दशैं कसैको दशा नबनोस्

हिन्दू धर्म मान्ने नेपालीहरुको ठूलो पर्व विजयादशमी हाम्रो घर आगनमा पुगि सकेको छ । दशैं मनाउन हिडेकाहरु कोही घर पुगिसकेका छन् त कोही बाटोमै छन् । मिथकलाई आधार मान्ने हो भने महिषासुर जस्तो राक्षसको अहंकार र दम्भलाई नास गर्न देवी अर्थात नारीको उत्पति भयो । देवी र महिषासुरबीच ९ दिनसम्म चलेको युद्धमा देवीद्वारा महिषासुरको वध भयो । देवीको जित भयो, राक्षसको हार । दशौं दिनमा विजयोत्सव मनाइयो । त्यसैले जगतको संरक्षकको रुपमा नारीलाई शक्तिको प्रतिक मानेर दसैँमा नवदुर्गाको आराधना गरिन्छ ।

असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने सकारात्मक विविधताले युक्त दसैँमा व्यक्तिगत स्वार्थ (भाकल) पूरा हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य हुन्छ । जुन युग सुहाउँदो काम होइन । कुनै पनि जीव जन्तुको बलि दिनु भनेको हिंसाको बाटो रोज्नु हो । मान्छेलाई हिंस्रक बनाउने मूल मन्त्र हो ।

बलि प्रथाको अन्तरनिहित सन्देशमूलक भाव बुझ्न सकेन मान्छेले । बलि दिनु भनेको त्याग गर्नु हो र हामीभित्र रहेका काम, त्रोध, लोभ, मोह, घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु होस र यो नै सही अर्थमा पञ्चबलि दिनु हो । तर बिडम्बना भन्नुपर्छ हाम्रो अबुझता, बेबुझताले गर्दा हामीले आफ्नो कुप्रवृत्तिको बलि दिनु पर्नेमा निर्दोष पशुको बलि दियौं । जुन प्रथाले हाम्रो कुप्रवृत्ति बढाउनुबाहेक अरू केहि गर्न सक्दैन । निर्मम पशुबलि हुन नदिने र मठ मन्दिरलाई बधशाला बन्नुबाट रोकिनु आजको आवश्यकता हो ।

प्रेम र शान्तिको सन्देश बोक्ने धर्मलाई पशुबलिसँग जोड्नु हुँदैन । धार्मिक मेलालाई पशुबलि महामेला बनाउनु हुँदैन, बन्न दिनु हुँदैन । पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न पार्न मान्छेले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनुपर्दछ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।

दशैं आफन्त, नातागोता, छरछिमेक बीच सम्बन्ध बनाउने, टुट्न नदिने, मजबुद बनाउने महत्वपूर्ण माध्यम हो । आफन्तहरूसँगको भेटघाट, पारिवारिक मिलन, बालबालिकाको खुसी र सांस्कृतिक आस्था बोकेर आएको यो पर्व सबैका लागि प्रिय बनोस्, सबैका लागि खुसी बनोस् र आत्मीयताको माध्यम बनोस् । शक्तिकी प्रतिक दुर्गामाताले कोही कसैलाई अपराधको बाटो नदेखाउन् । सकारात्मक सोचका साथ अघि बढ्न शक्ति प्रदान होस् भन्दै शुभकामना दिएका थिए । चाडपर्व सरल र मितव्यपी कम खर्चिलो र भडकिलो नहुने ढंगले सबैले रमाईलो गरुन् । दर्गामाताले सबैको रक्षा गरुन् दशै कसैको दशा नबनोस् । सबैलाई सद्बुद्धि मिलोस् भन्दै सबैलाई दशैंको हार्दिक शुभकामना ।