हराउँदै सखियाको रौनक
कैलाली। थारु समुदायका महिलाले नाच्ने परम्परागत सखिया नाचको रौनक केही वर्षयता हराउँदै गएको छ। विगतमा रोपाइँ सकिएलगत्तै सखिया नाचको तयारी हुन्थ्यो। डश्या ९दसैँ० र तिहारका बेला गाउँमा निकै रमाइलो हुन्थ्यो। तर, गाउँमा प्रविधिको पहुँच बढ्दै गएसँगै मादलको ताल र मञ्जिराको छुनछुन आवाज पनि बिस्तारै हराउँदै गएको छ।
खासगरी डश्या नजिकिएसँगै थारु समुदायका महिलाले दिनभरिको काम सकेर साँझ भलमन्साको घरमा सखियाको ‘पैँया’ अर्थात् सखिया नृत्य प्रस्तुत गर्ने चलन थियो। अट्वारी पर्वलगत्तै सखियाको पैँया सुरु हुन्थ्यो। थारु कल्याणकारिणी सभा नगर सभापति तथा धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका अगुवा सूर्य चौधरीका अनुसार अहिले केही गाउँमा मात्रै अट्वारी पर्व सकिएपछि डश्याको तयारीस्वरूप सखिया नाचको पैँया लगाउने चलन बाँकी छ।
मादल र मञ्जिराको तालमा युवती तथा महिलाले सामूहिक रूपमा सखिया नाच प्रस्तुत गर्छन्।
महिलाहरूको सहभागितामा साँझपख सामूहिक रूपमा नाचिने भएकाले यसलाई सखिया नाच भनिन्छ। तर, विगतमा लामो समयसम्म नाचिने सखिया अहिले दसैँमा मात्रै सीमित हुँदै गएको थारु नागरिक समाजका दिलबहादुर चौधरी बताउँछन्।
उनका अनुसार अहिलेको पुस्ता प्रविधिसँग बढी अभ्यस्त हुनु, सखिया नाचप्रतिको चासो घट्दै जानु र समयको व्यस्तताजस्ता कारणले पहिलाको जस्तो नाच नाच्न छाडेको हो।
मादलको तालसँगै हराउँदै परम्परा
मादल र मञ्जिराको तालमा युवती तथा महिलाले सामूहिक रूपमा सखिया नाच प्रस्तुत गर्छन्। मादल बजाउने ‘मंदरिया’को निर्देशन र मादलको ताल ९खोट० अनुसार नाचका विभिन्न शैली प्रस्तुत गरिन्छ।
थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्छन्। साथीहरू मिलेर नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको सूर्य चौधरी बताउँछन्। सखिया नाच थारु समुदायको मौलिक लोकनृत्य हो।
थारु समुदाय संस्कृति, नाचगान र परम्परामा धनी मानिन्छ। मनोरञ्जनका लागि यहाँ अलिखित गीत, नाचगान र सांस्कृतिक अभ्यासमा रमाउने पुरानो चलन छ। दसैँ(तिहारका बेला रात परेपछि मादल र मञ्जिराको छुनछुन आवाजले थारु गाउँमा रमझम हुन्थ्यो।
दसैँमा गाउँका ठूलाबडा, अगुवा, बुद्धिजीवी तथा राजनीतिकर्मीका घरमा सम्मानस्वरूप नाच लिएर आशीर्वाद लिन जाने चलन थियो।
कृष्ण जन्माष्टमीको दिनदेखि सुरु हुने सखिया नाच दसैँमा समापन हुने चलन थियो। तर, कोरोना महामारीपछि थुप्रै थारु गाउँ सुनसान हुन थालेसँगै यो परम्परागत नाच पनि प्रभावित भएको स्थानीय बताउँछन्।
यो नाच गाउँका बर्का गुरुवा र केसौका ९सहायक गुरुवा० मार्फत कुल देउठानमा गई पूजा(आराधनासहित ट्रासन ठोकेपछि मात्रै सुरु गर्ने रीतिरिवाज रहेको दिलबहादुर चौधरी बताउँछन्।
