थाकसको रणनीति फराकिलो हुन आवश्यक

धेरै खुम्चिएको हालै सम्पन्न थारु कल्याणकारी सभाको विषय विभिन्न चर्चा भइरहदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समय देखी राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न वहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त गरि थारु समुदायको हक हित र संस्कृति संरक्षणका लागी थारु कल्याणकारी सभा स्थापना हुनुले समग्र थारु समुदायमा उत्साह वृद्धि हुनु स्वभाविक थियो । लामो इतिहास बोकेको थारु कल्याणकारी सभाको २२ औं अधिवेसन सम्पन्न हुँदा सम्म यस संस्थाले के कति र कस्ता कामहरु सम्पन्न गरेको छ भन्ने जवाफ लामो समय त्यस संस्थाको नेतृत्वमा रहेका महानुभावहरुले व्यक्त गर्न सक्नुहुन्छ होला ।

थारुहरुको अग्रणी संस्थाको रुपमा थाकस हुँदा हुदै वर्तमान समयमा आएर विभिन्न संघ संस्थाहरु स्थापना हुने क्रम वढ्दो रहेको छ । यी विभिन्न संस्थाहरु स्थापना हुनुमा थाकसको कमजोरी हो कि भन्ने अनुमान गर्न सकिने अवस्था श्रृजना भइरहेको छ । थाकसको नेतृत्वमा पुर्वी थारु र पश्चिमा थारुवीच विभाजन श्रृजना हुनु, राष्ट्रिय स्तरमा मनाइने माधी तथा गुरही पर्व छुट्टा छुट्टै मनाइनु जस्ता घटनाहरु समेत थाकस संग जोडिएका पक्षहरु हुन् । यस्ता विभिन्न सन्दर्भहरुलाई केलाउँदा थाकस असफल भएको हो कि भन्ने आभाष आम थारु समुदायमा मौलाउनु स्वभाविक हो ।

पछिल्लो समय राज्य संग पहिचान र अधिकार लिनका लागी थारुहरु संघर्ष चल्यो र चलिरहेको छ । यस्तो आन्दोलनको परिवेशमा थाकसको भुमिका के कस्तो रह्यो भन्ने कुरा आम जन समुदायलाई छर्लङ्ग भएको छ । व्यक्तिगत रुपमा थारु कल्याणकारी सभाका पदाधिकारीहरुले थारु हक हितका आन्दोलनहरुमा महत्वपूर्ण भुमिकाहरु निर्वाह गरेपनि संस्थागत रुपमा भने थाकसको भुमिका नगण्य देखिन्छ । यहाँ थारु हक हितका लागी भएका आन्दोलन र थाकसको भुमिकाको विषयमा चर्चा गर्नै पर्ने देखिन्छ । लामो समय आन्दोलन चरिहेको यस अवस्थामा थारु कल्याणकारी सभाको भुमिकाले यसको औचित्यलाई प्रस्ट पार्ने छ ।

थारु समुदायको हक, हित र पहिचानका लागी संघर्ष गर्दै गर्दा कैलाली टिकापुरमा भएको अप्रिय घटनालाई कसैले पनि विर्सिन सक्दैन । टिकापुर घटनामा जे भयो र जे भइरहेको छ त्यो कसैका लागी प्रिय छैन । हिजो टिकापुर घटनाले साम्प्रदायिकताको रुप लिने खतरा मौलाएको थियो तर परिस्थितिले त्यसलाई पराजित ग¥यो तर अहिले सम्म आएर हेर्दा राज्य र थारु कल्याणकारी सभा दुवैको दृष्टिकोण एकैनासको देखियो । न त राज्यले टिका घटनालाई न्यायीक आन्दलोलनको रुपमा हे¥यो न थाकसले नै । हुन त थाकसका तत्कालीन अध्यक्ष र वर्तमान अध्यक्ष दुवै एकै व्यक्ति र पीडित व्यक्ति हुन् । तर पनि अघि उजागर गरे जस्तै व्यक्तिको भुमिका आन्दोलनमा रहेपनि संस्थागत भुमिका भने नगव्य नै छ । फेरि पनि थाकसको अध्यक्षमा निर्वाचित भएको अवस्थामा केहि भुमिका खेल्न सक्लानकी भन्नेमा संका गर्ने ठाउ भने व्यापक रहेको देखिन्छ ।

