‘चुनावमा चनाखो भएर होमिन आग्रह’
हसुलिया, २६ कात्तिक । संयुक्त बाम गठबन्धनले कैलारी गाउँपालिकामा आगामी मंसिर २१ गते हुने निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार वीरमान चौधरीले चनाखो भएर चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरे । विपक्षीहरूले पैसाको खोलो बगाएर चुनाव जित्ने खेल खेलिरहेका छन्, त्यो सपना चकनाचुर बनाउनुपर्छ उनले भने त्यस्ता गतिविधि रोक्न र जनतालाई सचेत बनाउन बामपन्थीहरू एकतावद्ध भएर लाग्नुपर्छ ।
बाम एकता भएमा मात्र देशको बिकास हुन्छ जनताको स्तर उठ्छ सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका गौरीशंकर चौधरीले भने, मलाई जिताउनुभयो मन्त्री बनाउनुभयो, मैले कृषि क्षेत्रमा धेरै काम गरेर देखाएको छु फेरि मौका दिनु भए अझ राम्रा काम गर्नेछु ।
एमालेका सचिवालय सदस्य विमलकुमार जोशीले बाम एकता व्यक्तिका आकांक्षा भन्दा पनि देशमा हीतका लागि गरिएकोले इमान्दार भएर गठबन्धन जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे । एमालेका जिल्ला सदस्य दीर्घ जोशी कापडीले हिजो ६० वर्षका बुढापाका मार्छन् भनेर हल्ला फिजाइयो तर हामीले नै वृृद्धवृद्धाको सम्मान गर्दै वृद्धभत्ताको व्यवस्था गर्न थाल्यौ फेरि पनि त्यस्ता अनेक हल्ला चलाउन सक्छन्, त्यसतर्फ ध्यान दिएर चुनावमा होमिनु पर्ने बताए ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कार्यकर्ता तहमा बाम एकताको सपना उहिल्यै देखेको भए पनि नेताहरूले वल्ल बुझेर ठिक काम गरेको चर्चा गर्दै यो एकता जोगाउने काम कार्यकर्ताको भएको बताए । हामीले तालमेल सफल बनाउन सके पार्टी एकता हुन्छ उनले भने नेपालका दुईपार्टी मात्र अस्तित्वमा राख्नका लागि पनि बामपन्थी एक हुनुपर्छ । उनले नेपालमा कम्यूनिष्ट र कांग्रेस दुई पार्टी मात्र देशले थेग्न सक्ने पनि बताए । कार्यक्रममा कैलारी गाउँपालिकाका एमाले र माओवादी कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।













