धामी हिरो, बोक्सी भिलेन

नेपाली समाज एक्काइसौं सताब्दीमा प्रबेश गरेका छ । र पनि यो समाजको गतिविधि हेर्ने हो भने सामाजिक मुद्दामा कुनै परिवर्तन आएको देखिन्दैन । एनजिओ आइएनजिओ र राजनीतिक दलकोे कुरा सुन्दा, लाग्छ अबको नेपाली समाज विकसित राष्ट्रको खाका कोर्दैछ तर धरातलमा गएर अध्ययन गर्ने हो भने सामाजिक गतिविधिका मुद्दाहरुको रुप परिवर्तन भई दरलाग्दो पहाड बनिसकेको देखिन्छ । नेपाली सञ्चार माध्यमहरूलाई आधार मान्ने हो भने पनि कथित बोक्सीको आरोपमा महिलाले भोगेका पीडाहरुको ठूलो पहाड छ । यो पिडा कुनै जातीबादसंग मात्र जोडिएको छैन । होला ! अरु समुदाय भन्दा थारू समुदायमा बढि देखिन्छ । तर बोक्सीको आरोपमा थारू समुदाय बाहेक अरु समुदाय पनि अछुतो छैन ।
आर्थिक वर्ष ०७२÷०७३ को दैनिक पत्रिकाको पाना पल्ताएर हेर्ने हो भने मेचीदेखि महाकाली सम्मका गरिबीले एक सरो कपडाको लागि तड्पिरहेका र बाहिरी छालाले कुरुप बनेका अनुहारलाई बोक्सीको आरोप खेप्नु पर्ने पीडाले सजिएको छ । आर्थिक अवस्थाको बध्यता र व्याक्तिगत पहुँच नभएको कारण यस्ता धेरै पीडाहरु जो सञ्चारमाध्य सम्म पनि पुग्न सकेका छैनन्, ति पीडा मनका पहाड बन्दै पहिरो बनि बगिरहेको हुन्छ तर उद्धारका लागि उनीहरु सामु कोही उपस्थित हुन सक्दैन । किनकी हाम्रो सामजमा बोक्सी हुन्छ कि हुदैन भनि सबै कन्फ्यूजनमा छन् ।
बोक्सी भन्दै महिलालाई निर्घात कुट्ने, मानव मलमूत्र कोच्याउने, यौनीमा लठ्ठी घोच्ने, समाज÷घरबाट बहिष्कार गर्ने, गाउँ निकाला गर्ने, कपाल मुण्डन गर्ने, नाङ्गो पारी गाउँ घुमाउने, सिस्नो पानी लगाउने, तताएको रातो फलामले डाम्ने, धारिला हात हतियार प्रहार गर्ने, जिउँदै जलाउने, कालो मोसो दलेर गाउँ घुमाउने जस्ता अमानवीय व्यवहार गरेको घटना त हामी सञ्चार माध्यमबाट सुनिरहेका हुन्छौ । तर यी घटना बाहेक बोक्सीकै आरोपमा फरक यातना पाउनेको संख्यामा पनि कमि छैन ।
कैलाली जिल्लाको सदरमुकामसंग जोडिएको कैलाली जिल्ला वेला देविपुर गाविस वडा नं. ७ घेड्सुवाका राज कुमारी रानालाई २०६९ चैत्र २३ गते उनको देवर लाल सिं राना, धर्मराज राना, राम सिं रानाले कुटपिट गर्नुका साथै रुखमा हात बाँघेर कपाल खौरी दिसा खुवाएर यौनिमा कैची र लठ्ठी समेत घुसाइ यातना दिइएको थियो । उनी न्यायको पखाईमा बस्दा बस्दै २०७१ पुसमा मृत्यू वरण गरिन् । दोषीलाई कडा करबाही भए आफू न्याय पाएको महशुस गर्ने रगिंन सपना चिताको धुँवामा बिलन भयो ।
कैलाली जिल्लाको उदासीपुर गाविसका नाम नखुलाउने सर्तमा एक थारू समुदायका महिला हाल मानसिक तनाबको औषधी सेवन गरीरहेकी छिन् । उनी बल्यकालमा पढ्न नपाउँदै सानै उमेरमा घर गृहस्तीमा होमिनु प¥यो । हाल उनी २ छोरा र ३ छोरीकी आमा बनिसकेकी छिन् । बौद्धिकताको कुरा गर्ने हो भने उनी कुनै कुरामा कम छैनन् । हाते सिपदेखि साना साना कुरालाई अरु भन्दा छिटो टिप्न सक्ने क्षमता छ उनीमा छ ।
सरकारले पढ्न नपाएकालाई पनि प्रौढ शिक्षा पढाउने भनि गाउँ गाउँमा प्रोढ शिक्षा सञ्चालन ग¥यो । त्यही अवसर छोप्दै उनी पनि २०७१ साल माघ महिनामा प्रोढ शिक्षामा नाम लेखाईन् । कक्षा सञ्चानको क्रममा उनी हरेक गतिविधिमा अरु विद्यार्थी भन्दा अगाडी थिईन् । गीत गाउँनेदेखि लिएर गृहकार्य गर्ने सम्म । तर त्यही क्षमताले उनका लागि विषालु सर्पकोरुपमा विस्तारै सवित हुदै गयो अन्ततः उनी राम्रो क्षमता भएकै कारण बोक्सीको आरोपी बनिन् ।
उनी, म बोक्सी होईन भनि कत्ति जनालाई स्पष्टिकरण दिने ? सामाजमा उनी बोक्सी हुन भनि चिन्ने डरले घरमै मिलाउने प्रयास गरिनन् तर उनलाई बोक्सी बनाउने उनकै आफन्त, सहकर्मी र साथीहरुले विस्तारै गाउँ भरि हल्ला फिजाई दिए । तर पनि उनी बदनामीको डरले कानुनीरुपमा कुनै पहल गरिनन् । बरु बोक्सीको आरोपमा छोरा बुहारीबाट टाढिना बाध्य भईन् ।


गाउँका सबैले उनलाई कानेखुशी गर्दै बोक्सी आउदै छ है भनि टिका टिप्णी गर्न थालिसके पछि उनका जेठो छोरा बुहारी घर छोडेर धनगढी बजारमा मजदुरी गर्न बाध्य भए । उनी हाल सम्म पनि मानसिक तनावले औषधी सेवन गरिरहेकी छिन् ।
त्यसै गरी गदरिया गाविसका एक विपन्न समुदायका एक महिला बोक्सीको आरोपमा मानसिक सन्तुलन गुमाएकी छिन् । उनलाई उर्मा गाविस उर्मी गाउँकी एक माताले …..गाउँलेलाई दुख दिएको भन्दै सो महिलालाई जादु गरिदिएको बताउछिन् ।
माताका अनुसार गाँउमा विरामी हुने सबैलाई तिनै महिलाले दुख दिईरहेको आरोप छ । विरामी पर्नेहरु धेरै जसो माता कहाँ झारफुक गराउन जान्छन् । र माताले धेरै जसो विरामीलाई त्यही बोक्सी लागेको आरोप लगाउछिन् ।
माताले एक वर्ष अगाडी आफू कहाँ आउने विरामीलाई किन दुख दिईरहेकी छौ भन्दै बोक्सी आरोपी महिलालाई आफू कहाँ बोलाईकी थिईन् । तर बोक्सी आरोपी महिला माताको अगाडी आफू बोक्सी नभएको स्वीकार गरे पछि माताले झूठो बोले बाफत आफू त्यो महिलामा जादु गरेको बताउछिन् ।
बोक्सी आरोपी महिला हाल सम्म मानसिक सन्तुलन गुमाएकी छिन् उनी आफ्नै आफन्तबाट बहिस्कृत छिन् तर कानुनी उपचारमा भने गइनन् । उनलाई बोक्सी भएकै कारण पागल भएको हो भन्दै परिवारले पनि उपचार नगरेको अवस्थामा उनी एक्लै भौतारिदै छिन् ।
