लामो समयसम्म वायु प्रदूषण रहे दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ

काठमाडौं । पछिल्लो समय आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुख्खा हुने, एलर्जी हुने, टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेको छ । वायु गुणस्तर सुचाकाङ्क (एक्युआई) निकै अस्वस्थकर विन्दुमा पुगेकोले यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठनका ९डब्लुएचओ० अनुसार पछिल्लो समय वायु प्रदूषण संसारकै सबैभन्दा ठुलो वातावरणीय स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । वायु गुणस्तर सूचकाङ्क अनुसार ० देखि ५० सम्म स्वस्थकर, ५१ देखि १०० सम्म मध्यम जोखिम, १०१ देखि १५० सम्म फोक्सोका बिरामी, ज्येष्ठ नागरिक र बालबालिकाका लागि हानिकारक र सबै समुहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थकर २०१ देखि ३०० सम्म धेरै अस्वस्थकर र सोभन्दा माथि खतराजनक मानिन्छ ।

एक्युआईका अनुसार हाल काठमाडौँको वायु प्रदूषण अस्वस्थकर रहेको छ । काठमाडौँ लगायत विभिन्न ठाउँमा बेला बेलामा वायु प्रदूषण उच्च हुने गर्छ । छातिरोग विशेषज्ञ डा। प्रकाश पौडेल लामो समयसम्म वायु प्रदूषण कायमै रहे दीर्घ स्वास्थ्य समस्या उत्पन हुने बताउनुहुन्छ ।

नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमध्ये वायु प्रदूषण प्रमुख कारक हो । वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष हुने मृत्युमा विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र ज्येष्ठ नागरिक पर्छन् । वायु प्रदूषणका कारण नेपालमा ३७ प्रतिशत मस्तिष्कघात, ३४ प्रतिशत मुटुरोग, ३४ प्रतिशत फोक्सोको क्यान्सर, २२ प्रतिशत नवजात शिशु तथा बाबालिकाको मृत्यु हुने डल्बुएचओको तथ्याङ्कमा उल्लेख छ ।

प्रदूषणले निम्त्याउने समस्या

नेपाल चिकित्सक सङ्घका महासचिव डा। सन्जिव तिवारीले प्रदूषित वायुले शारीरिक तथा मानसिक समस्या बढ्दै गएको बताउनुभयो । वायु प्रदूषणले शरीरको हरेक अङ्गलाई असर गर्न सक्छ । उहाँका अनुसार पछिल्लो सयम आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा आउने गर्छन् ।

उहाँ भन्नुहुन्छ,“वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मष्तिष्क, आँखा, नाक, कान र घाँटी लगायतका अङ्गमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोग बढ्ने जोखिम बढाउँछ ।” अस्वस्थकर वायुले गम्भीर श्वासप्रश्वास सम्बन्धी रोग, हृदय रोग र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने छातिरोग विशेषज्ञ डा। प्रकाश पौडेल बताउनुहुन्छ ।

अस्वस्थकर वायुबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोग भएका मानिस जोखिममा हुने डा। पौडेलको भनाइ छ । उहाँका अनुसार वायु प्रदूषणले शारीरिक तथा मानसिक रूपमा कमजोर शिशु जन्मने सम्भावना उच्च रहन्छ ।

छातीरोग विशेषज्ञ डा। पौडेलका अनुसार प्रदूषणले सबैभन्दा बढी फोक्सोमा असर गर्ने गर्छ । २० माइक्रोग्राम भन्दामाथि प्रदूषण भयो भने शरीरमा प्रवेश गर्न नसक्ने चिकित्सक बताउँछन् ।

धुलोको कण २० माइक्रोग्रामदेखि १० माइक्रोग्रामसम्म भयो भने श्वासनलीसम्म प्रवेश गर्ने गर्छ । पाँच देखि १० माइक्रोनसम्मको भयो भने वायुमण्डलमा रहिरह्यो भने फोक्सोको तल्लो भागमा असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । यदि वातवरणमा २ माइक्रोग्राम भन्दा साना धुलोका कण भए सिधै रक्तसञ्चारका माध्यमबाट शरीरका विभिन्न अङ्गमा जाने गर्छ ।

छालारोग विशेषज्ञका डा। सविना भट्टराईका अनुसार प्रदूषणले सबैभन्दा पहिले छालामा असर गर्छ । छाला चिलाउने, एलर्जी हुने, डाबर आउने, छाला सुख्खा हुनेजस्ता समस्या देखिने उहाँको भनाइ छ । प्रदूषण लामो समयसम्म छालाको सम्पर्कमा रहिरहेमा शरीरका अन्य अङ्गमा असर गर्छ ।

नेत्ररोग विशेषज्ञ डा। सुमित पाण्डेले वायु प्रदूषणले हुने कणले आँखामा असर गर्ने बताउनुहुन्छ । उहाँका अनुसार आँखामा धुलोका कण परेपछि आसु सुक्ने, आँखा सुख्खा हुने, पोल्ने, चिलाउने जस्ता लक्षण देखिन्छन् । उहाँ भन्नुहुन्छ, “आँखा प्रत्यक्ष हावाको सम्पर्कमा आउने गर्छ । हावामा भएको तत्व आँखामा गएर आँखा पोल्ने, एलर्जी हुने, रातो हुने, चिलाउने दुख्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।”

एक हप्ता जोखिम कायम

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव (प्रवक्ता रामबहादुर केसीले एक हप्तासम्म वायु प्रदूषणमा सुधार नहुने जानकारी दिनुभयो । सम्बन्धित निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन र सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्न उहाँको अनुरोध छ ।

प्रदूषणबाट बच्न के गर्ने

प्रदूषण बढेको बेला घरबाहिर निस्किदा सुरक्षित माक्सको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीको सुझाव छ । उहाँ भन्नुहुन्छ, “वायु प्रदूषणबाट बच्नका लागि सकेसम्म बिहान र काम नपरि नहिड्नु नै राम्रो हुन्छ । यदि हिड्नै परेमा अनिवार्य माक्स लगाउने र अत्यधिक प्रदूषित क्षेत्रमा नजाने ।”

आँखा जोगाउन घरबाहिर निस्कदा चस्मा लगाउने, मोटरसाइकलमा हिड्ने मानिसले हेलमेटको भाइजर लगाउन चिकित्सकको सुझाव छ ।

प्रदूषण हुन नदिन के गर्ने

चिकित्सक सङ्घका महासचिव डा। तिवारीले वायु प्रदूषण कम गर्न सवारी साधनको प्रयोग कम गर्न, घर सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने, निर्माण कार्य केहि समयलाई स्थगन गरी वातावरणमैत्री हुनेगरि नियमन गर्न, वातावरणमैत्री यातायात प्रयोग गर्न, फोहोर जलाउने कार्य नगर्न, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

दीर्घकालीन रूपमा समस्याको समाधान गर्न प्रदुषित धुँवा निकाल्ने गाडीलाई बन्द गर्ने, निर्माण कार्य राम्रोसँग छोपेर गर्ने, घरवरिपरी फोहोर नथुपार्ने जस्ता कार्य गर्दा प्रदूषण कम हुन सक्ने विज्ञको दाबी छ । गोरखापत्रबाट ।