समग्र परिवेश हेर्दा थाकस धेरै खुम्चिएको अवस्थामा रहेको छ । थाकसको नेतृत्वबाट समेत धेरै आस गर्ने ठाउँ समेत देखिदैन । किन कि थाकसको नेतृत्व हिजो जे थियो आज पनि त्यहि छ । थाकसका अध्यक्ष स्वयं टिकापुर घटनाका पीडित हुन् तर सरकार संग पहुँचको आधारमा र पदकमो आधारमा अरुको टाउँकोमा दोष थुपारेर आफुलाई थारुहरुको मसिहाको रुपमा प्रस्तुत गर्ने छोड्नु भएको छैन । आज राज्यले रेशम चौधरीलाई जनताको जनमतका वावजुद दोषी करार गरि रहदा थारु आन्दोलनका मसिहा हुँ भन्नेहरु आफ्नो लाभको लागी सरकारको पिछलग्गु वनेको देखिन्छ ।

थाकसको अधिवेशन सम्पन्न भयो, नेतृत्व चैन भयो, घोषण पत्र पनि जारी भयो तर न त यो सम्मेलनले समग्र थारु समुदायलाई समेट्न सक्यो, न त समग्र थारु समुदायका मुद्धा सम्बोधन भयो न त सवल नेतृत्व नै चयन भयो । साँचो अर्थमा थाकसलाई आम थारु समुदायको नेतृत्वदायी संस्थाको रुपमा स्थापना गर्ने हो भने थारु समुदायको मुद्धाहरुमा प्रष्ट भएर अगाडी वढ्न जरुरी छ । आगामी दिनमा समेत थाकसको नेतृत्वले व्यक्तिवादी चरित्र देखाएमा समग्र थारु समुदायले थारु हक हितको लागी नेतृतवदायी अर्को संस्थाको विकल्प रोज्न वाध्य हुने अवस्था प्रष्ट छ । अहिलेको नेतृत्व आफै टिकापुर घटनाको संलग्न हुँदा हुँदै उक्त घटनाको बारेमा थाकसले नवोल्नु नै नेतृत्वको नियत र क्षमतालाई प्रष्ट पार्दछ ।
अन्तमा स्वयंम राज्य र थारु समुदायबाट समेत अदृष्य रहेको अवस्थामा कसरी थाकसको सफल नेतृत्व गर्नु हुन्छ त्यो समयले देखाउने छ । हिजोकै नेतृत्वको निरन्तरताको रुपमा आजको नेतृत्व रहेकोले धेरै आश गर्ने अवस्था छैन तर मिनराज चौधरी लगायत निर्वाचित पदाधिकारीहरुलाई शुभकामना सहित सफल कार्यकालको शुभेक्षा व्यक्त गर्दछु । साथै राष्ट्रिय थारु कलाकार मञ्चको संयोजकको हैसियतले थाकसले कलाकारहरुका लागी समेत प्रष्ट निति ल्याओस भन्ने अपेक्षा गर्दछु । थाकसले फेरि पनि हिजोका दिनहरु जस्तै निष्कृय रहेको अवस्थामा यसको विकल्पमा समग्र थारु समुदायको हक हितकालागी आवश्यक पर्ने अर्को संस्था जन्माउन समेत हामी सक्षम रहेको जानकारी अनुरोध गर्न चाहान्छु ।  (राष्ट्रि थारु कलाकार मञ्च संयोजक )