थारू लोक सांस्कृतिक पर्व माघ : प्रेमको कोसेली ‘निसराउ’

सानो छँदा कैलालीको धनगढी उपमहानगरपालिका–८, कन्ड्री गाउँकी ४८ वर्षीया कृष्णादेवी सुर्यवंशी थारू हरेक वर्ष पुसको अन्तिम साता आमासँगै माघ मनाउन मामा घर जान्थिन् । मामा घरमा पुसको अन्तिम रात गाउँको जान्ने, सुन्ने र धमार गीत गाउँन जान्ने व्यक्तिको घरमा भेला हुन्थे । धमार गाउने समूहको लागि छुट्टै खानाका परिकार पाक्थे । “रातभरि जाग्राम बसेर धमार गीत गाउँथे,” कृष्णा सम्झिन्छिन् ।

जब बिहान हुन्थ्यो, कृष्णा आफ्ना मामाहरूसँगै नदीमा नुहाउन जान्थिन् । त्यो वेला मामाहरूले भान्जीका लागि ढकियाबाट पाँच–पाँच उज्रा चामल टपरीमा छुट्याएर राख्थे । “नुहाएर छुट्याएर राखिएको चामल छोएर मामासँग आशीर्वाद लिन्थ्यौं । छोएको चामल निसराउको रुपमा लिएर आउँथ्यौं,” उनी सुनाउँछिन् ।

विवाह हुनुअघि हरेक वर्ष यसरी नै उनी माघ मनाउँथिन् । जब विवाह भयो, त्यसपछि माइतीले दाजुभाउजुले छोएको चामल रिसराउ दिने गर्थे । तर केही वर्षयता भने उनलाई निसराउ आउन छोडेको छ । “जतिवेला निसराउ पाउँथ्यौं, त्यो वेला बेग्लै खुशी हुन्थ्यो । आफन्तप्रतिको माया, प्रेम, अपनत्व छुट्टै महसूस हुन्थ्यो । आजभोलि त माघ माघ जस्तो लाग्दैन,” उनी निरास हुँदै भन्छिन् ।

अहिले माघ मनाउने तरिका फेरिएको उनी सुनाउँछिन् । नयाँ पुस्ता नदीमा स्नान गर्न जाँदैन । घरमै नुहाएर मन्दिर जान्छ । बिहान आशीर्वाद लिने र दिने चलन पनि घट्दै गएको उनको ठम्याइँ छ । “हाम्रो पालामा माघमा धेरै रमाईलो हुन्थ्यो । खानपिनमा बंगुरको मासु, ढिक्री अनिवार्य हुन्थ्यो, तर आजभोलि गाउँघरमा ढिक्री पनि पकाउन छाडिसकेछन्,” कृष्णा भन्छिन् ।

त्यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–१०, नुक्लिपुरका थारू होमस्टे सञ्चालक ३५ वर्षीय दिनेश दहित थारू भने हरेक माघ १ गते अर्थात् लहानको दिन बिहानै नदीमै नुहाउने गरेको सुनाउँछन् । गाउँ छेउमै नदी भएकाले पनि सजिलो भएको दिनेशको भनाइ छ । घरको डिहुरार (गृहदेवस्थल कोठा)मा नांग्लोबाट पाँच–पाँच उन्ज्रा चामल, उर्दको दाल, नुन, बेसार, तील आदि छुट्याएर टपरीमा छुट्टै राखिएको हुन्छ । त्यही अन्नलाई छोएपछि घरका मान्यजनबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरेको सुनाउँछन् ।
होस भएदेखि अहिलेसम्म माघ १ गते यसरी नै सांस्कृतिक क्रियाकलाप गर्दै आएको बताउँछन् । “म मात्रै होइन, मेरो बुवाले पनि सानैदेखि यस्तै गरेको सुनाउनु हुन्छ,” दिनेश भन्छन्, “जति वेलादेखि ममा चेत आयो, हाम्रा पुर्खाले हामीलाई यही गर्न लगाए । नुहाएपछि सुप्पामा राखिएको निसराउ छुने र अर्को दुना टपरीमा अलग्याउन लगाए । त्यसपछि आशीर्वाद लिन लगाए ।”

