टीकापुर घटनाका जेलबन्दी परिवार : थारुलाई जितायौं, फर्केर हेरेनन्

टीकापुर घटनामा जेल परेकाहरूको रिहाइ र ‘थारू उत्थान’ का लागि भनेर खुलेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई जिताउन रातदिन खटेका पीडित परिवार आफूहरूलाई जनप्रतिनिधिले नै चिन्न छाडेकामा दुखित छन्।

टीकापुरमा २०७२ भदौ ७ गते भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीको छर्राले जानकी गाउँपालिका-४, कञ्चनपुर गाउँका सुन्दरलाल कठरिया घाइते भए। उनी अस्पतालबाटै पक्राउ परे। उनी विरुद्ध घटनामा मारिएका आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्याको अभियोगमा मुद्दा चलाईयो।

कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ मा कठरियालाई जन्मकैदको सजाय सुनायो। यता सुन्दरलाल जेल परे, उता घरमा श्रीमती सीता कठरियाको दुर्दिन शुरू भए। उनी एक्लो परिन्। हुर्किरहेका तीन बच्चाको लालनपोषण सीताको काँधमाथि आइपर्‍यो। त्यसमाथि कृषिकर्म चलाउनुपर्ने अभिभारा छुट्टै थियो।

बुबा जेलमा पर्दा छोरी उर्मिला भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी थिइन्। श्रीमान्‌ जेल परेको पीरमाथि अर्काे पीर थपियो। छोरीलाई ‘जन्डिस र टाइफाइड’ ले सतायो। सीता भन्छिन्, “छोरी बिरामी हुँदा शुरूमा सीमापारि पलियाको अस्पताल लगें। त्यहाँको डाक्टरले बिरामीलाई भर्ना लिन मानेन। फर्केर नेपालगन्ज आयौं। त्यहाँ पनि भर्ना लिएन। त्यहाँबाट बिहान ३ बजे भारततिर लाग्यौं।”

सीताका लागि भारत नयाँ ठाउँ थियो। अस्पतालबारे केही जानकारी थिएन। एम्बुलेन्स चालकको भरमा उनी भारत हुइँकिएकी थिइन्। “ड्राइभरले चिन्ता नलिनुस्, अस्पताल म खोजी हाल्छु भन्यो। हामी उनकै भरमा लखनऊ पुग्यौं। त्यहाँको एक अस्पतालमा भर्ना गरायौं। तर अस्पताल धेरै महँगो थियो,” सीता भन्छिन्, “मलाई पैसाभन्दा छोरीको ज्यान जोगाउनु थियो। पैसा नभए पनि महँगो अस्पतालमा छोरीलाई भर्ना गराएँ। भाइलाई कुरुवा बस्न लगाई म पैसा खोज्न नेपाल फर्कें।”

उनले छोरीलाई पाँच दिन लखनऊको अस्पतालमा उपचार गराइन्। पाँच दिनमा साढे चार लाख रुपैयाँ खर्च भयो। तर छोरी बचिनन्। उपचारकै क्रममा २०७३ भदौ ९ मा उर्मिलाको मृत्यु भयो।

घरको मूली नभएपछि उनका दुवै छोराको पढाइ समेत बिग्रन थाल्यो। जेठा छोरा सागर पढाइ छाडी कमाउन भनी भारततर्फ लागे। कान्छाले कक्षाा ७ पढेर विद्यालय जान छाडे। काम गर्न गएका सागर पनि त्यहाँ लामो समय टिक्न सकेनन्। केही दिन ज्यालामजदूरी गरी घर फर्केका सागर साथीभाइको संगतमा डुल्दै हिंड्न थाले।

रक्सी खाएर मोटरसाइकल चलाइरहेका उनी नजीकैको गाउँ हिम्मतपुरमा २०७४ असार १ गते दुर्घटनामा परे। उनलाई स्थानीय प्रहरीले टीकापुर अस्पताल पुर्‍यायो। छोरी बितेको एक बर्ष नबित्दै १९ वर्षको जवान छोरा दुर्घटनामा परेपछि सीता नराम्ररी आहत भइन्।

टीकापुर अस्पतालले उपचार नहुने भनेपछि घाइते छोरालाई बोकेर एक वर्षअघि झैं पुनः सीताको दौडधूप शुरू भयो। उनी कोहलपुर अस्पताल पुगिन्। त्यहाँको उपचार ठीक नलागेपछि एक जना साथीको सल्लाहमा छोरालाई एम्बुलेन्समा हाली साथीसँग भारतको लखिमपुर अस्पताल पुगिन्। यो अस्पताल पनि असाध्यै महँगो थियो।

