मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम
पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी) भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका वडा-५ (साविक छालिङ्ग गा.बि.स वडा नं.-१) रावलगाँउमा समुन्द्री सतहबाट १,६२७ मिटर (५,२५० फिट) उचाईमा अवस्थित रहेको छ । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपमा अति महत्वको यस पवित्र स्थान भक्तपुर जिल्लाको उत्तर तर्फको पहाडी भाग (भक्तपुर दरबार स्क्वायरबाट करिब ८ कि.मि., चाँगुनारायण मन्दिरबाट ३ कि.मि. पूर्व र तेलकोट बाट ३.५ कि.मि. पश्चिम) मा अवस्थित छ, धार्मिक तथा प्राकृतिक सौन्दर्यताले भरिएको यस स्थानबाट उपत्यकालाई पूर्ण रुपमा अवलोकन गर्न सकिनुका साथै हिमालय श्रृङ्खलाहरुलाई नजिकबाट राम्रोसंग नियाल्न सकिन्छ । हालका दिनमा यस स्थानलाई त्रिशुल डाँडाको नामाङ्करणले समेत प्रशिद्ध रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
सत्ययुगमा दैत्यराज महिषासुरले देवताहरूलाई पराजित गरेर स्वर्ग कब्जा गरे पश्चात सबै देवताहरूको शक्तिको संयोजन (सङ्कटा देवी, विन्ध्यवासिनी देवी, महाकाली र महाँकाल) बाट दुर्गा प्रकट हुनु भई उहाँले महिषासुरसँग भीषण युद्ध गरी अन्ततः महिषासुरको वध गर्नुभए पश्चात यस प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्वत श्रृङ्खलाले वरीपरिबाट घेरीएको शान्त र आनन्दीत यस पवित्र भूमिमा आई आफ्नै स्वरूपमा समाहित (या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता) भई बिराजमान हुनु भएकोले यस स्थानको नाम देवी महाङ्काल रहन गएको धार्मीक कथन पाईन्छ । दुर्गा शक्ति (Divine Feminine Energy) को सर्वोच्च रूप रहेको हुँदा उहाँले सत्यको विजय, धर्मको रक्षा, र दुष्ट शक्तिको नाश गरी भक्तहरूको सुरक्षा गर्नु हुने हुँदा यस देवीमहाँकाल (दुर्गा/भगवती) माता समक्ष सच्चा मनले ईच्छ्याईएमा ईच्छ्याईएको कुरा पूर्ण हुने धार्मिक विस्वास रहँदै आएको र ईच्छित कुरा पूर्ण समेत हुँदै पनि आईरहेको छ ।
साथै, १५ औँ शताब्दीमा मल्लकालिन समयमा आफ्नो राज्यलाई सुरक्षित राख्न मल्ल राजाले यस स्थानलाई सुरक्षा चौकी (fortified post) को रूपमा वरपरका क्षेत्रहरूको निगरानी र रक्षा गर्न किल्ला/गढी बनाई प्रयोग भएको हुँदा यस स्थान “मुलाकोट गढी” को नामबाट समेत परिचित हुँदै आएको किम्बदन्तीहरु रहेको छ भने काठमाण्डौ र ललितपुरलाईलाई आफ्नो नियन्त्रणमा लिई बिजय हासिल पश्चात बि.सं.१७६९ मा पृथ्वी नारायण शाह उपत्यका भिन्न स्थानहरुको अवलोकन र भ्रमण गर्ने क्रममा यसै मुलाकोट गढीमा आईपुगे पश्चात वरिपरिबाट पर्वत सृङ्खलाले घेरीएको काठमाण्डौ उपत्यकाको पुरै भू-भागलाई चारैतिर (३६० डिग्री) बाट अवलोकन गर्न सकिने अति रमणिय प्राकृतिको अनुपम उपहारका साथै धार्मिक रुपमा समेत अति महत्पूर्ण यस स्थानमा आईपुगे पश्चात भक्तपुरलाई समेत तुरुन्तै कब्जा गर्नुपर्ने महशुस गरेर भक्तपुरका राजा रणजीत मल्ललाई समेत आफ्नो कब्जामा लिईएको ईतिहाँस अग्रज तथा ईतिहाँसकारहरुबाट पाईन्छ । (लिखित अभिलेख धेरै सीमित छन्) ।