थारू समुदायमा माघ मनाउने प्रचलन उहिल्यैदेखि रहेको स्थानीय बासिन्दा बताउँछन् । कैलालीकै कैलारी गाउँपालिका–८, डुढिया (दुधिया) गाउँका ६० वर्षीय प्रेमबहादुर भु¥याह थारू पनि सानैदेखि माघ मनाएको सुनाउँछन् । बुवा र बाजेले पनि माघ मनाउने गरेको सुनाएको उनी बताउँछन् ।

सानो छँदा हरेक वर्ष माघ १ मा पल्लो गाउँको नदीमा नुहाउन जाने गरेको प्रेम सम्झिन्छन् । तर पाँच–सात वर्षयता आफ्नै घरको बोम्बा (चापाकल) मा नुहाइरहेका छन् । त्यस्तै, पहिले माघमा छुट्याएको चामल निसराउ दिन दिदीबहिनीको घरमा जान्थे, तर आजभोलि पहिलेको जस्तो न अन्न छुट्याउँन् न त दिदीबहिनीको घरमा जान्छन् ।

अर्को, आजभोलि धमार गीत पनि गाउन छोडेको उनी सुनाउँछन् । “अहिलेका पुस्तालाई धमार गाउँन खासै रुचि हुँदैन, जुन कारण गाउँमा डफ्फु बज्दैन, बरु रातभरि डिजे बज्छ,” प्रेम पुराना दिन सम्झिँदै भन्छन्, “पहिलेको भन्दा अहिलेको माघ फरक भइसकेको छ ।”

कैलारी गाउँपालिका–८, पृथ्वीपुरकी ४५ वर्षीया रुपा चौधरीलाई पनि माघ फेरिएको महसूस भएको छ । सानो छँदा आफ्ना भाइलाई नुहाइदिन नदीसम्म पुग्ने गरेकी थिइन् । घरमा धमार गीत गाउनेहरू रातभरि जाग्राम बस्थे र बिहानै सबै जना डल्लबमा बसेर नदीमा नुहाउन जान्थे । त्यहि टोलीसँगै उनी पनि नदीमा नुहाउन जाने गरेको स्मरण गर्छिन् । दाजुभाइले नुहाएपछि छोएको चामल उनका लागि छुट्याउथे । उनी त्यो चामल निसराउको रुपमा लिने गर्थिन् ।

माघ लहान उनका लागि रमाईलोको हुन्थ्यो । दाइभाइ, दिदीबहिनीबीचको मायाप्रेम झन बढ्थ्यो । “माघ आउनुअघि कहिले झगडा प¥यो भने माघमा सँगै नुहाउन नजाने घुर्की लगाउँथेँ,” रुपमा सम्झिन्छिन् ।

ठूलो भएपछि पनि माघ रमाईलो नै हुन्थ्यो । विवाहपछि माघको एक साताअघि डल्लब लिएर दाइभाइ रुपालाई लिन आउथे । माघको छेको पारेर माइतीघरमा १०–१२ दिन बस्थिन् । “आजभोलि ती सबै क्रियाकलाप सम्झनामा मात्रै सीमित छन्,” उनी भन्छिन्, “माघ १ गते आमाबुवाको आशीर्वाद लिन त जान्छु, तर साँझ फर्किहाल्छु । आजकल निसराउ पनि आउन छोडेको छ ।”

माघ १ मा अन्नपात छुट्याएर दिदीबहिनीका लागि टपरीमा राखिन्छ । यसरी राखिएको अन्नलाई थारू समुदायमा ‘निसराउ कहर्ना’ भनिन्छ । त्यही अन्न दिदीबहिनीलाई कोसेलीका रुपमा दिने गरिन्छ । यस प्रचलनले दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम बलियो हुने मानिन्छ ।

