किन ज्यान फाल्दै छन् छोरीहरू ?

पछिल्लो एक दशकको तथ्यांक केलाउँदा आत्महत्या गर्ने बालकको तुलनामा बालिकाको संख्या झन्डै दोब्बर देखिएको छ, किन ?

(तपाईंलाई आत्महत्या सम्बन्धित समाचारले विचलित बनाउँछ भने सचेत गराइन्छ।)

स्कूल लिभिङ सर्टिफिकेट (एसएलसी) परिवर्तन भएर माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदा पनि नतीजा प्रकाशनसँगै आउने विद्यार्थीको आत्महत्याको समाचार रोकिएन। एसईईमा अपेक्षित परिणाम नआएको भन्दै यस वर्ष पनि आत्महत्या गर्ने क्रम देखियो।

एसईईको नतीजा प्रकाशन भएकै दिन बझाङको केदारस्यूँ गाउँपालिकाकी एक विद्यार्थीले आत्महत्या गरिन्। यस्तै अप्रिय खबर सिरहाबाट पनि आयो। धनगढीमाई गाउँपालिकाकी किशोरीले एसईईमा सोचे अनुसार परिणाम नआएकै कारण ज्यान फालिन्।

हरेक वर्ष एसईईमा राम्रो नतीजा ल्याउन नसकेकै कारण विद्यार्थीले आत्महत्या रोज्दै आएका छन्। आत्महत्याका घटना केही समाचारमा आउँछन्, केही त्यसै सेलाएर जान्छन्। तर पछिल्लो एक दशकको तथ्यांक केलाउँदा डरलाग्दो दृश्य देखिन्छ।

नेपाल प्रहरीका अनुसार आत्महत्याबाट हरेक दिन औसतमा एक बालिकाको ज्यान गइरहेको छ। यो बालकको तुलनामा झन्डै दोब्बर हो।

पछिल्लो १० वर्षमा ५९ हजार ५२४ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ। आत्महत्या गर्ने वयस्कमा पुरुषको संख्या बढी छ, तर १८ वर्ष मुनिका बालबालिकामा बालिकाको संख्या धेरै छ।

१० वर्षको अवधिमा दुई हजार ७३८ बालकले आत्महत्या गरेका छन्। यही अवधिमा आत्महत्या गर्ने बालिकाको संख्या भने चार हजार १७९ छ। यसले कलिलै उमेरमा छोरीहरूले आत्महत्याको बाटो रोजिरहेको देखाउँछ।

सामाजिक सञ्जालसँग जेलिएको धागो

नेपालमा विगत १० वर्षमा सबैभन्दा बढी काठमाडौं जिल्लामा तीन हजार ३७० जनाले आत्महत्या गरेका छन्। काठमाडौंपछि दुई हजारभन्दा बढीले आत्महत्या गरेका जिल्लामा झापा, मोरङ, कैलाली, रुपन्देही र दाङ छन्।

नेपाल प्रहरीका अनुसार आत्महत्याबाट झापामा दुई हजार ७३० जनाले ज्यान गुमाएका छन्। त्यस्तै, मोरङमा दुई हजार ५२२, कैलालीमा दुई हजार १६५, रुपन्देहीमा दुई हजार २०३ र दाङमा दुई हजार ४२ जनाले आत्महत्या गरेका छन्।

शहरी र सुविधासम्पन्न क्षेत्रमै किन आत्महत्याका घटना बढी देखिएका छन्रु नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० विनोद घिमिरे सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले किशोरकिशोरीमा आत्महत्या बढिरहेको देखिएको बताउँछन्। “अहिले ‘टीनएजर्स’ ले सामाजिक सञ्जालको दुरुपयोग र परीक्षामा फेल भएकै कारण आत्महत्या गरेका घटनाहरू आइरहेका छन्। त्यसमा झन् बढी बालिका छन्,” घिमिरे भन्छन्।

