घोंघि र झिँगे माछाले स्थानीय महिला आत्मनिर्भर बनन्दै
कैलाली । कैलालीको भजनी नगरपालिका–८ का सोमती चौधरी आजभोलि माछा मार्ने काममा व्यस्त देखिन्छिन् । उनी वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्ने गरेकी छिन् ।
चौधरी विहानै हेल्का, डिलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर खेततर्फ जान्छिन् । फुर्सदको समयलाई सदुपयोग गर्दै उनी माछाको खोजीमा निस्किने गरेको बताउँछिन् ।
‘घरमा खासै काम हुँदैन। फुर्सदमा समय कटाउनुभन्दा माछा मारेर आफूलाई खान हुन्छ। बढी भए सुकाएर भोलिका लागि हुन्छ। त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ ।’ हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुन्छ । घरमा चारजना छौँ। दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ सोमति भन्छिन् ।
भजनीकै जीतेन्द्र चौधरीले पनि दिनमा तीन–चार केजीसम्म माछा बिक्री गरेको बताउँछन् । उनी दैनिक हजारदेखि पन्ध्र सयसम्म माछाबाटै कमाउने गरेको सुनाए ।
उनले झिँगामाछा र घोँगी बेचेर साउनमा मात्रै करिब ६५ हजार रुपैयाँ आम्दानी गरेको बताए । भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ। कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ। डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिन्छ ।
‘नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन्। त्यसमा जाल हाल्यो भने दुई–तीन केजी दिनमा भेट्टाइन्छ’, उनले भने, ‘बिक्री गर्नका लागि बजारको समस्या छैन। नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ।’
आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायका अधिकांश महिला फुर्सदको समय माछा मार्नेमा दिन बिताउँछिन् ।
ठूलो माछा रु आठ सयसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन्। उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन्। तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उनको भनाइ छ।
‘दैनिक १०–१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ। बढी भएको अन्य होटलमा पठाउँछौँ’, जीतबहादुरले भने । उनले एउटै महिलाले रु ६० देखि ७० हजारसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको बताउँछन् ।