थारू लोकसंस्कृतिमा उहिल्यैदेखि चल्दै आएको यो परम्पराले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धनलाई बलियो बनाउने काम पनि गरेको छ। बिहे नहुँदा मात्रै होइन, बिहे भएपछि पनि दिदीबहिनीको हालखबर बुझ्ने माध्यमका रुपमा यो पर्व रहेको छ । निसराउमा थप अन्नपात राखेर दिदीबहिनीको घरसम्म पु¥याउने गरिन्छ । निसराउको रुपमा चेलीबेटीलाई नगद, लुगाकपडा पनि दिने गरिएको पाइन्छ । यसले दिदीबहिनीको सुख दुःख बुझ्न सघाउने गरेको स्थानीय बासिन्दा सुनाउँछन् । “एक हिसाबले निसराउ माया, प्रेम, स्नेहको कोसेली पनि हो,” प्रेम भन्छन् ।

यसलाई थारू लोक संस्कृतिका रुपमा पनि लिने गरिएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाज काठमाडौंद्वारा प्रकाशित ‘थारू लोकवार्ता तथा लोकजीवन पुस्तक’ (२०६५ः१८६) मा माघ महिनाको पहिलो दिन निसराउ कहर्ना प्रचलनलाई लोक संस्कृति र संस्कारको रुपमा अथ्र्याइएको छ ।

साथै माघलाई आर्थिक वर्षको पहिलो दिन मान्दै आएको थारू समुदायमा चेलीबेटी तथा दिदीबहिनीलाई दिने दानको रुपमा निसराउलाई उल्लेख गरिएको छ । यस दानकर्मलाई दाजुभाइ तथा माइतीको गृहस्थ जीवनको पहिलो धर्मको रूपमा समेत लिइएको छ ।

माघ पर्वको अवसरमा चेलीबेटीका विरह, व्यथा, माया, प्रेम आदि थुप्रै प्रसंगका थरीथरी गीत गाइन्छन् । जसमध्येमा एउटा उदाहरण यस्तो छ :
माघ लहैलि
सुरिक सिकार खैलि रे हाँ,
सखि ए हो
माघक पिलि गुरिगुरि जाँर,
सखि ए हो ।

यो मघौटा गीत हो । माघ पर्वमा मघौटा गीत, ढमार गीत र माङ्गर गीतलाई विशेष गीतका रूपमा लिइन्छ । थारु समुदायको लागि माघ महीना केवल महिना मात्रै होइन, पर्व पनि हो । तर पछिल्लो समय थारू समुदायले मनाउने पर्व ‘माघ’ लाई गैरथारूका साथै थारूले पनि ‘माघी’ भन्न थालेका छन् ।

पश्चिम तराईमा थारू समुदायका लागि माघ एकदमै विशेष पर्व हो । माघ पर्वलाई मध्य तराईमा खिचडा, पूर्वी तराईमा तिला सङ्क्रान्ति पनि भनिन्छ । यही पर्वलाई गैरथारू समुदायले माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति भन्छन् ।

हिजोआज माघ मनाउने शैली पनि फेरिएपछि छ । गाउँघरमा नाचगान गरेर मनाइने माघ अहिले शहर केन्द्रित भएको छ । त्यो पनि मेला, महोत्सव, माघ मिलन सांस्कृतिक कार्यक्रम गरेर थारू पहिचानका लागि सरकारलाई दबाब दिने माध्यम बनेको छ ।

कसरी मनाइन्छ माघ पर्व ?

केही वर्षअघिसम्म थारु घर र बस्तीमा माघ पर्व धुमधामसँग मनाइन्थ्यो । पुसको अन्तिम दिन गाउँभरिका मान्छेलाई पुग्ने जिटा (सुगुर) मार्ने, रातभरि थारु पुरूषहरू जम्मा भएर डफ्फु बजाउदै ढमार (गीत) गाउँथे । भोलिपल्ट माघ १ गते सबेरै नजिकको नदीमा गएर नुहाउने, नुहाउँदा डुबुल्की लगाउनै पर्ने मान्यता थियो । त्यसपछि घर आएर ढक्या वा सुप्पामा राखिएको चामल, नून, तेल दाल छुने र घरका सबैभन्दा पाको व्यक्ति मात्रै नभई आपूmभन्दा ठूला सबैलाई ढोग गर्दै आशीर्वाद लिने गरिन्थ्यो ।