सीताले छोरालाई लखिमपुरमा डेढ महीना राखिन्। पैसा कति खर्च भयो, अनपढ सीताले भेउ नै पाइनन्। उनी भन्छिन्, “कति भयो थाहा छैन, तर धेरै लाख खर्च भयो। सबै भारुमा तिर्नुपर्थ्यो।”

टाउकोको शल्यक्रिया गरेपछि छोराको एकापट्टिको अंगले काम गर्नै छाड्यो। फेरि नेपाल फर्किन्। बाँकेस्थित नेपालगन्ज नजीकै कौशिल्या अस्पतालमा छोरालाई भर्ना गराइन्। सागरको उपचार एक वर्षसम्म चल्यो। उनी भन्छिन्, “त्यहाँ थारू डाक्टर थियो। मलाई कुरा गर्न सजिलो भयो। त्यो अस्पतालमा प्यारालाइसिस भएका बिरामीको उपचार हुँदो रहेछ, त्यही भएर त्यहाँ भर्ना गर्‍यौं।”

sita kadariya_1 (4).jpg
टीकापुर घटनापछि पक्राउ परेका श्रीमान् र सडक दुर्घटनामा घाइते भएका छोराहरूसँगै सीता कठरिया। दुवै छोरा शारीरिक रुपमा अपङ्गतासँग जुधिरहेका छन्।

नेपालमा फेरि अर्को शल्यक्रिया भयो। छोराको पेटको शल्यक्रिया गरिएको थियो। बिरामीले सास लिन नसकेपछि घाँटीको अपरेशन गरी पाइप मार्फत खानेकुरा नाकबाट खुवाउनुपर्थ्यो। उनी सुनाउँछिन्, “यतिको मिहिनेत र साहस नगरेको भए शायद छोरालाई पनि गुमाउँथें होला!”

उपचारमै ३० लाख स्वाहा

सीतालाई छोरा र छोरीको उपचारमा लगभग ३० लाख रुपैयाँ ऋण लाग्यो। श्रीमान्‌ जेल हुँदा सीताले यी सबै समस्याको सामना एक्लै गरिन्। उनले जग्गा दृष्टिबन्धकमा राखी ऋण लिएकी थिइन्। चार लाख रुपैयाँ ऋण लिंदा प्रतिलाखको ब्याज मात्र वार्षिक १२ क्विन्टल धान र ६ क्विन्टल गहुँ तिर्नुपर्थ्यो। चार लाखको वार्षिक ४८ क्विन्टल धान र २४ क्विन्टल गहुँ ब्याज तिर्दै आइन।

सीताको टाउकोमा विपत्ति यसरी बज्रियो कि यत्रो महँगो ब्याज तिर्नुपर्ने ऋण चुक्ता गर्न नपाउँदै ब्यांकबाट थप ११ लाख रुपैयाँ निकाल्नुपर्‍यो। त्यो पैसाले पनि उपचार खर्च पुगेन। त्यसपछि उनले आफ्ना कान्छा भाइसँग तीन लाख रुपैयाँ र अन्य चार भाइबाट एक-एक लाख गरी सात लाख रुपैयाँ विना ब्याजमा ऋण लिइन्। त्यतिले पनि गर्जाे टरेन। उनले सात कट्ठा जमीन बेचिन्। छोरा-छोरीको उपचारका लागि ३० लाख रुपैयाँ एक्लै जोहो गरिन्।

उनलाई खेती गर्न सहयोग दिने एक जना गाउँले सहयोगीले ट्र्याक्टर र थ्रेसरको काम सम्हालिदिए। ती ड्राइभरले मासिक १० हजार रुपैयाँमै काम गरिदिएपछि थ्रेसरबाट आउने आम्दानीले उनले ऋणको ब्याज तिर्ने गरेको सुनाइन्।

