आमाको प्रश्न- मेरो डेढ वर्षीय बच्चालाई गोली हान्ने को थियो?

टीकापुर घटनामा ज्यान गएका नाबालक टेकबहादुर साउदको शालिक र उनकी आमा यशोदा बुढा साउद। तस्वीरहरू: अजय हाकुजू/हिमालखबर

टीकापुर । २०५६ सालको कुरा हो। द्वन्द्वकाल उभारमा थियो। अछाम जिल्ला पनि त्यसको चपेटामा नराम्ररी पर्दै गएको थियो। राजधानीमै माओवादीको हमला हुन थालेको थियो। आफ्ना छोराहरू सुरक्षाफौजमा भएकाले रामारोशन गाउँपालिका-६,राख्नीका हर्ताकर्ता जंगबहादुर साउद निकै डराए, परिवार माओवादीको तारो बन्छ कि भनेर।

त्यति वेला माओवादीले सुरक्षाकर्मीका र सुरक्षाकर्मीले माओवादीका घर घरमा गई परिवारलाई सास्ती दिने, अपहरण र हत्यासम्म गर्थे। चार भाइ छोराहरू सुरक्षा निकायमा नोकरी गरिरहेकाले जंगबहादुरको डर स्वाभाविक थियो।

पहाडमा ठाँटबाँटको जीवन भोगिरहेका जंगबहादुर द्वन्द्वको कहरबाट परिवारलाई बचाउन तराई झरे। उनले आफ्ना सगोल परिवारलाई कैलालीको चुहा गाविस गप्कामा (हाल लम्की चुहा नगरपालिका) ल्याई राखे। तर यो थलो पनि सुरक्षित लागेन। उनी त्यहाँबाट अझ तल टीकापुर ओर्लिए। भारतसँग सीमा जोडिएको थारू समुदायको सघन बसोबास रहेको टीकापुर सुरक्षित लाग्यो।

टीकापुर बजारमा अछामबाट झरेका धेरै घरपरिवारले मुकाम बनाई बसेकाले पनि उनलाई यो थलो सुरक्षित लागेको थियो। तर पहाडघरमा समय र सन्दर्भ पहिल्याउने जंगबहादुरको विश्लेषण तराईमा सटीक बसेन। माओवादी द्वन्द्वको कहर छल्न थातथलो छाडेका जंगबहादुरलाई नयाँ मुकाममा सामुदायिक द्वन्द्व झम्टन आइपुग्यो।

tikapur tek family (1).jpg
जंगबहादुर साउद।

जंगबहादुरको दिमागबाट कहिल्यै नहट्ने २०७२ भदौ ७ को त्यो दिन अहिले पनि हिजो जस्तै लाग्छ। काठमाडौंमा श्रीमतीसँग ६४औं जन्मदिनको शुभकामना लिइरहेका उनलाई घरबाट एक्कासि फोन आयो, ‘हजुरको नातिलाई गोली लाग्यो।’

स्तब्ध जंगबहादुर रातारात कर्फ्यू छिचोल्दै टीकापुर आइपुगे। उनले सुरक्षित ठानेको टीकापुर जलिरहेको थियो। जंगबहादुरलाई आफ्नै शहर देख्दा डर लाग्यो। गोडा काँप्न थाले। सैन्य परेडमा बदलिएको निस्तब्ध शहर छिमल्दै घर आँगन टेक्दा रुवाबासी चलिरहेको थियो।

यही भदौ ७ मा ७२ वर्ष पुग्दै गरेका जंगबहादुर टीकापुरस्थित आँगनमै भेटिए, जहाँ नातिको ज्यान गएको थियो। “दुई पक्षबीच झगडा चर्कियो भनेर बुहारीको फोन आउँदा मैले ‘केही हुन्नँ, घरभित्रै लुकेर बस’ भनेको थिएँ,” त्यो दिन सम्झिंदै उनी भन्छन्, “एक घण्टापछि त नातिलाई नै गोली लागेको खबर सुन्नुपर्‍यो।”

