सामाजिक सञ्जालको सम्पर्कले डोर्याउँदै बेचबिखनतिर
कैलाली ।सूचना प्रविधिको विकाससँगै दलालहरूले सामाजिक सञ्जाल मार्फत सम्पर्क स्थापना गरेर किशोरीलाई पश्चिमी नाकाबाट भारततिर लग्ने गरेको नयाँ ‘ट्रेन्ड’ देखिएको छ।
घरी यता, घरी उता हेर्दै एक किशोरी सीमापारिको भारतीय शहर गौरीफन्टा बसपार्कमा उभिरहेकी थिइन्। त्यही वेला शान्ति पुनःस्थापना गृहका एक कर्मचारीको नजर पर्यो।
“कहाँ जाँदै हुनुहुन्छरु” पुनःस्थापना गृहका कर्मचारीले सोधे।
“श्रीमान्सँग भारत जाँदै छु,” किशोरीले जवाफ फर्काइन्।
पहाडबाट पहिलो पटक तराई झरेकी उनलाई नेपाल-भारतको सीमाबारे पनि थाहा थिएन। गौरीफन्टालाई नेपालै सोचेर ‘भारत जाँदै छु’ भनेकी थिइन्।
केही बेरमा उनले श्रीमान् भनेका व्यक्ति आइपुगे। नेपाली र भारतीय प्रहरीको सहयोगमा दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरियो। त्यसपछि थाहा भयो, उनीहरूको बिहे भएकै रहेनछ।
गत मंसीरको कुरा हो, बैतडीकी ती किशोरीको फेसबूकमा देवराज भट्टराईको नामबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो। अपरिचित भए पनि उनलाई फेसबूकमा साथी बनाइन्। कुराकानी हुँदै गयो। केही दिनपछि मायाप्रेमका कुरा हुन थाले। फेसबूकको कुराकानी प्रेममा बदलियो।
केही महीनापछि बिहे गर्न भनी गाडी बूकिङ गरेर देवराज किशोरीको गाउँ पुगे। उनी पनि देवराजसँग बिहे गर्न घरबाट भागिन्। भेट भएपछि थाहा भयो– देवराज त अधबैंशे पो रहेछन्। “बिहे गर्न भनेर भागेर आइसकेकी थिएँ, घर फर्किने हिम्मत जुटेन,” उनी भन्छन्, “अब जेजस्तो भए पनि यसैसँग बिहे गर्छु भनेर हिंडें।”
त्यो रात उनीहरू डडेल्धुराको होटलमा बसे। अर्को बिहान कैलाली पुगे। त्यहाँबाट जंगलको बाटो गौरीफन्टा बसपार्क पुर्याएको उनी बताउँछिन्। त्यसैले उनले नेपाल हो कि भारत पत्तो नपाएको सुनाइन्।
गौरीफन्टा बसपार्कबाट ल्याएर सोधपुछ गर्दा खुल्यो, ती युवकले बिहे गर्न नभई बेचबिखनका लागि फकाएर भारत लग्दै गरेका रहेछन्। अहिले देवराज बेचबिखनको मुद्दामा कैलाली कारागारमा छन्। उनी बैतडीकै पाटनका बासिन्दा हुन्। किशोरीले घर फर्किन नमानेपछि काठमाडौंमा राखेर पठनपाठन गराइँदै छ।

यस्तै, कैलालीको टीकापुर नगरपालिकाकी युवती उस्ताउस्तै उमेरका जयवीर सिंहसँग फेसबूकमा साथी बनिन्। कुराकानी हुँदै जाँदा जयवीरले भारतमा सजिलै काम पाइने सुनाए।
बेरोजगार युवतीले आफूलाई पनि काम खोजिदिन आग्रह गरिन्। जयवीरले भारतको ब्याङ्लोरमा काम लगाइदिने आश्वासन पनि दिए।
टीकापुर क्षेत्रबाट अरू पुरुष तथा महिला पनि कामका लागि भारत जाने गरेका थिए। त्यसैले युवतीलाई कामका लागि भारत जान अप्ठ्यारो लागेन।