सीताको दु:खका दिन यतिमै सकिंदैनन्। जेठा छोरा सागर राम्रोसँग सन्चो हुन नपाउँदै २०७४ सालमै कान्छा छोरा समीर पनि गाउँमै मोटरसाइकल दुर्घटनामा परे। उनलाई छातीमा चोट लाग्यो। समीरको उपचारमा पनि लगभग डेढ लाख रुपैयाँ खर्च भयो। यस्तो विपत्तिका वेला श्रीमान्‌ साथमा थिएनन्। उनी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका थिए। सीता भन्छिन्, “श्रीमान्‌ जेलमा हुँदा यी सबै घटनाको सामना एक्लै गर्नुपर्‍यो। यस्तो वेला मेरा दाजुभाइहरू भगवान् सरह भए। मलाई चाहिने भौतिक र आर्थिक सहयोग गरे। मलाई एक्लो महसूस हुन दिएनन्।”

सुन्दरलाल ‘नखाएको विष’ बापत ६४ महीना जेल जीवन बिताउन बाध्य भए। पछि उनी निर्दाेष सावित भई जेलमुक्त हुँदासम्म घर लथालिंग भइसकेको थियो। राम्ररी पढिरहेकी छोरीले छाडेर गइसकेकी थिइन्। जेठा छोरा दुर्घटनामा अपांग भएका थिए। कान्छा छोरा पनि दुर्घटनाबाट गुज्रिएका थिए। दुवैले पढाइ बीचमै छाडिसकेका थिए। अहिले लोग्नेस्वास्नी मिली त्यति वेला लिएको ऋण तिर्न अहोरात्र खटिरहेको दम्पती सुनाउँछन्।

sita kadariya_1 (3).jpg
अब भने दैनिकी सहज हुने आशा जागेको सीता कठरिया सुनाउँछिन्।

चरित्रहीनको लाञ्छना

श्रीमान् पक्राउ परेका परिवार सबैको कथाव्यथा उस्तै छ। टीकापुर नगरपालिका-६, बेलुवाका विसराम चौधरी सुदूरपश्चिमकै उत्कृष्ट कृषकका रूपमा परिचित थिए। २०६६ सालमा ‘सुदूरपश्चिमबाट उत्कृष्ट कृषक’का रूपमा पुरस्कृत समेत भइसकेका उनै विसरामलाई २०७२ चैत २३ गते टीकापुर घटनामा संलग्न भएको आरोपमा घरबाटै पक्राउ गरियो। उनलाई पनि सुन्दरलाल झैं हत्या, आगजनी, लूटपाट लगायत आरोपमा पक्राउ गरिएको थियो।

विसराम पक्राउ के पर्नु थियो, उनको कृषि फार्म लथालिंग भयो। ब्यांकको ऋणमा १० बिघामा लगाइएको केरा खेती र नर्सरी सुक्दै गए। बाँकी बचेका पनि गाउँलेहरूले दिनदहाडै उठाउँदै लगिदिए। विसराम नभएपछि टीकापुर बजारको बीउबिजनको पसल पनि चल्न छाड्यो।

त्यति मात्र होइन, विसरामकी श्रीमती उर्मिला सामाजिक बहिष्करणमा नै परिन्। गाउँका पुरुषसँग बोल्दा समाजले उनको चरित्रमा औंला तेर्स्याउन थाल्यो। उर्मिला १० वर्षअघिको घटना सम्झिंदै भन्छिन्, “मसँग कोही बोल्दैनथ्‍यो। कोही बोलिहाल्यो भने पनि समाजले नराम्रो दृष्टिले हेर्थ्यो।”

यसरी सामाजिक रूपमा एक्लिएकी उर्मिला र साढे दुई वर्षकी छोरी श्रेयाले निकै दु:ख झेल्नुपर्‍यो। “श्रीमान्‌ जेल हुँदा धेरै दु:ख खेपें। मसँग आफन्त पनि बोल्दैनथे। बोल्यो भने प्रहरीले समात्छ भन्थे। समुदायमा कसैले सहयोग गरेनन्, उल्टै हामीसँग जे जे थियो, सबै लुटेर लगे।”

घरवरिपरि राखिएका सामग्री गायब भए। केरा सखाप भयो। काम गर्ने कामदार सबैले छाडे। घरमा केही रहेन। उर्मिलाको भनाइमा घर घर जस्तो नै रहेन।

bisram_urmila chaudhary (2).jpg
उर्मिला र विसराम चौधरी।

उनी छोरीलाई साइकल पछाडि राखेर स्कूल छाड्थिन्। त्यसपछि बीउबिजनको पसल खोल्थिन्। “पसलमा पनि मान्छे आउन छोडे। घरबेटीले भाडा तिर्न सक्दैनौ भनेर सामान सार्न लगायो। दुई शटरको सामान एउटै शटरमा राख्दा लथालिंग देखिन्थ्यो। तीन वर्ष अभावैअभावमा जीवन गुजारें,” उनी भन्छिन्।