द्वन्द्व छल्न तराई झरे, नाति द्वन्द्वमै मारिए

त्यसै त प्राकृतिक रूपले तात्तिएको टीकापुरमा त्यस दिन (२०७२ भदौ ७) थरुहट आन्दोलनकारीको ‘मानवसागर’ नै निस्किएको थियो। प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सम्‍भावित दुर्घटनाको आकलन गरी टीकापुर बजार क्षेत्रमा निषेधाज्ञा लगाए पनि पूर्व निर्धारित कार्यक्रमका निम्ति चारैतिरबाट भेला भएका आन्दोलनकारीको मानवसागर शहरतिर बढिरहेको थियो। आन्दोलनकारीले राज्यका प्रमुख कार्यालयहरू र टीकापुर शहरका भित्ताभरी ‘थरुहट/थारुवान प्रदेश’ लेख्ने योजना सार्वजनिक गरेका थिए। त्यसैले उनीहरूलाई रोक्न प्रशासनको तयारी चुस्तदुरुस्त राखिएको थियो।

tharuhat (7).jpg
धनगढीमा भएको थारूहरूको प्रदर्शन।

प्रजिअ श्रेष्ठले छिमेकी जिल्लाबाट प्रहरी फोर्स झिकाएका थिए भने प्रहरी कमान्डको नेतृत्व तत्कालीन सेती अञ्चलका प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेले गरेका थिए। त्यसैका निम्ति अघिल्लो दिन मात्र टीकापुर आइपुगेका न्यौपाने अग्रमोर्चामा खटिएका थिए। शहरतिर बढिरहेको भीड हेर्न सपरिवार घरको छतमाथि पुगेकी जंगबहादुरकी काइँली बुहारी यशोदा बुढा साउद भन्छिन्, “मान्छेहरू कमिलाका ताँती जस्ता थिए। छतबाट हेर्दा मान्छेका टाउका मात्र देखिन्थे।”

यही ताँतीलाई प्रहरी प्रशासनले रोक्न खोज्दा टीकापुरदेखि करीब डेढ किलोमिटर पश्चिममा पर्ने मुनुवा रोडस्थित पशुहाट बजार (साविकको मुनुवा गाविस वडा नम्बर ६) नेर भीडन्त हुन गयो। आन्दोलनकारीलाई रोक्न अगाडि बढेका एसएसपी न्यौपानेलाई सांघातिक हमला भयो। त्यो भिडन्तमा एसएसपी न्यौपाने सहित आठ प्रहरीको ज्यान गयो। आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवानद्वय जनक नेगी र लोकेन्द्र चन्द तथा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउदको पनि ज्यान गयो। यशोदा भन्छिन्, “एसएसपी न्यौपानेलाई बचाउन भीडभित्र छिरेका उनका अंगरक्षक बर्दियाका रामबिहारी चौधरीलाई कुटेरै मारे।”

tikapur tek family (8).jpg
टीकापुर घटनामा ज्यान गुमाएकाहरूको शालिक बनाउन राखिएका स्तम्भ।

आन्दोलनकारीबाट लखेटिएका घाइते सुरक्षाकर्मी साउदको घरको पर्खाल पछाडि छेलिएर बसेका थिए। तिनै घाइते सहकर्मीलाई काँधमा बोक्दै अस्पताल लग्न सघाइरहेका यशोदाका श्रीमान् सशस्त्र प्रहरीका हवल्दार नेत्र साउद पनि आन्दोलनकारीको तारोमा परे। यशोदाले घाइते प्रहरीलाई पानी र ग्लूकोज खुवाइरहेकी थिइन्। नेत्रले घाइतेलाई बोक्दै एम्बुलेन्समा हालिरहेका थिए। चारैतिरबाट पर्खालले घेरिएको उनको घरमा छिमेकीहरू पनि ज्यान जोगाउन आश्रय लिएर बसेका थिए।

भिडन्त भएको करीब डेढ घण्टा भइसकेको थियो। त्यतिन्जेल आन्दोलनकारी तितरबितर भइसकेका थिए भने घाइते जतिलाई अस्पताल लगिसकिएको थियो। घर अगाडि नेत्र एक जना स्थानीय सञ्‍चारकर्मीलाई घटना विवरण सुनाइरहेका थिए। त्यति वेलै अज्ञातस्थलबाट गोली आएर पिंढीमा खेलिरहेका १८ महीना दुई दिन पुगेका उनका माहिला छोरा टेकबहादुर साउदलाई गोली लाग्यो। गोलीले उनको ज्यान लियो। “आन्दोलनकारीले लखेट्दै ल्याएपछि प्रहरीहरू हाम्रो घर पछाडि लुकेका थिए। मैले त पुलिसलाई पानी नखुवाऔं, हामीलाई तारो गर्छन् भनेकी हुँ,” यशोदा सुनाउँछिन्, “तर उहाँले मान्नुभएन। पानी त जसले मागे पनि दिनुपर्छ। त्यसमाथि उनीहरू त झन् पुलिस नै हुन् भन्नुभयो। त्यसैले हामीलाई तारो बनाए। बाबुलाई गोली लाग्यो।”

यशोदा र जंगबहादुरलाई त्यस दिन टेकबहादुरलाई गोली प्रहार गर्ने आन्दोलनकारी नै हुन् भन्ने लाग्छ। यशोदाको भनाइमा हान्ने मान्छेको पहिचान नभए पनि त्यति वेला प्रहरीमा दिइएको किटानी जाहेरीमा केही व्यक्तिका नाम परेका छन्।

tikapur tek family (10).jpg
टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको शालिक।

आखिर कसको गोलीबाट बालकलाई गोली प्रहार भएको थियो? १० वर्ष बितिसक्दा पनि यो ‘रहस्य’ बाट पर्दा उठ्न सकेको छैन। थरुहट र मधेश आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यसलाई जानाजान लुकाइएको आरोप लाग्ने गरेको छ। आयोगका अध्यक्ष पूर्व न्यायाधीश गिरीशचन्द्र लालले भनेको भन्दै मिडियामा ‘बालकको मृत्यु थ्री नट थ्रीको गोलीले भएको’ भन्ने खबर बाहिरिएपछि घटना झन् बढी रहस्यमय बन्दै गएको छ।

यदि आन्दोलनकारीले हानेको गोलीले बालकको मृत्यु भएको हो भने तिनका हातमा आधुनिक राइफल कसरी गयो? सरकारले तथ्य पेश गर्न सकेको छैन। तत्कालीन गृहमन्त्री वामदेव गौतमले घटनालाई ‘सुनियोजित’ भने पनि त्यसलाई प्रस्ट बयान गर्ने लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिदिएकाले यस्ता आरोप पुष्टि हुन सकेका छैनन्। यी र यस्ता कारण त होइन लाल आयोगको रिपोर्ट लुकाइएको भन्दै नागरिक समाजले प्रश्न गर्न छाडेको छैन। यस्ता कुराले साउद परिवारको मन कुँडिने गरेको छ।

भदौ ७ को घटनापछि सरकारले कैलालीलाई दंगा क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्‍यो। कैलालीसँगै थारूबहुल जिल्लाहरू बाँके, बर्दिया, दाङ, रौतहट र सर्लाहीलाई समेत दंगा क्षेत्र घोषणा गरियो। सोही दिन गृहमन्त्री वामदेव गौतमले संसद्को विशेष समयमा बोल्दै ‘बन्चरो, खुकुरी, भाला सहित आएका आन्दोलनकारीहरूले सुनियोजित रूपमा प्रहरी र सशस्त्र प्रहरीलाई घेरा हालेर आक्रमण गरेर हत्या गरे’ भने। त्यसले झन् आक्रोश बढायो।

घटनाको भोलिपल्ट आक्रोशित पहाडे समुदायले कर्फ्यू तोडेरै थारूका घरमा छानीछानी आगजनी गर्‍यो। रेशम चौधरीले सञ्‍चालन गरेको एफएम लगायत टीकापुर बजारमा थारूका करीब १०० वटा पसलमा ताडफोड, लूटपाट र आगजनी भयो। हत्याको आरोपमा ५८ जना विरुद्ध जिल्ला अदालत, धनगढीमा मुद्दा चलाइयो। २७ जनालाई पक्राउ गरियो। ३१ जना फरार सूचीमा परे। टीकापुरमा भएको धरपकडमा कसरी निर्दाेष थारूहरू फसे, फसाइयो भन्नेबारे हिमालखबरले गरेको स्थलगत रिपोर्टले त्यस वेलाको चित्र डरलाग्दो देखाउँछ।

सूचीमा ‘शहीद’ छैन 

आफ्नो नाति मारिएपछि जंगबहादुर र बुहारी यशोदा सहितले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला समक्ष दोषी पत्ता लगाई कानूनी कारबाही गरी न्याय दिलाइमाग्न निवेदन दिए। टीकापुरमै आएका प्रधानमन्त्री कोइरालाले दोषी पत्ता लगाई कारबाही गर्ने, मृतकलाई शहीद घोषणा गर्ने, शालिक बनाउन आर्थिक सहयोग गर्ने, १० लाख ‘क्षतिपूर्ति’ दिने, परिवारका एक जनालाई रोजगारी दिने, बच्चालाई राम्रो विद्यालयमा पढाइदिने लगायत वाचा गरेका थिए। त्यसमध्ये संघीय सरकारले बालक टेकबहादुरलाई शहीद घोषणा र १० लाख ‘क्षतिपूर्ति’ दिइसकेको छ।

tikapur tek family (7).jpg

तर मृतकका बुबा नेत्रबहादुर संघीय सरकारले छोरालाई शहीद घोषणा गरे पनि स्थानीय तहमा खोजीनिती गर्दा शहीदको सूचीमा नाम नै नभएको बताउँछन्। उनले प्रजिअलाई सोध्दा ‘माथिबाट नआएको हो वा नपठाइएको हो, बाबुको नाम शहीद सूचीमा छैन, खोजीनिती गर्नुहोस्’ भनेपछि साउद परिवार ‘शहीद टेकबहादुर’ को नाम खोज्दै सरकारी कार्यालय धाइरहेको छ। “अहिलेसम्म सरकारले दोषी पक्राउ गर्न सकेको छैन। त्यसमाथि घोषणा भएको शहीदको नाम पनि स्थानीय तहमा लुकाइएको छ,” आमा यशोदा भन्छिन्, “हामीले पैसा होइन, न्याय मागेका हौं। खै अहिलेसम्म पाउन सकेनौं।’

शहीदको नाम स्थानीय तहसम्म नआएको मात्र होइन, सरकारले अहिलेसम्म मृतक बालकलाई कसले हानेको गोली लागेको हो र दोषीलाई छानबिनको दायरामा ल्याइयो कि ल्याइएन? प्रस्ट जवाफ दिन सकेको छैन।

सम्झाइरहने इतिहास

यशोदा छोरा गुमाउनुपरेको त्यो घटनालाई कोट्याउन नपरोस् भन्ने चाहन्छिन्। हिमालखबरको टोली गत साउन ३१ गते उनको घरमा पुग्दा यशोदा भन्दै थिइन्, “बोलेर केही हुने होइन, किन बोल्ने म? बोल्दिनँ। आजभोलि त मलाई मान्छेहरू रमाइलो गर्न आएका हुन् कि झैं लाग्न थालेको छ।”

यसो भन्दा उनको मुहारमा व्यंग्‍य सहितको तिक्तभाव देखिन्थ्यो। वेलावेला आउने राष्ट्रिय-अन्तर्राष्ट्रिय मानव अधिकारवादी, अनुसन्धाता र पत्रकारहरूले १० वर्ष अगाडिकै कुरा कोट्याउँदा आफूले भुल्न चाहेको घाउ तरोताजा भएर मन भक्कानिने हुँदा यशोदा बोल्न खोजिरहेकी थिइनन्। त्यसमाथि संघ, प्रदेश र स्थानीय सरकारले गरेका वाचा पनि पूरा नगरिदिएको हुनाले ससुरा जंगबहादुर जस्तै उनलाई पनि त्यसको आक्रोश थियो।

तैपनि बिस्तारै खुल्दै गइन्। उनी भन्छिन्, “हामीले न्याय माग्दा सरकारले यो दिन्छु, ऊ दिन्छु भन्यो, तर तिनले न न्याय दिए न वाचा गरेका काम गरे। तिनका गफ मात्र भए।”

tikapur tek family (4).jpg
यशोदा बुढा साउद।

प्रदेश सरकारले साउद परिवारको घर नजीकै शहीद टेकबहादुर साउदको स्मृतिमा ‘चिल्ड्रेन पार्क’ बनाउने गुरुयोजना तयार पारेर काम थालेको पनि चार वर्ष भइसक्यो। त्यसका निम्ति दुई बिघा १७ कट्ठा जमीन छुट्याएर पर्खालले घेरिएको छ। करीब सात करोड ६३ लाख रुपैयाँ बजेट लाग्ने भनिएको पार्कमा टीकापुर घटनामा ज्यान गुमाउने नौ जनाको शालिक स्थापना गरिने भनिएकामा अहिलेसम्म टेकबहादुरको मात्र शालिक राखिएको छ। “त्यो पनि एकदिन रेशम आएर म बाबुको शालिक बनाउँछु भने। मैले बाबुको मात्र किन, सबैको बनाऊ भनें। बाबुको शालिक उनैले बनाएर राखेका हुन्। अरूको अझै बनेको छैन,” जंगबहादुर भन्छन्, “यहाँबाट रेशमले जिते। पछि उनकी श्रीमती रञ्जिताले जितिन्, तर अहिलेसम्म तिनले स्मृतिपार्कबारे केही सुनुवाइ गरेनन्।”

जंगबहादुरको भनाइमा रेशमले कारागारबाटै आफ्नो लगानीमा एक वर्षभित्र स्मृतिपार्क बनाउने घोषणा गरेका थिए, तर जेलबाट छुटेपछि उनले १५ लाख रुपैयाँ मिलाइदिए, एउटा शालिक बनाए, थप आश्वासन दिने बाहेक केही काम गरेनन्।

प्रदेशको पहिलो मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा बनेको पार्कको गुरुयोजनामा बालबालिकाका लागि खेल्ने संसाधन, संग्रहालय, पोखरी, बगैंचा, फूड कोर्ट, ग्रहमण्डल, स्वीमिङपुल, रेलिङ लगायत भौतिक संरचना बनाइने उल्लेख छ। तर बजेटका कारण यी संरचना बन्न सकेका छैनन। पर्यटन मन्त्रालयबाट १९ लाख रुपैयाँ हालेर पर्खाल बनाइएको छ। टीकापुर नगरपालिकाले हरेक किस्तामा वार्षिक पाँच लाख रुपैयाँ दिंदै आएको छ। पार्क व्यवस्थापनका निम्ति बनाइएको टेकबहादुर साउद स्मृति केन्द्रका सचिव वीरबहादुर चौधरी भन्छन्, “बजेट अपुग भएकाले काम अगाडि बढ्न सकेको छैन।”

माओवादी द्वन्द्वबाट बच्न तराई झरेको साउद परिवार अन्ततः सामुदायिक द्वन्द्वको चपेटामा पर्‍यो। पाँचमध्ये चार भाइ सुरक्षाफौजमा भएकै कारण नाति गुमाउनुपरेको बताउने जंगबहादुर हिंसाको राजनीतिले भुलाउनै नसकिने पीडा दिने भएकाले अब यस्ता द्वन्द्व देख्न नपरोस् भन्ने कामना गरिरहेका छन्। “हिजो जे भयो त्यसलाई मनमा राखी बदलाको भावना लिएर के हुन्छ? हामी त एउटै दाजुभाइ हौं। यही समाजमा मिलिजुली सँगै बस्ने हो,” यशोदा पनि ससुरासँग बोली मिलाउँदै भन्छिन्, “द्वन्द्वका कारण हामीले छोरा गुमायौं। त्यसको पीर त कहाँ जाला र? तर त्यही घटनालाई कोट्याएर कसैलाई दोष दिनुभन्दा पनि न्याय चाहियो भनेका न हौं।” हिमालखबरमा बिहीबार, ५ भदौ, २०८२ मा प्रकाशित ।