उनी भन्छन्, ‘‘कुनै पनि कामको सुरुवात गर्दा निश्चित विधि-पद्धति पूरा गर्नुपर्छ। त्यस्तै थारु समुदायमा सखिया, मुङ्गाहुवा र बडका नाच नाच्नुअघि समरौटी गाउने र ट्रासन ठोक्ने गरिन्छ।’’
गाउँ–गाउँमा हुन्थ्यो अभ्यास र प्रतिस्पर्धा
विगतमा थारु गाउँबस्तीमा कृष्ण जन्माष्टमीको बिहानदेखि नै सखिया नाचको अभ्यास सुरु हुन्थ्यो। यही क्रममा गाउँ(गाउँका नाचबीच प्रतिस्पर्धासमेत हुने गरेको स्थानीय बताउँछन्।
दसैँमा गाउँका ठूलाबडा, अगुवा, बुद्धिजीवी तथा राजनीतिकर्मीका घरमा सम्मानस्वरूप नाच लिएर आशीर्वाद लिन जाने चलन पनि थियो। यसले समुदायमा सद्भाव र आपसी सम्बन्ध सुमधुर बनाउनुका साथै सिंगो गाउँलाई नै सांस्कृतिक माहोलमा बाँध्ने गरेको स्थानीयको भनाइ छ।
पछिल्लो समय सखिया नाच होमस्टे, मेला(महोत्सव तथा स्टेज कार्यक्रममा समेत प्रस्तुत गर्न थालिएको छ। तर, पुरानो चलन भने यस्तो थिएन।
पर्यटक आकर्षणको माध्यम पनि बन्दै
भादा होमस्टेले थारु गाउँमा पाहुनालाई स्वागत तथा मनोरञ्जन प्रदान गर्न विगत १५ वर्षदेखि सखिया र झुम्रा नाच देखाउँदै आएको छ। पैँया नाच्ने क्रममा २२ देखि ५५ वटासम्म खोट ९स्टेप० रहेको भादा होमस्टेका संस्थापक अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन्।
उनका अनुसार नाचसँगै गीतका माध्यमबाट थारु समुदायको संस्कृति, परम्परा र ज्ञानसमेत बुझ्न सकिन्छ।
भादा होमस्टे गाउँमा दैनिक पर्यटक आउने भएकाले उनीहरूलाई मनोरञ्जन दिन सखिया र झुम्रा नाच प्रस्तुत गर्दै आएको अध्यक्ष चौधरी बताउँछन्।
नाचसँगै संस्कृति र प्रार्थना
दसैँमा सखिया नाचका लागि मादल बजाउने पुरुषले दौना ९एक प्रकारको फूलको पात० को बास्नादार माला, सेतो धोती र कमिज लगाउने गर्छन्। मादल पुरुषले नै बजाउँछन् भने नाचमा सहभागी तथा सघाउने सबै महिला हुन्छन्।
नाचगान र संस्कृतिमा थारु समुदाय निकै सजग रहेको स्थानीय बताउँछन्। पुर्खौली ज्ञान र परम्पराअनुसार नाचगानको पनि आफ्नै सिजन हुने गर्छ।
‘‘थारु समुदायले शिव(पार्वती, कृष्णलगायत आफ्ना अन्य देवीदेउतालाई गीतका माध्यमबाट प्रार्थना गर्दै शान्ति एवं रक्षाको माग गर्ने गर्छन्,’’ चौधरी भन्छन्। सखिया नाचमा १५ देखि २० जनासम्म युवतीको समूह सहभागी हुन्छ। उनीहरू लेहंगा, फरिया, चोलिया तथा गोनियासँगै थारु गरगहनामा सजिन्छन्।
नाचगान र संस्कृतिमा थारु समुदाय निकै सजग रहेको स्थानीय बताउँछन्। पुर्खौली ज्ञान र परम्पराअनुसार नाचगानको पनि आफ्नै सिजन हुने गर्छ। तर, बदलिँदो जीवनशैली, प्रविधिको बढ्दो प्रयोग र नयाँ पुस्ताको घट्दो चासोका कारण थारु समुदायको यही मौलिक नाच अहिले विस्तारै सीमित हुँदै गएको छ। नेपाल न्यूजबाट ।https://nepalnews.com/2026/10/08/the-glow-of-friendship-is-fading/