नेपालमा प्रायः आत्महत्याका घटनामा तनाव, डिप्रेशन, सम्बन्धमा हुने समस्या, बेरोजगारी, आर्थिक पक्ष, दुर्व्यसन लगायत मुख्य कारण रहेको डीआईजी घिमिरे बताउँछन्। बालबालिकामा आत्महत्याको दर उच्च देखिएकाले नेपाल प्रहरीले पनि समुदाय र विद्यालयस्तरमा सचेतनाको कार्यक्रम गरिरहेको उनको भनाइ छ।

नेपालमै गरिएका विभिन्न अनुसन्धानले पनि किशोरकिशोरी आत्महत्याको जोखिममा रहेको देखाउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार १३ देखि १७ वर्षसम्मका किशोरकिशोरीमध्ये ३।९ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच आएको देखिएको थियो। त्यसमा ०।७ प्रतिशतले आत्महत्याको प्रयास पनि गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, सन् २०२२ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि मन्जिला पोख्रेल र पवन शर्मा लगायतले काठमाडौंका सामुदायिक विद्यालयमा अध्ययनरत २११ किशोरकिशोरीसँग कुराकानी गरेका थिए। त्यो अध्ययनले एकतिहाइ विद्यार्थी आत्महत्याको जोखिममा रहेको औंल्याएको छ। आत्महत्याको जोखिम नरहेका विद्यार्थीले प्रायः परिवारको साथसहयोगले परीक्षामा उच्च अंक ल्याएको उल्लेख छ।

अमेरिकामा भएका विभिन्न अध्ययनमा पनि नेपालमा जस्तै किशोरको तुलनामा किशोरीले बढी आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ। अमेरिकाको वाशिङ्‌टन विश्वविद्यालयले सन् २०१९ मा किशोरीको बढ्दो आत्महत्याको तथ्यांकबारे अध्ययन गरेको थियो। अध्ययनले आत्महत्याको घटना बढाउन सामाजिक सञ्जालको भूमिका प्रमुख रहेको औंल्याएको छ। किशोरकिशोरी दुवै सामाजिक सञ्जालमा रहे पनि साइबर दुर्व्यवहारको शिकार हुने जोखिममा किशोरी नै बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियाले किशोरीलाई बढी जोखिममा पार्ने औंल्याएको छ। प्रतिवेदनले सामाजिक सञ्जालले किशोरीको मानसिक स्वास्थ्यमा ल्याउने नकारात्मक असरमा अध्ययन(अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ।

अमेरिकामै किशोरी लक्षित साइबर दुर्व्यवहारको संख्या बढिरहेको परिदृश्य नेपालसँग पनि मिल्छ। डीआईजी घिमिरेले औंल्याएको सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई विश्वभर गरिएका विभिन्न अध्ययन(अनुसन्धानले पनि पुष्टि गर्छ। सामाजिक सञ्जालको सुरक्षित प्रयोग नहुँदा किशोरीको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ।

काउन्सेलिङ साइकोलोजी नेपालका निर्देशक एवं परामर्श मनोवैज्ञानिक क्षितिजकिरण श्रेष्ठ प्रेमसम्बन्ध, धोका लगायत कारणबाट उत्पन्न तनावलाई लिएर किशोरीहरू परामर्शमा आउने गरेको सुनाउँछन्। “किशोरावस्थामा आफ्ना कुरा सुनिदिने मान्छे नहुँदा मानसिक रूपमा गाह्रो हुन्छ,” श्रेष्ठ भन्छन्, “घर र विद्यालयमा किशोरकिशोरीका कुरा सुनिदिने वातावरण बनाउनुपर्छ।”

विद्यालय परामर्शकर्ता युजिना डंगोल किशोरकिशोरीले आफ्ना समस्या दबाएर राख्ने र अभिभावक वा अरूलाई तौलिएर मात्र भन्ने गरेको सुनाउँछिन्। आफ्नै साथीबीच हुने द्वन्द्वका कारण पनि अहिले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव परिरहेको डंगोलको भनाइ छ। “किशोरकिशोरीहरू परामर्शका लागि आउँदा किशोरीहरू छिटो खुल्छन्, किशोरहरूलाई भने खुल्न समय लाग्छ,” उनी अनुभव सुनाउँछिन्।