गोत्यार र छिमेकी सबैको घर‒घरमा गएर ठूलालाई ढोग्ने र ढिक्रीलगायतका परिकार खान दिइन्थ्यो । साथै गाउँमा मघौटा नाचले चैनार हुन्थ्यो ।

अर्को दिन माघ २ गते खिच्रह्वा मनाइन्छ । यस दिन बजारमा किनमेल गर्न जाने प्रचलन छ । नजिकमा लाग्ने माघ मेला वा नजिकको बजार जाने गरिएको कैलारी गाउँपालिका–१, सुलियाकी ८० वर्षीया सेठिया डगौरा थारु बताउँछिन् । “बजार खेले जैना कलक् माघ पठैना हो (बजार खेल्न जानु भनेको माघलाई पठाउनु, बिदाई गर्नु हो),” सेठिया भन्छिन् ।

यसरी थारु समुदायले मुख्य गरी तीन दिन माघ पर्व मनाउने गर्छन् । तैपनि पूरै माघ महिना नै थारु समुदायका लागि विशेष रहन्छ । थारु गाउँमा भलमन्सा, बरघर, चिरक्या, गु¥वा आदि चुन्ने काम माघ महीनामै गरिन्छ । गाउँको वर्षभरीको योजना बनाउने काम हुन्छ, जसलाई माघिडेवानि कर्ना भनिन्छ । त्यसैले थारु समुदायले माघ महिनाभरि माघ मनाउँछन् ।

के हो माघ पर्व ?

पश्चिम तराईका थारू समुदायले मनाउने एक विशेष पर्व हो, माघ । थारू समुदायमा परापूर्वकालदेखि नै माघ मनाउँदै आएको इतिहास छ । थारू समुदायका लागि पूरै माघ महिनाको विशेष महत्व छ । यसलाई खानपिन, सरसफाइ, आशीर्वाद आदानप्रदान, वर्ष दिनको समीक्षा, वार्षिक ऐन–नियम र नीति निर्माणसँगै नयाँ कामको शुरूआत गर्ने र योजना बनाउने महिनाका रूपमा लिइन्छ । थारू समुदायले माघलाई नयाँ वर्षको शुरूआतको रूपमा लिन्छन् । माघमा थारू संवत्को नयाँ वर्ष शुरू हुन्छ ।

यो पर्व पुस अन्तिम दिनबाट शुरू भई माघको दोस्रो दिनसम्म मनाइन्छ । माघ महिनामा मनाइने भएकाले माघ नै नाम दिएको हो । कमैया मुक्तिभन्दा पहिलेको मान्यताअनुरूप यस दिनमा कमैया, कमलरी, छेग्रह्वा, गय¥वा, बुक्रहिहरूले नयाँ वर्षका लागि कहाँ काम गर्ने वा नगर्ने निर्णय लिन पाउने भएकोले यस पर्वलाई कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने मुक्ति दिवसका रूपमा पनि लिने गरिन्छ ।

यस अवसरमा गाउँका नयाँ योजना छनोट हुने, नीति–नियम निर्माण गर्ने पनि गरिन्छ । गाउँका अघ¥या, चौकिड¥वा (चौकिदार), भलमन्सा, बरघ¥या चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, गरढु¥या (घरको मूली) को बन्ने भन्ने लगायत विषयमा पनि छलफल हुन्छ।

पुसको अन्तिम दिन मिठोमसिनो खानेकुरा, माछा–मासुको परिकार खाने र मघौटा नाच नाचिन्छ । यसलाई चिसो पुस महिनाको बिदाइका रूपमा पनि लिइन्छ । रातभरि सबै एक ठाउँमा भेला भएर धमार गीत गाउने प्रचलन छ ।

