छन् । रक्सी–जुवाले घर परिवार तथा समाजमा दशैं नभए दशा आउने भन्दै आमा समूहको अगुवाईमा महिलाहरु रक्सी नियन्त्रण अभियानमा जुटेका हुन् ।
रक्सी–जुवाविरुद्ध नारा लगाउँदै महिलाहरुले गाउँ परिक्रमा समेत गरेका छन् । उनीहरुलाई गाउँका रक्सी विरोधी केही पुरुषहरुले पनि साथ दिएका छन् । विरोध र्याली कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई उक्त नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले सम्बोधन गरेकी थिइन् । उनले रक्सीविरुद्ध आमा समूहको अभियानलाई आफ्नो साथ रहेको बताइन् ।