जेठ अन्तिम साता उनी जयवीरसँगै टीकापुरको खक्रौला नाका पार गर्ने क्रममा प्रहरीले रोक्यो। शंका लागेर सोधखोज गर्दा जयवीर भारतको पिलभितका बासिन्दा रहेको खुल्यो। उनको मोबाइलमा धेरै नेपाली युवतीका तस्वीर, भिडिओ र कुराकानी गरेको अडिओ भेटियो। प्रहरीले केरकार गरेपछि नेपाली युवतीलाई काममा लगाइदिने प्रलोभन देखाएर भारत लग्ने गरेको पाइयो।
जयवीरले फेसबूक लगायत सञ्जालबाट थुप्रै युवतीसँग पहुँच बनाएको देखिएपछि इलाका प्रहरी कार्यालय, टीकापुरले जिल्ला प्रहरी कार्यालय पठायो। जिल्ला प्रहरी कार्यालय, कैलालीले बेचबिखनमा मुद्दा लगाएपछि हाल उनी कारागारमा छन्।
यसरी सामाजिक सञ्जाल मार्फत सम्पर्क स्थापना गरेर किशोरी तथा युवतीलाई विभिन्न प्रलोभन देखाई भारत लग्ने गरेको पाइएको छ। पछिल्लो पटक यस्तो प्रवृत्ति बढ्दै गएको मानव बेचबिखन विरुद्ध क्रियाशील अधिकारकर्मी बताउँछन्। “सीमानाकामा ओहोरदोहार गर्ने मान्छे हेर्दै थाहा हुन्छ, यहाँ कुनै गडबड छ भनेर,” शान्ति पुनःस्थापना गृह कैलालीकी संयोजक कैलेशु राना भन्छिन्, “कतिपयले गाडी रोक्दैनन्, परामर्श लिनै चाहँदैनन्। त्यस्तो वेला समस्या हुन्छ।”
भारत लैजाँदै गरेको अवस्थामा बालिका र युवतीलाई शान्ति पुनःस्थापना गृहले सीमा क्षेत्रबाट उद्धार गर्ने गरेको छ। गत आर्थिक वर्ष २०८१र८२ मा मात्र ४२० जनालाई सीमानाकाबाट उद्धार गरिएको राना बताउँछिन्। वर्षभरि १० हजार ७८ जनालाई परामर्श गर्दा ४२० जना बेचबिखनमा पर्न लागेको खुलेको हो।
उनीहरूसँग कुराकानी गर्दा अधिकांशले सामाजिक सञ्जालबाट युवकसँग चिनजान भएको बताएका छन्। युवतीलाई भारत लैजान खोज्ने केही युवक पक्राउ पनि परेका छन्। यसरी लैजान खोज्ने सात जना विरुद्ध त बेचबिखनको मुद्दा नै दर्ता भएको छ।
सुदूरपश्चिममा गत आर्थिक वर्ष २०८१र८२ मा मानव बेचबिखन तथा ओसारपसारका २३ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कञ्चनपुरमा ११, कैलालीमा १०, दार्चुला र अछाममा एक-एक जना विरुद्ध मुद्दा दर्ता भएको छ।
सूचना प्रविधिको विकाससँगै बेचबिखनका तौरतरीका पनि फेरिंदै गएकाले बेचबिखन रोक्न चुनौतीपूर्ण बनेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी डम्बर विश्वकर्मा बताउँछन्। “मानव बेचबिखन सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको अपराधको जालो तोड्न सूचना संयन्त्र बलियो बनाउनुपर्छ,” डीआईजी विश्वकर्मा भन्छन्, “सूचनाहरू लुकाइदिने, खुलेर कुरा नगरिदिने, प्रहरीलाई झुक्याउने, समुदाय स्तरबाटै पूर्ण रूपले सहयोग नगरिदिंदा बेचबिखन रोक्न चुनौती छ।”
यससँगै खुला सिमानाका कारण बेचबिखन रोकथाममा चुनौती थपिएको अधिकारकर्मी बताउँछन्। प्रायः बालिका तथा किशोरीलाई भारत लगिंदा नियमित नाकाको प्रयोग हुँदैन। चोरबाटो र जंगलको बाटो प्रयोग हुने गरेकाले समस्या देखिएको शान्ति पुनःस्थापना गृहकी संयोजक रानाको भनाइ छ।