विसराम जेल नजाँदा तीन जनाको परिवार निकै सुखसयलमा थियो, तर त्यो घटनाले उनीहरूलाई एकाएक सडकमा ल्याइपुर्‍यायो। छोरीको स्कूलको शुल्क किस्ता किस्तामा तिर्ने अवस्थामा पुगिन्। त्यसैले तीन वर्षसम्म नयाँ लुगा र मीठोमसिनो खानेकुरा नै देख्न पाइनन्। उनी भन्छिन्, “पहिला जे मन लाग्थ्यो त्यही खान्थें, जे किन्न मन लाग्यो त्यही किन्थें। ती सबै सपना जस्तै भए।”

उनलाई श्रीमान्‌ नहुँदाको पीडा त छँदै थियो, त्यसमाथि ब्यांकको ऋणले रातदिन मानसिक तनाव दिन्थ्यो। किस्ता तिर्नुपर्‍यो भन्दै रातदिन फोन आउँथ्यो। उनी भन्छिन्, “कमाउने मान्छे नै घरमा नभएपछि त्यति धेरै ऋण कसरी तिर्नु भन्थें। तर दु:ख दिन छाड्दैनथे।”

तीन वर्षपछि अदालतले विसरामलाई निर्दाेष भनेर हिरासतमुक्त त गरिदियो, तर त्यतिन्जेल उर्मिलाले धेरै सास्ती भोगिसकेकी थिइन्। अहिले घरमा एउटा छोरी थपिएकी छन् भने बिस्तारै उर्मिलाका सुखका दिन पनि फर्कंदै छन्।

urmila chaudhary_1.jpg
टीकापुर घटाना पीडित उर्मिला चौधरी।

विसरामको कृषिकर्ममा भएको विज्ञताले पुनः उनको दिन पुरानै लयमा चलिरहेको छ। ४० लाख ऋण घटेर कम भएको छ भने दृष्टिबन्धक राखिएको जग्गा फुकुवा गर्न लोग्नेस्वास्नी जोडतोडले काम गरिरहेका छन्। केराबारी नर्सरी फेरि हराभरा हुँदै गएको छ। विसरामले घरमै बीउबिजनको पसल चलाइरहेका छन्।

श्रीमान् जेलमा, श्रीमती खेतमा

टीकापुर नगरपालिका-५, नुक्लीपुरका रामनरेश चौधरी बर्दियाको राजापुरस्थित कालिका माविमा पढाउँथे। उनी नवप्रतिभा बोर्डिङ स्कूलमा पनि ‘पार्टटाइम’ शिक्षकका रूपमा काम गर्थे। २०७२ भदौ १४ गते उनी नवप्रतिभा बोर्डिङ स्कूलमा पढाइरहेका थिए। उनलाई त्यहींबाट पक्राउ गरी धनगढी पुर्‍याइएको थियो। परिवारका सबै सदस्य (श्रीमती, छोरा, बुबा र बाजे) रामनरेशमै निर्भर थिए। श्रीमान्‌ पक्राउ परेपछि यो जिम्मेवारी रामनरेशकी श्रीमती सुन्दरीकुमारी चौधरीले वहन गर्नुपर्‍यो।

सुन्दरीलाई घरपरिवार चलाउन गाह्रो भयो। उनले कक्षा ४ मा पढिरहेका छोरालाई होस्टेलमा भर्ना गरिदिइन्। त्यसपछि घरखर्च चलाउन तरकारी खेती शुरू गरिन्। घरमा ससुरा र बाजेससुरालाई पनि हेर्नु थियो। घरमा कमाउने कोही नभएपछि उनले बेमौसमी तरकारी खेती शुरू गरिन्। वर्षमा दुई लट बेमौसमी तरकारी फलाउँथिन्। प्रतिलट एक-डेढ लाख रुपैयाँको कारोबार गर्थिन्।

