अधिकारको वकालत गर्दै हिड्ने ममताको संघर्ष
कैलाली । सानैदेखि विद्रोहको झिल्को बोकेका ममता शाह गाउँघरमा हुने परम्परागत अभ्यासका कुरिति कुसंस्कार विरुद्ध अवाज उठाएकै कारण घरबार बिहिन हुनु पर्यो ।
उनी अहिले ४४ वर्षका भईन । गाउँ घर स्कुल लगायत हरेक ठाउँमा अधिकारकोलागि पैरवी गर्दै हिड्ने उनी परिवारमा मेलमिलाप हुन नसक्दा घरबाट बाहिरिएका हुन् । बाजुरामा जन्मेका शाह सानैदेखि विद्रोही स्वभावका थिईन् । उनले भनिन् ‘बुवाले भन्नु हुन्थ्यो, छोरी मान्छे पढ्नु हुन्न । तर म घरबाट भागेर पनि स्कुल गएको अनुभव छ । विद्रोह गरिगरि पढेर २५ वर्षदेखि पढाउने पेशामा ।’
उनी आफ्नो भोगाईबाट अधिकारकर्मी भएको दाबी गर्छिन् । उनको पहिलो प्रयास आफू छाउ हुँदा परिवारले छाउघरमा बस्न निर्देश गरेपनि उनी छाउ बस्न मानेनन् । २०५५ सालमा विबाह भएर बझांग आउँदा श्रीमानको घरमा छाउ नबारेकै कारण थुप्रो हिंसा सहनु पर्यो ।
उनी भन्छिन् ‘माईति हुदाँ आमा बुवाले छाउ बस भनेर खासै कर गर्न सकेनन् तर विवाहपछि धेरै संघर्ष गर्नु पर्यो ।’ उनी पहिलो बच्चा २०५६ बैशाष २६ गते जन्माईन् । जुनबेला परिवारले सुत्केरीलाई गोठमा राख्ने, दुध दही खाना नदिने, पोषिलो खाने कुरा नदिने जस्ता अनुभव बटुलेको सुनाईन् ।
शाहका अनुसार भर्खर जन्मेको बच्चालाई दुध खुवाउनलाई मात्रै छुन पाउँथे । बच्चाले दुध खाईसकेपछि हरेक पटक नुहाएर घरभित्र लग्थे । मलाई बाहिर रुखा सुख्खा खानेकुरा बाहेक केही दिदैन थिए ।
सासुले छाउँ मान्ने, छुईछाई मान्ने, बुहारी घरभित्रै बसेर घरको काम गर्ने, घरबाहिरको काम गर्ने बुहारी इज्जत नभएको मान्ने लगायतका सोचले आफूलाई परिवारिक तर्चर हिंसा, मानसिक यातना सहनु परेको उनी बताउँछिन् ।

विबाह लगत्तै शिक्षक भएर काम गर्न थालेकी शाह बच्चा जन्मेको १३औं दिनमा स्कुल पढाउन थालिन् । दोस्रो सन्तान उनले २०५७ माघ २६ गते जन्माईन् । त्यो बेलापनि उनी हेडसरले स्कुलमा शिक्षक छैनन् भन्दै १४औं दिनमा बोलाई हाले ।
जागरिको आशमा बच्चा बोकेर स्कुल जान्थे । २०६० चैत १५ गते पुनः तस्रो बच्चा जन्मयो । जुनबेला नेपाल सरकारले ६० दिन सुत्केरी विदा दिन्छ भन्ने खबर पाईसकेकाले शाहलेपनि स्कुलमा विदाको माग गरिन् । तर स्कुलले उनको विदा मागको निबेदन अस्वीकार गरिदिए ।
उनी मस्ता गाउँपालिका १ डुंग्री स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पढाउँछिन् । शाह भन्छिन् ‘विदाको निवेदन अस्वीकार भएपछि ०६१ बैशाख पहिलो साता जिल्ला शिक्षा कार्यालयमा उजुरी हाले । त्यसपछि मात्रै विदा स्वीकृत भयो ।’
श्रीमान स्कुलमै आएर पिट्ने गरथे