विशेषताहरू :
यस पवित्र भुमिमा बिराजमान देवीको दर्शन गर्नाले रहेक भक्तहरुको मनोकाँक्षा पुरा हुने । यहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्री (panoramic view) बाट आकर्षक दृश्यमा अवलोकन गर्न तथा उत्तरी भेगमा रहेमा हिम श्रृङखलाहरुलाई अधिक नजिकबाट नियाल्न सकिन्छ भने शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण यो ठाउँ हाइकिङ, (nature walk) घुम्न तथा पिकनिकको लागि अति उपयुक्त छ । यो स्थान धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको अति नै महत्वपूर्ण स्थान रहेको छ।
अहिलेको अवस्था :
संरक्षण अभवा तथा धार्मिक सम्पदाहरुको नयाँ निर्माणका कारण ऐतिहांसिक पहिचान बोकेको मुलाकोट गढीको अवशेषहरु नरहनु अतिनै दुखद बिषय रहेको छ । पछिल्ला वर्षहरूमा यस स्थानलाई धार्मिक तथा पर्यटन स्थलको रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।
यस पवित्र स्थलमा प्राचिन समयमा निर्माण भएका भौतिक संरचनाहरुको जिर्णोद्वार तथा संरक्षण अभावको कारणले गर्दा भत्कन गई पुरातात्विक भौतिक संरचना तथा ईतिहांस नै लगभग लोप भई सकेको अवस्थामा यस पवित्र स्थानमा बस्न योग्य कुनै पनि संरचनाहरु नभएको अवस्थामा वि.सं. २०५६ सालमा अलौकिक शक्तिवान “योगीनाथ अघोरी बाबा स्वर्गिय श्री कालीनाथ” यस स्थान आउनु भई बिना पक्की भौतिक संरचना मन्दिर परिसरमा अस्थाई कुटी निर्माण गरी जंगली जनावर लगायत खराब नियती भएका दुष्ट र दुर्जन ब्यक्तिहरुबाट समेत अविचलित नभई माता भगवतीको पाउ चरणमा परी ईतिहाँस समेत मेटिईसकेको यस पवित्र स्थानलाई आजको दिनमा धार्मिक तथा पर्यटकिय स्थलको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चित/परिचित गराउन महत्वपूर्ण योगदान दिनु भएको थियो । तपशिलमा उल्लेखित जे-जती धार्मिक तथा पर्यटकिय भौतिक संरचनाहरु निर्माण भए वहाँकै समयमा निर्माण भएको थियो । “योगीनाथ अघोरी बाबा स्वर्गिय श्री कालीनाथ” माता भगवतीको भक्तिमा रही यस पवित्र स्थानलाई थप उर्जावान बनाउनु भई आफ्नो दिब्य आत्मालाई यसै पबित्र स्थानको वरिपरी रहने गरी भौतिक शरीर बि.सं. २०७६ सालमा त्याग गर्नु भयो । तत्पश्चात योगीनाथ अघोरी बाबाका शिष्य “योगी हरिनाथ” ज्यूबाट संरक्षण र रेखदेख कार्य भईरहेको छ ।
धार्मिक तथा पर्यटकिय स्थलहरु :
१. “देवी बृक्ष” सत्य युगमा देवी भगवती माता विराजमा हुनु भएको बृक्ष
२. २७ फिट अग्लो त्रिशुल (१०० फिट अग्लो त्रिशुल राख्ने कार्य भईरहेको)
३. सिङ्गै शिलाबाट निर्मित ७ फिट अग्लो पञ्चमुखे हनुमानको मुर्ती
४. सन्तोषी माताको मन्दिर
५. शिवालय (पशुपतिनाथ)
६. गोरखनाथ मन्दिर निर्माण कार्य भईरहेको
७. मनमोहक बगैचाहरु
८. “योगीनाथ अघोरी बाबा स्वर्गिय श्री कालीनाथ” बिराजमान कुटी
९. “भौरव कुटी” (पर्यटकहरुको लागि अवलोकन गर्न तथा विश्रामको निमित्त निर्माण गरिएको)
१०. पृथ्वी नारायण शाहको शालिक
११. मल्लकालिन गढी