उत्पादित तरकारी चाहिं उनकी आमाले हाटबजारमा लगेर बेचिदिन्थिन्। सुन्दरी भन्छिन्, “मलाई आमाले नै खेती गर्न सुझाव दिनुभएको थियो। रातदिन नभनी म उत्पादन गर्थें, बेच्ने काम आमाले गरिदिनुहुन्थ्यो।”

sundari chaudhary (1).jpg
टीकापुर घटना पीडित सुन्दरी चौधरी।

२२ कट्ठा जमीनमा धान, गहुँ, तोरी लगाएको बताउने सुन्दरीले ५० क्विन्टल जति धान बेच्थिन्। खेती गरेरै घरलाई जोगाएको उनी बताउँछिन्।

रामनरेश तीन वर्ष ६ महीना जेलजीवन बिताएपछि निर्दोष सावित भई रिहा भए। आफ्ना श्रीमान्‌ले नगरेको गल्तीका कारण आफ्नो परिवारले ठूलो सास्ती भोग्नुपरेको तीतो अनुभव सुनाउँदा सुन्दरीको आँखामा दु:ख झल्किरहेको थियो। रिहा भएपछि रामनरेश लोकसेवा पास गरी स्थायी शिक्षकमा नाम निकाली मुगुमा पढाइरहेका छन् भने यसबीचमा दम्पतीको मिहिनेतले झुपडीबाट एकतले पक्की घर पनि खडा गर्न सकेका छन्।

उनी दु:खका ती दिन सम्झन पनि चाहँदिनन्। “शायद यतिको मिहिनेत नगरेको भए छोरालाई राम्रो स्कूलमा पढाउन सक्दैनथें। मेरो मिहिनेतले छोरो हुर्कियो र पढाइ पनि राम्रै भयो। अहिले सब ठीक चलिरहेको छ।”

‘हामीलाई चिन्न छाडे’

निर्दाेषहरू हत्याको आरोपमा कारागारमा परेपछि सुन्दरलाल, विसराम, रामनरेशका श्रीमतीहरूले लाखौं दु:खका बावजूद टीकापुर घटनामा जेलसजाय भोगिरहेकाहरूको रिहाइका निम्ति सडकमा उत्रिएर नाराबाजी गरे। थारू समुदायले राजबन्दी भनी सम्मानित गरेकाहरूको नाममा जन्मिएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई जिताउन रातदिन एक गरेर लागे। सीता भन्छिन्, “हामीलाई रेशमको पार्टीले जिते थुनामा परेकाहरू सबै छुट्छन्। छोराहरूलाई रोजगारी दिन्छन्। परिवारका सदस्यलाई केही न केही गर्छन् भनेका थिए। त्यसपछि हामी ढकियालाई जिताउन खूब लाग्यौं।”

lalbir_chaudhary-1.jpg
२०७९ सालमा नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरीका कुवा कुलवीर चौधरीको चुनाव प्रसारमा सर्वसाधारण।

आफ्नो कामकाज छाडेर उन्मुक्तिको प्रचारमा होमिएको सीता बताउँछिन्। “शुरूशुरूमा प्रचार गर्न जाँदा खूब लाज लाग्थ्यो। म अनपढ, बोल्न लेख्न नआउने। त्यसैले मलाई भित्तामा पर्चा-पम्पलेट टाँस्ने जिम्मेवारी दिए। घर घर गएर ‘पर्चा टाँसक देबो कि नाइँ’ भन्दै भित्तामा टाँस्थें। भोकभोकै दिनभरि प्रचारमा हिंड्थ्यौं,” उनी भन्छिन्। थारूले जितेपछि आफूहरूलाई हेर्छन् भनेर चुनावी अभियानमा खटिएको सीता सुनाउँछिन्।

सीता जस्तै चुनावी प्रचारमा रातदिन खट्ने अर्की सीता कठरियाको पीडा पनि उस्तै छ। उनी नातामा नन्द पर्छिन्। सीताका श्रीमान्‌ राजकुमार कठरियालाई पनि टीकापुर घटनामा पक्राउ गरिएको थियो। दुवै सीताका श्रीमान्‌लाई एकैसाथ पक्राउ गरिएको थियो। श्रीमान्‌ पक्राउ पर्नु, सीताको महीनावारी रोकिनु एकसाथ भयो।

