थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै
कैलाली । कैलाली र कञ्चनपुरका थारु समुदायको मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै गईरहेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको साथी मानिने बाँसको छतरी लोपउन्मुख अवस्थामा पुगेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकोमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्तिात छन् ।
“बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो”, उनले भने, “बलियो पहाडी बाँस र नेमहुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।”
बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताए । बाँसको चोयाले बुनेर नमहुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए।
“पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे”, उनले भने, “थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।”
यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप भएको हो । “थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो । परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि अहिले हरायो ।”













