लडेर मैले के पाए ?
आज आमाले बिहानै पिँढिमा मलाई लोप्पा लगाइन
अनि सोधिन
लडेर के पाइस ?
न बाउको किरिया बस्न पाइस
न बहिनीलाई डोलीमा बोक्न पाइस
न आफ्नै स्वास्नी पोइला जादा रोक्न पाइस
न लालाबालाले बा भनेको सुन्न पाइस
न ऋण तिर भन्ने साहुमहाजनको मुख थुन्न पाइस
लडेर के पाइस ?
अब म सोच्न थाले
साच्चै लडेर के पाँए ?
न मर्न आँटेको बाबुलाइ दवाइ पिलाउन पाँए
न बहिनिले रोजेको जस्तो केटो दिलाउन पाँए
न स्वास्नीको जवानीमा बिलाउन पाँए
न बालबच्चालाई नयाँ लुगा सिलाउन पाँए
लडेर साच्चै मैले के पाँए
रुकुमको हरेक गोलीमा म परिवर्तन देख्थे
रोल्पाको हरेक एम्बुसहरुमा रगतले स्वतन्त्रता लेख्थे
ती सबै तिनका लागि भएछन
जसका तल म लडेँ
अनि त नउकासिने खाडलमा गढेँ
आज कन्टेनरमा ती बन्दुक नथन्क्याएका भए
आज तिनैलाइ ठोक्थे होला
जे जति अपराध म आफै बोक्थे होला
तर त्यो पनि सम्भब अब भएन
अब तिनका भाषामा सन्तानलाइ बुर्जुवा शिक्षा पढाउदै
तिनका भाषामा सामान्ती सँग ऋण काढदै
जिबनको अन्तिम पल आशामा जिएको छु
फाटेको मनलाइ सान्त्वना ले सिएको छु
अब त आमाले होइन
आफैले आफ्नो मुहारमा लोप्पा खुवाउदै
निधारमा हात राख्दै
म आफैले सोच्दै छु
लडेर मैले के पाए ?
सुरेन्द्र निरौला













