सामुदायिक वनले घरगृहस्थीमा सिमित हुनकोे जिवनशैली फेरिदियो
कैलाली । दुई दशकअघि अर्थात २०५९ सालदेखि स्थानीय सयपत्री सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति उपाध्यक्ष बन्ने मौका पाएका ४१ वर्षिया झुमा चौधरीले अहिले मञ्चबाट भाषण गर्दै अरु महिलाहरुलाई नेतृत्वदायी भुमिकामा आउन प्रेरित गर्दै हिड्छिन् ।
कुनैबेला उनी छिमेकीको अगाडी निर्धक्कका साथ बोल्ने आटपनि गर्दैनतिईन्, तर अहिले सार्वजानिक मञ्चहरुमा आफ्ना भनाइ ढुक्कका साथ राख्ने भएकी छन् ।
कैलालीको कैलारी गाउँपालिका–६ कि झुमा १६ वर्षकी हुँदा विवाह भयो । सानैमा दुई सन्तानकी आमा बनिन् । उनलाई लाग्थ्यो महिलाको जीवन त छोराछोरी हुकाउने र घरगृहस्थी सम्हाल्ने काम मात्रै हो ।
तर, अहिले उनी सबैको नजरका महिलापनि जिम्मेवारी पाएपछि नेतृत्वदयी भूमिका निर्वाह गर्न सक्नने हरेछन् भन्ने उदाहरण बनेकी छिन् । जतिबेला सामुदायिक वन संरक्षणको अभियान चलिरहेको थियो, त्यो बेला उनले पनि कार्यसमिति उपाध्यक्षको जिम्मेवारी पाएर अभियानमा जोडिने मौका पाइन् । घरगृहस्थीमा सिमित रहेको उनको दैनिकीलाई फेरियो । उनी भन्छिन्, ‘जब म वन संरक्षणमा लागेँ, मेरो जीवन मात्र बदलिएन, मभित्र आत्मविश्वास पनि बढ्यो ।’
समितिमा काम गर्न थालेपछि उनी बोल्न, सिक्न र नेतृत्व गर्न सक्षम बनिन् । उपभोक्ताबाट सुरु भएको उनको भूमिका वनसंरक्षण यात्राको नेतृत्वदायी भुमिकामा बदलिदियो । उनी उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनिन् ।

झुमा भन्छिन्, ‘अध्यक्ष भएपछि वन, संरक्षणदेखि वनका हरेक काम मेरो काधमा आयो । पहिला आफु सहभागि भए, त्यसपछि अरु उपभोक्तालाई बैठकमा सहभागि गराए । वृक्षा रोपण, गस्ति बस्ने, केहि समस्या आए समाधान गर्ने सबै समाल्दै गाह्रो कामलाई सहज स्वीकार गर्ने बानी बसाले ।’
वनजङ्गल संरक्षण जस्तो क्षेत्रमा महिला अध्यक्ष भएर काम गर्नु त्यो बेला ठूलो चुनौति थियो । तरपनि उनी हार मानिन्, थुप्रै असहयोग र आलोचनाको बिचमा उनी फक्रिदै गईन् । अन्तत उनी फेकोपनको प्रदेश अध्यक्ष सम्मको जिम्मेवारी निवार्ह गरिन् ।
उनी अध्यक्ष भएपछि थुप्रै असहयोगसंगै जुढ्दै अगाडी बढिन् । समितिका अन्य सदस्यले महिला अध्यक्षले काम गर्न सक्दिनन् भन्ने सोचाइ राख्थे । तर उनी जङ्गलमा हुने चोरी सिकारी नियन्त्रणदेखि बृक्षरोपण अभियानको जिम्मेवारी सक्रियरुपले निर्वाह गरिन् । महिलाले अवसर पाए आफु मात्रै होइन अरु महिलाको सशक्तिकरणमा पनि योगदान दिन सक्छन् भन्ने उदाहरण सावित गरिदिईन् ।
झुमाले सामुदायिक वन भित्र छिरेपछि महिलाहरुको घरभित्र वा बाहिरको संघर्षबारे जानकार हुन थालिन् । ‘पहिलो कुरा त हाम्रो समाजमा महिला अगाडी आउन नै गाह्रो छ । घरबाहिर आइसकेपछि पनि थुप्रै चुनौती छ । हाम्रो नेतृत्वलाई सहजै स्विकारिदैन् ।’ तर, हार मान्नु हुदैन, कामगर्दै सिकिदै जाने हो । इमान्दारीता पूर्वक काम गरेपछि विस्तारै साथ पाइने रहेछ, नेतृत्वमा आउने महिलालाई उनी यसरी नै हौसला दिन्छिन् ।