समाजले मात्र होइन, संयुक्त परिवारमा बसिरहेकी सीतालाई आफ्नै परिवारले पनि लाञ्छना लगायो। चरित्रमा औंला ठड्यायो। परिवारमै अवहेलित हुनुपर्‍यो। उनी त्यस बखतको दु:ख सुनाउँछिन्, “घरमा मलाई मर्ने गरी काम गराउँथे। राम्ररी खान दिंदैनथे। सुत्केरी हुँदा बिरामी परें। उपचारका लागि पैसा जोहो गर्न आफैं संघर्ष गरें। त्यो वेलाको ऋण अहिलेसम्म तिर्न बाँकी छ।”

sita kadariya_2 (3).jpg
गर्भवती हुँदा खेपेको पीडा सुनाउँदा भावुक बनेकी सीता कठरिया।

त्यस्तो वेला कष्ट काटेकी उनले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटिइन्। चुनावमा प्रायः सबै राजबन्दी परिवारहरू खटिएको सीता सुनाउँछिन्। अलि अलि पढेलेखेको र बोल्न सक्ने भएकाले उनलाई मतदाता शिक्षा अभियानमा खटाइएको थियो। उनी भन्छिन्, “घाँटी सुकाईसुकाई भोट हाल्न सिकाए। ढकियालाई जिताएपछि हामीलाई सुविधा हुन्छ भन्दै दिनभरि खटिन्थ्यौं।”

यसरी खटिनेमा महिलाहरू अग्रभागमा हुन्थे। उनीहरूको खटाइले परिणाम देखायो। नाउपाले टीकापुरसँगै वरिपरिका स्थानीय तहमा जित हासिल गर्‍यो। तर अहिले उनीहरूलाई त्यति वेलाको दु:ख बेकारमा गरिएको जस्तो महसूस हुने गरेको छ। ती सबैको एउटै गुनासो छ- त्यसरी जिताएर पठाएका जनप्रतिनिधिले चिन्नै छाडे। नजीक जाँदा पनि चिन्दैनन्। आफूहरू राजबन्दी परिवारका सदस्य हौं भन्दा बल्ल ‘ए चिने’ भन्छन्, त्यसपछि चूप लाग्छन्। “हामीले जिताएको गाउँपालिका अध्यक्षलाई मेरा श्रीमान्‌ले आफू पाँच वर्ष जेल बसेर आएको भनेर चिनाउनुपर्‍यो,” सीता भन्छिन्, “त्यत्रो जेल बसेकालाई त नचिन्नेले हामीलाई कहाँबाट चिनून्!”

उनका अनुसार जेलबन्दी परिवारका सदस्यहरू टोली बनाएर पालिकामा आफूहरू लक्षित कार्यक्रमको माग लिएर पनि गए, तर जनप्रतिनिधिले उनीहरूको मागलाई सम्बोधन नै गरेन। अहिलेसम्म कसैलाई कुनै ठाउँमा व्यवस्था नगरेको सीता बताउँछिन्।

tikapur bazar (1).jpg
२०७२ भदौ ७ गते टीकापुरमा झडप भएको चौक।

उनीहरूका माग ठूला पनि छैनन्। तिनलाई गाउँपालिकामा कतै कार्यालय सहायक जस्ता नोकरी, त्यो नभए कुनै स्वरोजगार तालीममा सहभागी गराइदिए पनि खुशी हुने कुरा गर्छन्। सीता भन्छिन्, “हामीलाई पैसा नै दिनुपर्छ भन्ने होइन। यो पार्टी जन्मनुमा हामी जस्ता परिवारको ठूलो योगदान छ। हाम्रो योगदान अनुसारको सम्मान र सहयोगको अपेक्षा मात्र गरेका हौं।”

अध्यक्ष गणेश चौधरी त टाढाका परे, उनले त चिनेनन् रे, तर गाउँपालिका उपाध्यक्ष लालमती चौधरी त सीताकै गाउँकी हुन्। नातेदार नै पर्छिन्। उनले पनि पीडितका कुरा बुझिनन् भन्ने सीताको गुनासो छ। “जितेका नेताहरू आफ्ना लागि जग्गा मात्र किन्छन्। पहिला वडाध्यक्षले किने, अहिले उपाध्यक्षले पनि किन्दै छिन्। खोइ कसको पैसाले किन्छन्, तर जग्गा चाहिं किन्छन्,” सीता भन्छिन्, “पहिला त गतिलो लुगा लगाउने हैसियत थिएन। अहिले महँगा महँगा सारी, गहना लगाएर हिंड्छिन्। पैसा कमाउनलाई त नेता पो बन्नुपर्दो रहेछ!”

शनिबार, ७ भदौ, २०८२ हिमालखबरमा प्रकाशित ।