रुपु रावतको मृत्यु पत्र
छातिमा, काखीमा र उच्चारण नै लाज लाग्ने अंगमा
एक्कासी देखिएको परिर्वतनले
मनमा हुरी चलिरहेका बेला
सहानुभूति र परिर्वतनको अर्थ बुझाउनु भन्दा
आफ्नै आमा, दिदी र भाउजुहरूले
घिसार्दैघिसार्दै घर भन्दा टाढा निर्जन एकान्तका
गोठ, गुफा र ढुंगाका ककाराहरूमा छोडिदिंदा
सहनै नसक्ने आँधी चल्न सुरु ग¥यो
जिन्दगीको प्रथम मोडदेखि नै
परिर्वतनलाई उत्सवको रुपमा नमनाउने हो भने
कहाँ सार्थक रंगमा उभिन सक्द छ र जिन्दगी
बारीका डिलहरूमा
स्याउ फुल्दा वा ओखरमा नयाँ पालुवा पलाउँदा
कति खुसि मनाउँछन् पातपातमा चराचुरुङ्गीहरूले
हरेक साउनमा मुल फुट्दा
खोल्सीहरूमा र पखेरीका फेदीहरूमा
कति मज्जाले पलाउन थाल्छन् वरिपरि हरीयाँ घाँसहरू
र, कति खुसिले तिर्खा मेट्छन जनावर र कीरा फट्याङग्राहरूले
म एउटी पहाडकी छोट्टी
उमेरसंगै मेरो शरीरले
काम नै नलाग्ने दुइचार रगतका थोपा फ्याँक्दा
अहो
किन घोषणा गरीयो
समाजमै अनुहार देखाउन नमिल्ने अपराधको
किन टाढाटाढा धकेलिन्छ
आफन्तकै नजरहरूबाट
मान्छेलाई
आफन्तहरूले नै
छुन र देख्न नहुने
किन बनायो र पालिरह्यो
समाजले नै कालो नियम
हरेक महिना
रजस्वलाका पूर्व सन्ध्यामा
बेस्सरी थिच्छ मलाई अखण्ड अध्याँराले
टाढिन थाल्छन् आमाका स्नेही काखहरू
सुकेका दाउरा जस्ता कठोर
र, चिसा ढुङ्गा जस्ता बिझाउने
बन्न थाल्छन् पतिका न्याना पाखुरीहरू
झन्झन् टाढिन थाल्छन्
नुहाई, धुवाइ र शरीर फस्टाउने अन्न र जल
सट्टामा भेटिन थाल्छन्
धुलो, मैलो र गन्धको साम्राज्ययुक्त ढुसिलो ओडार
अथवा गाईभैँसीले ओछ्याउने भन्दा पनि तल्लो शैलीको
कीरा, धुलो र चिस्यानले ढाकिएको
एक अँगालो स्याउलाको रात कटाउने ओछ्यान
परिर्वतनीय प्रवृत्तिलाई स्थायी नमान्ने हो भने
परिर्वतन
मृत्युको पहाड बनेर उभिँदोरहेछ संसारमा
प्रत्येक मासिक धर्म
उदाउँछन् मृत्युका डरलाग्दा श्रृङ्खलाहरू बनेर
नदीजस्तो मेरो जिन्दगीमा
बिस्तारै टाढिन थाल्छ मेरो न्यानो ओछ्यान
बिस्तारै टाढिन थाल्छन् आफन्तका न्यानो अँगालाहरू
सट्टामा
कहिले फणा फिँजाउदै आइपुग्छ एउटा क्रुर साँप
कहिले भेटिन्छन् दाह्रा र नङग्रा तेस्याइरहेका बाघ र भालुहरू
कहिले भेटिन्छ
छुई र छाउपडीमा मलजल गरिरहेका पुरुषको
रक्सीले डुङ्डुङ् गन्हाइरहेको कामुक आक्रमण
कहिले भेटिन्छ
छरछिमेकमा छाउपडीको माहात्म्य सुनाउँदै हिँड्ने
यौनपिपासु पुरुषहरूले तिर्खा मेटिरहेका
एउटा नाटकीय क्षण
उज्यालालाई अँध्यारोभित्र कैद गर्नेहरू
खुबै हौसिरहँदारहेछन्
धमिलो पानीमा माछा मार्न
म मृत्युलाई सहजै स्वीकार्न सक्छु
तर, मान्छेलाई मान्छेले छुन नहुने
र, मान्छेको अनुहार हेर्दा
मान्छे नै झर्छ ओरालोतिर भन्ने
एउटा कालो रीत सम्झदा भने
हिँडिरहे झै लाग्छ फेरि पनि
दुर्घटनाका अध्याँरा बाटाहरूमा ।
सभार : महिला खबरबाट