उनी अन्य सामुदायिक वनको नेतृत्वमा पनि महिलालाई जिम्मेवारी दिनु पर्छ भन्ने अवाज उठाईन् र अन्ततः सफल पनि भईन् । अहिले महिलाले नेतृत्व गरेको वन र पुरुषले नेतृत्व गरेको वनमा ठूलो भिन्नता देखिन्छ ।
झुमाको त्यो मेहनत, लगन र वन संरक्षणमा गरेको सङ्घर्षले राजनीति चेतना स्तरमा पनि बृद्धि भएको हो । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कैलारी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने अवसर पाइन् । त्यो भन्दा अगाडि २०७४ सालको स्थानीय तहको निर्वानमा पनि उपाध्यक्ष पदमा एमाले बाटै उम्मेद्वारी दिएकी थिइन् ।
दुवै पटक पराजय भोग्नु परे पनि गाउँपालिका अध्यक्षजस्तो कार्यकारी पदमा उम्मेदवारी दिन पाउनुपनि ठूलो अवसर हो । यसबाट उनलाई राजनीति प्रतिको चासो र लगाव बढेको छ । ‘चुनावमा हार जित हुन्छ नै । यसले मलाई नेतृत्व गर्न सिकायो । अगामी दिनमा अझ राम्रो काम गरेर सबैको विश्वास जित्नेछु भन्ने विश्वस्त भएको छु । ’
सामुदायिक वन समितिले वन जोगाउन मात्रै मदत गरेको छैन, वन संरक्षण समितिमार्फत महिला नेतृत्वलाई प्रोत्साहन गर्दै उनीहरुको शसक्तिकरणमा टेवा पु¥याएको छ ।
वनमा कामगर्दा आफ्नो जिम्मेवारी सँगै जिवनशैली नै परिवर्तन भएको भएको झुमाको अनुभव छ । सामुदायिक वन संरक्षण कार्यमा खटिदै गर्दा महिला माथि हिंसा हुने, समिति नाम राखेपनि जिम्मेवारी नदिने प्रवृति अझै कायमै छ । त्यसैले जिम्मेवारी पाएकाहरु सचेत हुन आवश्यक छ ।
झुमाको अनुभवमा महिलाले राखेका कुरा समितिका पुरुषहरुले सुन्दैन थिए । ‘तिमिहरुलाई केहि आउदैन भनेर होच्याउँथे् ।,’ उनले भनिन्, ‘महिलाले आफ्नो पद अनुसार गर्नु पर्ने काम पुरुषहरु नै गर्थे । यो भनेको महिलामाथि हिंसा हुनु हो ।’
पदाधिकारी भैसकेपछि सुरुवाती दिनहरु वनका कामले ढिलो भएर राति घर पुग्दा घरपरिवारका सदस्यले पनि कुरा काट्थे । विभिन्न लालछना लगाउथे । महिलालाई घरभित्र र बाहिर संघर्ष नै गर्नुपर्छ । जब अन्यायबारे अवाज उठाउन थाले, यसपछि काम गर्न सक्छिन् भन्ने उनलाई विश्वास बढेको हो । उनी समाजमा अरू महिलालाई पनि अन्याय विरुद्ध बोल्न सिकाउँछिन् ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख राचन्द्र कँडेल सामुदायिक वनकोे नेतृत्व पुरुषले भन्दा महिलाले राम्रोसँग गर्न सकिरहेको बताउँछन् । महिला अध्यक्ष भएको वन समितिमा आर्थिक अनियमितताका घटना नहुने गरेको कँडेलको भनाई छ ।
‘महिलाहरुले सामुदायिक वनमा सुशासनको अभ्यास गरेका छन्,’ उनले भने, ‘पुरुष अध्यक्ष भएको भन्दा महिला अध्यक्ष भएका वन बढी संरक्षित छन्, महिलाहरुको दैनिकी वनसंग जोडिएकोे हुनाले पुरुष भन्दा बढी वनसंग लगाव महिलामा हुने गरेको छ ।’
सामुदायिक वनको माध्यमबाट नेतृत्व गर्ने ज्ञान, सीप सिकेर समाजलाई रुपान्तरणको मार्ग देखाउने महिलाको संघर्ष हो । यो सिकाई नयाँ पुस्ताका लागि प्रेरणादायी छ ।













