गजल

शरिर त किन्न सकिन्छ दाम भएपछी
जे गरे पनि छुट मिल्छ नाम भएपछि

सिताको चरित्रको अग्निपरिक्षा लिन मिल्छ
मर्यादा पुरुषोत्तम भगवान श्री राम भएपछी

गुमसुम पारिन्छन पर्दाभित्रका राजहरु
कस्ले पो देख्छ र बन्द खाम भएपछी

एउटै घरभित्र पनि अलग हुन्छ मान्छे
नाता जोडिन थाल्छन आफ्नो काम भएपछी

पापिले जति पाप गरेपनी हुन्छ याहा
पश्चाताप गर्न चार धाम भएपछि

कामरेडका भाषणहरुले नै क्रान्ति गर्छन
हाम्रो देशको सरकारमा बाम भएपछि

दरबार भित्रबाट बल्ल चियाउछ्न कोहि
दरबारकै बाटोमा चक्काजाम भएपछि

भोको पेटको लागि कस्ले लड्छ होला
आफ्नो पेटमा टन्न बुबुमाम भएपछि

मर्दा मात्र डाको लाउने प्रवृत्तिले गर्दा
छाहारिको यादले पोल्छ घाम भएपछि

पुस्पा जोशी (काली) धनगढी ,कैलाली