टेक : हरु हरु रे बाबा हरु रे, नगेसर देउटनसे हरी जैबु हो ।
उलार : केकर कारन गंगा लहैनु, केकर कारन जल चह्रैनु ।
केकर कारन डानपुन करनु, नगेसर देउटनसे हरी जैबु हो ।।
हरे बाबा अन्से हरे बछियान से, नगेसर देउटनसे हरी जैबु हो ।।
टेक : हरु हरु रे बाबा हरु रे, नगेसर देउटनसे हरी जैबु हो ।
उलार : पटुवाके कारन गंगा लहैनु, बिटियाक कारन मै जल चह्रैनु ।
भइनके कारन दानपुन करनु, नगेसर देउटनसे हरि जैबु हो ।।
हरे बाबा हनसे हरे बछियनसे, नगेसर देउटन से हरि जैबु हो ।।।

(मोह्र्या श्री रघुराम थारु, राजापुर २ जोतपुर ।)

विशेष गरी भलमन्साको घरमा जाग्राम बस्छन् । त्यहींँबाट सामूहिक रूपमा नजिकैको नदी, तलाउ, खोलामा गएर नुहाइधुवाइ गरी माघलाई स्वागत गरिन्छ । यसरी स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ ।

नदीमा नुहाउनुअघि जलदेवतालाई पैसा चढाउने प्रचलन छ । जलमा स्नान गरे वापतमा जलदेवीलाई द्रव्य दान नगरी नुहाउनु हुँदैन भन्ने मान्यता हो । त्यसपछि ठूलाबडा तथा मान्यजनको आशीर्वाद लिने र इष्टमित्र तथा आफन्तलाई भेटघाट गर्ने चलन छ ।

यो पर्वमा सुगुरको मासु र ढिक्री अनिवार्य हुन्छ । त्यस्तै, सेवाढोग गरी माघबाटै नयाँ सम्बन्धको विस्तार पनि गरिन्छ । पहिले माघदेखि फागुनसम्म विवाह हुने चलन थियो । अहिले त्यो प्रचलन केही कम भएको छ । अन्य महीनामा पनि विवाह हुन थालेको छ ।

पश्चिम तराईका थारु समुदायले माघ पर्व मनाउँदै गर्दा पूर्वका थारु र अन्य समुदायले तिला र माघे वा मकर संक्रान्ति मनाउने गर्छन् । माघलाई नै सजिलोका लागि नेपालीमा माघी भन्ने गरेको पाइन्छ ।

पछिल्लो समय त यो देशव्यापी पर्व बनेको छ । २०५९ सालमा काठमाडांैको नेपाल पर्यटन बोर्डमा थारु कल्याणकारीणी सभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा संस्थागत रुपमा माघी कार्यक्रम गरिएको थियो । दोस्रो वर्ष बानेश्वरको सहकारी भवन, तेस्रो वर्ष राष्ट्रिय सभा गृह, चौथो वर्ष प्रज्ञा भवन र २०७२ सालमा दशरथ रंगशाला यो पर्व मनाइएको थियो । त्यसपछि हरेक वर्ष टुडिखेलमा माघी महोत्सव आयोजना गरिँदै आइएको छ ।

संस्थागत रुपमा आयोजना गरिने माघको कार्यक्रममा प्रधानमन्त्री, सभामुख लगायतका उच्च ओहदाका व्यक्तित्वले सम्बोधन गर्ने भएपछि सञ्चारमाध्यममा पनि आउन थालेको हो । माघ पर्वलाई सञ्चारमाध्यमले माघी पर्व भनेर लेखेको पाइन्छ । काठमाडौंमा मात्र नभएर देशभर नै यसरी प्रचार भएपछि माघी नै नाम बनेको छ ।

थारु समुदायका केही अगुवा, विश्लेषकले आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धन गर्न अहिले माघ र माघीबारे बहस चलाउदै आईरहेका छन् । हुन त थारु समुदायले प्रयोग गर्ने मौलिक शब्द नेपालीकरण गरेको यो पहिलो शब्द होइन । थारुको मौलिक शब्द विस्तारै लोप हुदै गइरहेका छन् । आफ्नो कला संस्कृतिलाई जोगाउने सिंंगो समुदाय सचेत भएर लाग्नुपर्ने विश्लेकषकहरु बताउँछन् ।