बझांग जिल्ला छाउपडी प्रथाले निकै ग्रसित थियो । त्यहाँका हरेक महिला छाउगोठमा बस्नुपर्थ्यो । किशोरी विद्यार्थी महिला शिक्षक महिनाको ५ दिन स्कुलको गेटभित्र छिर्दैन थिए । गाउँका धामीहरुले महिनावारी भएका महिला स्कुलको बाटो हिड्यो भने ठूलो पाप लाग्छ भन्ने अन्धविश्वास थियो । त्यो समयमा ममता शाहले विद्रोह गर्दै आफूपनि स्कुल छोडेनन् र किशोरी विद्यार्थीहरुलाई पनि स्कुल छोड्न दिएनन् ।
उनी भन्छिन् ‘शुरुमा गाउँ गाउँमा गएर किशोरी उनीहरुको अभिभावकहरुलाई सम्झाउथे, तर मेरो कुराले उनीहरुलाई रिस उठ्यो । छाउपडी प्रथा अन्त्य गर्ने वाली आयो भन्दै मेरो कुरा काट्थे ।’
उनको काममा श्रीमानलेपनि अस्वीकार गर्थे । ‘श्रीमान मलाई च्यालेन्ज दियो, कि मलाई छोड, कि आफ्नो वाकवास गफ छोड । मैले परिवर्तनकोलागि यातना सहनु भन्दा श्रीमानलाई नै त्यागे । अहिले म एक्लै छुँ । तिनै बच्चा काठमाडौं पढिरहेका छन् । आफूले सक्ने जति जिम्मेवारी निभाएको छुँ ।’
उनको श्रीमानले अधिकारको वकालत नगर भन्दै पिट्थे । श्रीमानको हिंसा सहन नसकेर कति पटक मर्ने प्रयास गरे, तर मर्न सकेन । १० वर्ष अगाडी श्रीमानले घरबाट निकाल्दा उनी दुई वर्ष आफ्नो साथीहरुसंग बसिन् । स्कुल पढाउन र अधिकारको सवालमा पैरवी गर्न छोडेनन् । त्यसपछि छुट्टै घर भाडामा लिएर बस्न थालेको शाहले बताईन् । उनको श्रीमान कोरोनाले मृत्यू भयो । अहिले उनी बझांगमा एक्लै छिन् ।
साथ र सहयोग गर्ने सहपाथी पाएको छुँ
उनले गरेको काममा काँधमा काँध मिलाउने विद्यार्थीदेखि गाउँका बुहारी समेत सहगोगकालागि सहपाथी बनेका छन् । शाह जिल्लामै अधिकारकर्मीको पहिचान बनाएका सुनाउछिन् । गाउँघरमा कसैलाई कुनै समस्या पर्यो या हिंसा भयो भने आफूलाई खोज्दै आएको देख्दा आफैमाथि गर्व लाग्ने गरेको अनुभव सुनाईन् ।
उनलाई सहयोग गर्ने धेरै महिलाहरु अहिले अभियानमा होमिएका छन् । बाटोमा हिड्दा सबैले सम्मान गर्छन् । छाउपडि प्रथा, घरेलु हिंसा, बालविबाह लगायतका घटनाहरु पहिलाको भन्दा कम हुदै गएको शाह बताउँछिन् ।
उनी आफ्नो गाउँमा घरेलु हिंसा, बालविबाह, छाउपडि अन्त्य गर्ने अभियानको बारेमा जानकारी गराई दिन प्रशिक्षककोलागि आमन्त्रीत गर्ने गरेको बताउँछिन् ।
उनको अनुभवमा हिजोका दिनमा जस्तो सुकै घटनाभएपनि महिलाहरु सहेर बस्थे, तर अहिले महिला अन्याय सहनुहुन्न अन्यायको विरुद्धमा बोल्नुपर्छ, भन्ने चतनामा पुगेको देख्दा खुशी लाग्ने गरेको बताईन् । उनी अहिले महिला मानव अधिकार रक्षक सञ्जाल बझांगका अध्यक्ष हुन् ।
उनी भन्छिन् ‘मलाई दुख विरामी आईपरे कोही अस्पताल पुर्याउछन्, कोही खानेकुरा खुवाउँछन् । चाडपर्वमा साथीहरु बोलाउँछन् । अनि लाग्छ, हिजोको संघर्षले आज खुशी भएर बाच्न पाएको छु ।’