कैलालीमा नियमित प्रयोगमा रहेका नाका चार वटा छन्। त्रिनगर(गौरीफन्टा, टीकापुर(खक्रौला, भजनी(गुररीयाघाट र कैलारीको खोनपुरघाट नाकाबाट आवतजावत हुन्छ। चारै नाकामा बसेर शंकास्पद व्यक्तिलाई सोधखोज तथा परामर्श दिने गरिएको राना बताउँछिन्। त्यसक्रममा पछिल्ला नौ वर्षमा ६ हजार ५०४ जनालाई सीमानाकाबाट उद्धार गरिएको गृहको तथ्यांक छ।
सुदूरपश्चिम प्रहरी प्रमुख विश्वकर्मा पनि खुला सिमानाका कारण मानव बेचबिखन रोक्न चुनौती भइरहेको बताउँछन्। “सुदूरपश्चिमको तीनतिरै खुला सीमाना छ, नियमित आवतजावत भइरहन्छ। मान्छे हेरेर थाहा हुँदैन,” उनी भन्छन्, “तैपनि विभिन्न संघसंस्थासँग मिलेर प्रहरीले बेचबिखन रोक्ने प्रयास गरिरहेको छ।”
मानव बेचबिखन रोक्न निगरानी समूह मार्फत नियमित सूचना संकलनमा जोड दिनुपर्ने उनको भनाइ छ। त्यस्तै, बेचबिखनमा परेका व्यक्तिको परिवारको आर्थिक र सामाजिक अवस्था बुझ्न र जोखिममा परेकालाई सम्बोधन गर्न निगरानी समूह र परामर्श दिनुपर्ने उनको भनाइ छ। त्यसका लागि परामर्श केन्द्र आवश्यक रहेको डीआईजी विश्वकर्मा औंल्याउँछन्।
मानव बेचबिखन विरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र, कैलालीकी संयोजक राना पनि निगरानी बढाउनुपर्ने बताउँछिन्। उनका अनुसार पहिले दलाल गाउँघरमै पुग्ने गरेका थिए। अहिले सामाजिक सञ्जालले गर्दा सम्पर्क स्थापित गर्न सजिलो छ। यसले मानव बेचबिखनको जोखिम झन् बढाएको रानाको भनाइ छ।
प्रलोभनमा परिसकेका किशोरी तथा युवतीलाई सीमानाकामा सम्झाइबुझाइ गर्न पनि कठिन हुन्छ। गाडी बूक गरेर आउने भएकाले कतिपयले सोधपुछ गर्दा रोक्नै नमान्ने उनी बताउँछिन्। “जसले मानव ओसारपसार गरिरहेको हुन्छ, उसैले चर्को स्वरमा थर्काउँछ। जोखिममा परेकाहरू पनि उल्टै हामीलाई गाली गर्छन्, विश्वास दिलाउन निकै गाह्रो हुन्छ,” राना भन्छिन्, “प्रमाणित भएपछि मात्र आफू जोखिममा परेको महसूस गर्छन्।”
अर्कातिर, बेचबिखन सम्बन्धी मुद्दामा पीडितका परिवारजन पनि मेलमिलापमा जाने गरेका छन्। कतिपय कानूनबारे जानकारी नभएर त कतिपय सामाजिक कारणले मुद्दामामिलामा नजाने गरेकाले पनि अप्ठ्यारो हुने गरेको उनको भनाइ छ। “अन्याय भएको थाहा हुँदाहुँदै पीडितका अभिभावकले सामाजिक परिवेश, इज्जत जाने डर, कानूनी झन्झटले मिलापत्रमै बढी जोड दिने गरेका छन्,” राना भन्छिन्।
उद्धार गरिसकेपछि पनि पीडितलाई व्यवस्थापन गर्न गाह्रो हुने गरेको छ। बेचबिखनमा परेका वा पर्न सक्ने जोखिममा रहेकालाई उद्धार गरेर तीन महीनासम्म मात्र पुनःस्थापना गृहमा राख्न पाइन्छ। त्यसपछि के गर्ने भन्ने समस्या हुने गरेको उनी सुनाउँछिन्। “कतिपय प्रभावितलाई परिवारले अपनाउँदैन, त्यस्तोमा व्यवस्थापन गाह्रो हुन्छ,” उनी भन्छिन्।
बेचबिखन प्रभावितलाई पुनःस्थापनाका लागि स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने रानाको भनाइ छ। हिमालखबरबाट ।













