गर्भावस्थाको पाचौं महिना विशेष चरण हो, के गर्ने, के नगर्ने

गर्भावस्थाको पाँचौं महिना बिशेष चरण हो, जहाँ गर्भमा हुर्किँदै गरेको सन्तान पहिलो पटक हलचल गर्दै आमासँग संवाद गर्न थाल्छ ।

पेटमा आएको त्यो सानो कम्पन, पहिलो चालले एक अनौठो र अविस्मरणीय अनुभूति आमालाई दिलाउँछ । यो महिनामा शिशुको विकास तीव्र गतिमा अघि बढ्छ । पाठेघरको आकार बढ्दै जान्छ, शरीरको तौल र आकृति परिवर्तन हुँदै जान्छ । पाँचौं महिनाको अन्त्यसम्म गर्भावस्थाको आधा यात्रा पूरा हुन्छ ।

अब आमाले अझ बढी आराम, सन्तुलित आहार र मानसिक सन्तुलनको ख्याल राख्नुपर्ने समय सुरु हुन्छ ।

आमामा देखिने परिवर्तन

शारीरिक रुपले यो महत्वपूर्ण महिना हो । किनकी, शारीरिक रुपमा परिवर्तन अब तीव्र रुपमा हुन थाल्छ ।

यो महिना प्रष्ट बाहिर लुगाबाट पेट नदेखिए पनि खर्बुजा आकारले आमाले बढेको अनुभव गर्छिन् । यो समयमा सातामा आधा देखि एक केजी तौल बढ्न थाल्छ । पेटको आकार बढेसँगै सेतो धर्सा देखिन थाल्छ ।

सेतो धर्सा आउनुअघि छाला चिलाउन सक्छ । पेटको आकार बढेसँगै पाठेघर तन्किँदा ढाड तथा कम्मर दुखाइ बढ्न सक्छ । प्रोजेस्टोरोन र टेस्टोस्टोरेन हर्मोनको असन्तुलनले गर्दा स्तनमा दुखाई, भारीपन, आकारमा वृद्धि र असहज अनुभव हुनसक्छ ।

प्रोजेस्टोरोन वृद्धि भई पेटको आन्द्रा खुम्चिन नपाउँदा ग्यास्ट्रिक हुने सम्भावना हुन्छ । यो महिनाबाट बच्चाले आमाको पेटमा लात हान्न थाल्छ । पहिलो बच्चा भएको गर्भवती महिलाले बच्चा चलेको १८ देखि २० सातामा अनुभव गर्छिन भने दोस्रो सन्तान हो भने १६ देखि १८ सातामा बच्चा चलेको अनुभव हुन थाल्छ ।

मानसिक परिवर्तन

यो महिना पहिलोपटक बच्चाले मन्द गर्दै लात हानेको नयाँ अनुभूतिले मानसिक रुपमा उत्साह, भावुक र मातृत्वबोध हुन थाल्छ ।

यो सँगै हर्मोनल परिवर्तन तीव्र हुँदै गर्दा अत्यधिक रिसाउने र झर्को लाग्ने हुनसक्छ । सानो कुरामा पनि रुने, भावुक हुने र एकैछिनमा उदास हुने जस्ता लक्षण देखिन्छ ।

परिवारका सदस्यले भनेको सानो कुराले पनि बढी चित्त दुख्ने हुनसक्छ । बच्चाको स्वास्थ्यलाई लिएर चिन्ताले पनि यो महिना सताउन सक्छ ।

पहिलेको भन्दा अलि बढी खानेकुरा अमिलो, पिरो खान मन लाग्छ । कुनै खानेकुराको कल्पना गर्दा त्यो खानेकुरा तत्काल चाहिनेसम्मको उत्तेजित गराउँछ ।

सम्भावित जटिलता

यो महिनामा केही स्वास्थ्य समस्या वा जटिलताहरू देखिन सक्छन् । यी जटिलताहरूलाई समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ ।

रक्त अल्पत्ता : बच्चाको विकासका लागि पोषण बढी चाहिन्छ । आमाले यो महिना अघि सम्म वाकवाक लागेर खानामा अरुचि भई कम खाँदा पोषण कम भइरहेको छ भने रक्तअल्पता हुनसक्छ ।

उच्च रक्तचाप : २० हप्ता सुरु भएपछि उच्चरक्तचापको सुरुवाती संकेतहरू देखिन सक्छ ।

योनी श्राव : हर्मोनल परिवर्तनले योनीबाट पानी रसाएर निस्किने हुन्छ जसले किटाणुहरू सक्रिय भई त्यो मैलो पानी बगेर योनीको संक्रमण हुनसक्छ ।

रगत रक्तचाप कम : कतिपय महिलालाई भने रगतका नसाहरू फुलेर रक्तचाप कम भई बेहोस हुने वा अन्य कमजोरीका लक्षण देखिन सक्छ ।

रक्त श्राव : कुनै कारणवस बच्चा पेटमै खेर गएर रक्तश्राव हुनसक्छ ।

पिसाब संक्रमण : हर्मोनल परिवर्तन र बच्चाको तौल बढ्दै जाँदा पिसाबको नलीमार्फत पिसाब संक्रमण भइरहेर मिर्गौलासम्म पुग्ने सम्भावना हुन्छ ।

बच्चामा देखिने परिवर्तन

-उचाइ औषतमा २५ सेन्टिमिटर हुन सक्छ ।

-तौल २०० देखि ३०० ग्रामसम्म हुनसक्छ ।

-कपाल, कान, नङ लगायत अङ्ग बन्न थाल्छ ।

-मस्तिष्क र प्रतिरक्षा प्रणालीको विकास लगातार हुँदा बच्चा दिनप्रतिदिन सक्रिय हुन्छ ।

-मांसपेशी र हड्डी बाक्लो हुन्छ । जसकारण उनीहरुको हात, खुट्टा र औंलाहरू पूर्णरूपले पनि बन्छन् ।

-बच्चा चलेको महसुस उसले गरेको हलचल पेट बाहिरै पनि देख्न सकिन्छ । जसलाई लात हानेको पनि भन्ने गरिन्छ ।

-छोरा बच्चाको अण्डकोष विकास हुन्छ ।

-छोरी हो भने गर्भाशय विकास हुन्छ । यही समयमा छोरी बच्चाको निश्चित अण्डा पनि बन्न थाल्छ ।

यात्रा गर्न मिल्छ ?