परामर्शकर्ता डंगोल पछिल्लो समय सामाजिक सञ्जाल मुख्य चुनौतीका रूपमा रहेको बताउँछिन्। “अहिले उनीहरू सामाजिक सञ्जालमा एकदमै क्रियाशील छन्, त्यहाँ एकले अर्कालाई दाँज्ने, अनलाइनमा एकअर्कालाई दुर्व्यवहार गर्ने, कोही मन नपर्दा यो मन परेन भनेर एकअर्कालाई ‘बुली’ गर्ने पनि गर्छन्,” उनी भन्छिन्। किशोरकिशोरीको मानसिक स्वास्थ्य सुधारका लागि घर र विद्यालयको वातावरण निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

किशोरकिशोरीलाई सुनिदिनुस्

मनोविद् एवं साइकोथेरापिस्ट संगीता खड्का किशोरावस्थामा भावनात्मक रूपमा गहिरो प्रभाव पर्ने भएकाले विशेष ख्याल राख्नुपर्ने बताउँछिन्। आफ्ना कुरा भन्ने, सुनाउने वातावरण नहुँदा मानसिक र भावनात्मक रूपमा तनाव महसूस गर्ने गरेको उनी सुनाउँछिन्। “किशोरकिशोरीहरू ‘पीडा सहनुभन्दा बरु मर्न पाए हुन्थ्यो’ भन्ने सोच्छन्। उनीहरूले ‘मेरो समस्याको समाधान छैन’ भन्ने ठानेपछि योजना बनाएर आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ,” खड्का भन्छिन्।

अझ किशोरीहरू भावनात्मक रूपमा निकै संवेदनशील हुने गरेको मनोविद् खड्का बताउँछन्। “किशोरावस्थामा शारीरिक, मानसिक परिवर्तन भइरहेको हुन्छ। शरीरमा उथुलपुथल भइरहेको हुन्छ। महीनावारी शुरू भएको हुन्छ। ‘मुड’ परिवर्तन भइरहन्छ,” उनी भन्छिन्, “यस्तोमा भावनात्मक रूपमा सुनिदिने साथी नभेट्दा एक्लै पीडा सहन्छन्। सामाजिक सञ्जाल, इन्टरनेटमा व्यस्त हुन थाल्छन्।”

ठूला मान्छेलाई सामान्य लाग्ने कुरा उनीहरूका लागि ठूलो घटना हुने गरेको मनोविद् खड्का सुनाउँछिन्। उनका अनुसार आमाबुबा कामकाजमा व्यस्त हुँदा बच्चालाई पर्याप्त समय दिन नसक्नु ठूलो समस्या हो। “बच्चाले आफ्नो मनमा लागेको कुरा सुनाउनै नपाएपछि त्यही कुरा बारम्बार सोच्दा तनाव उत्पन्न हुन्छ,” उनी भन्छिन्।

बच्चाले कुरा खुलाउन थाल्दा अभिभावकले ‘हाम्रो पालामा यस्तो, उस्तो थियो’ भनेर उनीहरूको भावनालाई महत्त्व नदिने, गाली गर्ने लगायत गल्ती गर्न नहुने मनोविद् खड्काको सुझाव छ। अभिभावकले किशोरकिशोरीको मानसिक स्वास्थ्यका लागि समय निकाल्नुपर्ने र उनीहरूलाई विना कुनै आलोचना खुला भएर सुनिदिनुपर्नेमा उनी जोड दिन्छिन्। खड्का भन्छिन्, “केही फरक व्यवहार गरेको महसूस भएमा आफ्ना बालबालिकालाई परामर्शका लागि लैजानुपर्छ।”

आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन नं. ११६६ रहेको छ। हिमालखबरबाट ।