सो गाउँका मान्छे विरामी भए पछि गुरुवाले त्यही बोक्सीको कारण विरामी परेको आरोप लगाउछन् ।
मान्छे, जीवजन्तु जो कोही पनि रोग लागेर विरामी पर्छन् तर हाम्रो सामाजमा रोग लागे पछि डाक्टर भन्दा गुरुवा, धामी झाँत्रीलाई बढी विश्वास गर्ने चलनले प्रचश्व पाएको छ । गुरुवा, धामी झाँत्रीलाई हाम्रो समाजले हिरो बनाउने पितृसत्तात्मक समाज नै हो । पितृसत्तात्मक सामाजिक प्रणालीले पुरुषलाई नै सर्वश्रेष्ठ र महत्वपूर्ण व्यक्तिको दर्जा दिएको कारण महिला यस्ता खालका कुरीतिबाट ग्रसित छन् । महिलालाई कमजोर, अस्तित्वहीन र गौण पात्रको रूपमा स्थापित गर्नु पितृसत्तात्मक संरचना नै हो ।
यदि साच्चिकै महिलामा कुनै खालको जादु नै छ भने पनि तिनीहरुलाई किन बोक्सीको रुप दिने, र पुरुषमा भएको जादुलाई किन हिरोको रुपमा सावित गर्ने यस्ता खाले प्रश्नको प्रतिउत्तर हाम्रो सामजसंग किन छैन ? जो बोक्सी हो भन्दै एउटी महिलालाई रातदिन यातना दिन सक्ने तर बोक्सीको परिभाषा खोजी गर्दा किन मौन हुन्छ ? बोक्सीमा शक्ति हुन्छ र उसले चाहेको खण्डमा अरु माथि जे पनि गर्न सक्छ भनेर विश्वास गर्ने मान्छेले उसलाई पीडा हुने काम आफुबाट भएको खण्डमा आफुले पीडा भोग्नु पर्छ भन्ने हेक्का किन नराख्न सकेका होलान् ! शक्तिवाला मान्छेलाई त छुन पनि नसकिनु पर्ने होइन र ? शक्तिशाली मानिने बोक्सीनै किन आफै कुटिन्छन् होला ? किन बोक्सीले आफु माथि आइलाग्नेसंग जाई नलागेको होला ? के बोक्सी त्यति कमजोर हुन्छ त, जसले आफु मारिन लाग्दा मार्न आउने मान्छेलाई मार्न सक्दैन ?
पछिल्लो चरणमा बोक्सीको नाममा शारीरिक यातना भन्दा मानसिक यातना दिनेको संख्या बढि देखिन्छ । शारीरिक यातना नभोगेको कारण होला पीडितहरु न्याय खोज्न कानुनी प्रक्रियाको ढोका घचघचाउदैनन् होला । जिल्ला प्रहरी कार्यालय कैलालीमा बोक्सीको आरोपमा दुई वर्ष यता एउटा मुद्दा पनि दर्ता भएको छैन । ०७१÷०७२ र ०७२÷०७३ मा बोक्सीको आरोपमा मुद्दा दर्ता नहुनुको कारण कुनै पनि मानिस बोक्सी हुदैन, रिसबीको कारणले बोक्सीको आरोपमा घटना घट्ने गरेको बताउछन् जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपि दिलिप सिंह भण्डारी ।
नेपालको कानुनले बोक्सा बोक्सीको आरोप लगाउने कार्यलाई अपराध मानेको छ । बोक्सी आरोप विरुद्धको ऐन पनि आइसकेको अवस्था छ जुन प्रशंसनीय कार्य हो । तर बोक्सीको आरोपमा निर्दोष महिलाहरू प्रताडित भई नै रहनु नेपाली समाजको बिडम्बना हो । त्यसैले बोक्सी हुन्छ भनेर जसले विशवास गर्छ । अरु माथि आरोप लगाउँछ । र गुरुवाको पक्षपोषण गर्दै हो मा हो थप्छ त्यो उसको अज्ञानता हो ।