दोस्रो त्रैमासिकको यो समय यात्रा गर्नका लागि सुरक्षित महिना हो । तर, सावधानी भने अपनाउनुपर्छ । धेरै खाल्डाखुल्डी भएको बाटोमा यात्रा गर्नुहुँदैन ।

छोटो दूरीको यात्रा अलि सहज गाडीमा यात्रा गर्न सकिन्छ । लामो दूरीमा यात्रा गर्नुपूर्व गर्भावस्थामा जटिलता भए, नभएको परीक्षण र चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

परीक्षण

पाचौँ महिनामा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ । यो समयमा स्वास्थ्य जटिलता बढी देखिने र तत्काल उपचार आवश्यक हुने हुँदा फलोअप छुटाउनुहुँदैन ।

रक्तचाप र मधुमेह : यो महिनामा मधुमेह र रक्तचाप बढ्न सक्छ । त्यसैले एक पटक चिकित्सकले परीक्षण गर्न सक्छन् ।

एनोमली स्क्यान : यो एक सोनोग्राफी परीक्षण हो । यसले बच्चाको विकास कस्तो भइरहेको छ देखाउँछ । कुनै असामान्य लक्षण छ भने पनि पत्ता लाग्छ ।

(यदि बच्चा नबाच्ने जस्तो अवस्था देखियो भने त्यो समयमा प्रेग्नेन्सी उपचार गर्नुपर्ने हुन्छ ।)

फेटल इको : यो परीक्षणबाट बच्चाको मुटुको अवस्था कस्तो छ भनेर जानकारी मिल्छ ।

डुअल मार्कर क्वाड्रुपल मार्कर : यसबाट बच्चामा जन्मजात रोग वा वंशाणुगत रोग छ भने पत्ता लगाइन्छ ।

के खाने ?

खानामा पोषणयुक्त खानेकुरा बढी राखेर तीनपटक खानुपर्छ । र, तीनपटक खाजा खानुपर्छ ।

-फलफूल, ड्राईफ्रुट्स, हरियो सागसब्जी, दाल गेडागुडी, डेरी उत्पादन, अण्डा, माछा र मासु मात्रा मिलाएर खाने ।

-पानी लगभग दिनमा दुई देखि तीन लिटरसम्म पिउनुपर्छ ।

के नखाने ?

-धुम्रपान र मदिरापानबाट टाढै रहने ।

-अत्यधिक चिया, कफीको सेवन नगर्ने ।

-नुन बढी भएको फास्ट फुड, प्याकेटको खानेकुरा नखाने ।

-काँचो मासु, नपाकेको अण्डा सेवन नगर्ने ।

चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था

निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

-टाउको दुख्नु, आँखा धमिलो हुनु र वाकवाक लाग्नु ।

-छाती दुख्नु, ज्वरो आउनु र पिसाब छिटो छिटो आउनु ।

-रक्तस्राव हुनु, चलिरहेको बच्चाको चाल अचानक चल्न छोड्नु ।

परिवारको साथ र सहयोग

हर्मोनल उत्तारचढावका कारण गर्भवती महिला अत्यधिक रिसाउने र झर्किने हुनसक्छ । कतिपय अवस्थामा त सही र गलत हो भनेर छुटाउन पनि नसक्ने हुनसक्छिन् । यस्तोमा उसलाई गाली होइन उसको भावना बुझेर सम्झाउने र सहज वातावरण सिर्जना सबै मिलेर गरिदिनुपर्छ ।

त्यस्तै, घरको हल्का कामकाज लगाउने र त्यसमा सहयोग गर्ने, थकाइ लाग्दा आराम गर्न दिने, तनावको कुरा नसुनाउने र चिकित्सकलाई भेट्न जाँदा एक्लै नपठाइकन जसको फुर्सद छ त्यही व्यक्ति जानुपर्छ । परिवारको सदस्यमा पनि श्रीमानले हरेक तवरबाट साथ, माया र हेरचाह दिनुपर्छ ।
(चिकित्सकको फलोअप कुनै पनि बेला छुटाउनु हुँदैन । किनकि, एउटा छुटेमा पनि जटिलता आएको थाहा नभई पछि समस्या हुनसक्छ ।)

ध्यान दिनुपर्ने कुरा

-देब्रे कोल्टे फर्केर सुत्नुपर्छ ।

-ढाड सिधा पारेर बस्ने ।

-निद्रा पर्याप्त पुर्‍याउने कोसिस गर्ने ।

-हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।

-हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।

-पोषिलो खानेकुरामा मात्र जोड दिने

-भारी सामान नउठाउने, झट्ट उठ्ने–बस्ने नगर्ने र बिस्तारै उठ्ने ।

-तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने ।

-कुनै पनि संकेत देखिए तुरुन्त चिकित्सको सल्लाह लिने ।

सावधानी

-भारी वस्तुहरू नउठाउने।

-पेटलाई टेकेर नसुत्ने।

-सडक अवरुद्ध भएको स्थानमा नजाने ।

-तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने।

-लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने ।