ट्रम्प भुकिरहने कुकुरः उत्तर कोरिया
काठमाडौँ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भुकिरहने कुकुर भनेको छ ।
राष्ट्रपति ट्रम्पले बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधनको प्रारम्भिक प्रतिक्रिया दिँदै उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले भने, ‘कुकुर भुक्दै गर्दा पनि परेड खेल चलिरहन्छ ।’
विदेश मन्त्री रिले राष्ट्रसंघ बाहिर पत्रकारहरुसँग कुरा गर्दै भने, ‘ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्मित पार्न खोजेका हुन् भने केही फरक पर्दैन ।’
ट्रम्पले राष्ट्रसंघको महासभालाई सम्बोधनको क्रममा उत्तर कोरियालाई नष्ट गर्नुको विकल्प नभएको बताएका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई रकेटम्यान भन्दै आफू र आफ्नो प्रशासनको लागि खतरा भएको बताएका थिए ।
उत्तर कोरियाका विदेश मन्त्री रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । ट्रम्पको भाषणलाई जवाफ दिने बताइएको छ ।













