आदीवासी जनजातीको परम्परागत सीप, कतिको जलवायू मैत्री ?
कैलाली । रोपाई सकिए यता धानबाली भित्रियाउनु भन्दा अगाडी थारु महिलाहरु आफ्नो पुर्खौली सीपको संरक्षणमा टल्लिन हुन्छन् । उनीहरु परम्परागत सीपको उपयोग गर्दै घरायसी प्रयोजन र व्यवसायीक प्रयोजनकालागि विभिन्न सामाग्रीहरु निर्माण गर्छन् ।
कैलारी गाउँपालिका ८ दुधियाका रामकिस्नी चौधरी फुर्सदको समयमा रहेक वर्ष ८ देखि १० वटा ढकिया, नुईया (शृंगारका बस्तु राख्ने भाँडा) बुन्दै आएको बताउँछिन् । उनी कुनै कुनै वर्ष डेलुवा पनि बुनिरहेको सुनाईन् ।
पहिला पहिला थारु समुदायमा छोरीको विबाहमा यी सामग्री सगुनकै रुपमा प्रयोग हुन्थ्यो । तर पछिल्लो अवस्थामा समय परिवर्तनसंगै यस्ता सामग्रीपनि लोप हुने खतरा बढेको रामकिस्नी सुनाउछिन् ।
रामकिस्नी भन्छिन् ‘पछिल्लो पुस्तालाई यस्ता सामग्री बुन्न आउँदैन । यस्तो सामग्री बुन्नकोलागि सीप र मेहनत दुबै चाहिन्छ । तर पछिल्लो समयमा पलाष्टिकको भाँडाले गाउँमा प्रयोग हुने जैविक भाँडालाई विस्थापित गरिदिएको छ ।’
जैविकबस्तु अर्थात घाँसपातले बनेका यस्ता सामाग्री निर्माण गर्दा मेहनतको आधारमा मुल्य पाउँन मुस्किल रहेको चौधरी बताउँछिन् । उनी भन्छिन् डेलुवा बुनेरै घर खर्च जोहो गर्न सकिन्छ । तर किन्ने मान्छे एकदमै कम मात्रमा भेटिन्छन् । एउटा डेलुवा रु.७ हजारदेखि १० हजारसम्ममा बेच्न सकिन्छ ।’ “बुट्टा मसिनो हुन्छ, सजाउन धेरै समय लाग्छ” उनी भन्छिन्, “एउटा डेलुवा तयार पार्न १० देखि १५ दिन लाग्छ ।”
डेलुवा विशेषगरि छोरीको विवाहका लागि किन्न आउने र होटल लगायतमा सजावटको लागि पनि बिक्री हुने गर्दछ । कहिले काँहि गाउँघरमा विदेशी पर्यटक आएको खण्डमा उनीहरु पनि किन्ने गर्छन् ।
तालिम नै नलिई बेतबाँसको व्यवपार
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरी २०७५ मा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उद्यम शुरू गरेकी छिन् ।
उनको पारिवारिक आयस्रोत नै बेतबाँस हो । ललिताको दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको परिवार छ । लामो समयदेखि व्यावसायिक रूपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी उनी अहिले व्यवसायीकरुपले नै बेतबाँसका वभिन्न सामग्री उत्पादन गर्दै आएकी छिन् ।
बेतका सामग्री बनाउन उनले अहिलेसम्म कुनै तालिम पनि लिएकी छैनन् । उनी भन्छिन् ‘पहिला परिवारमा घरायसी कामकोलागि बेतबाँसको सामग्री बनाईन्थ्यो । त्यहि काममा सहयोग गर्दा गर्दै बनाउन सिकेकी हुँ । अहिले एक उद्यमको रुपमा चितपरिचित भएको छु ।’
व्यवसाय शुरू गर्दा आर्थिक स्थिति एकदमै कमजोर थियो । फार्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नकालागि भतिजासँग दुई हजार ५०० रुपैयाँ सापटी मगेकी थिएँ, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय शुरू गरेकी हुँ ।”
शुरूका दिनमा बेतबाट निर्मित सामग्रीलाई बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको उनी बताउँछिन् । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो स्कुलमा पढाउन उनी सक्षम भएकी छिन् ।
उनी बेतबाट ह्यांगर, फूलदानी, पिर्का, झुला सोफासेट लगायतका सामग्री बनाउने र बिक्री गर्ने गरेको बताईन् । उनको उत्पादन अहिले कैलाली, कञ्चनपुरसंगै पहाडी जिल्लामापनि विक्रिवितरण भईहेको छ ।
तलिता प्रति ह्यांगर एक हजार ५ सय, फूलदानी ४००, कुर्सी तीन हजार, पिर्का ३०० र सोफा सेट सात हजारदेखि १० हजार सम्म विक्री गर्दै आईरहेको सुनाईन् ।
बेतबाँसका विभिन्न सामग्री बेचेर उनी मासिक ७० हजार सम्मको कारोबार गर्दै आईरहेकी छिन् ।
परम्परागत ज्ञान हस्तान्तरणमा महिलाको ठूलो भुमिका
आदिवासी जनजाति समुदायको आ–आफ्नै सीप र ज्ञान हुन्छ । परम्परागत रुपमा पुर्खौँदेखि घाँस पात र बाँसजन्य सामाग्री निर्माण, भेडाको ऊनबाट निर्मित कपडा, परम्परागत औषधी निर्माणका कार्यमा पुर्खाहरु नपढेरै ज्ञान हाँसिल गर्दै आईरहेको थारु नागरिक समाजका दिलबहादुर चौधरी ।
उनका अनुसार पहिला पहिला आदिवासी महिलाहरु आफूले लगाउने लुगा समेत बुन्ने गर्थे । यस्ता ज्ञान र सीपको पुस्तान्तरण हुन नसक्नुमा राज्य स्वयमपनि जिम्मेवार छ ।
आदीबासीहरुको परम्परागत ज्ञान हरुतान्तराणमा आमा अर्थात महिलाले विशेष भुमिका खेलेको चौधरी बताउँछन् । उनले भने ‘आदीवासीहरु आफ्नो परम्परागत, जलजमिन, जंगलमा आधारित भएर दैनिक जविकोपार्जन गर्दै आईरहेका हुन्छ । माछा मार्ने, ढकिया बुन्ने, रक्सी बनाउने लगायत सीप आमाबाट सिकिरहेका छन् ।’
तर पछिल्लो अवस्थामा परम्परागत सीप र ज्ञानमा युवापुस्ताले भने खासै चासो नदिएको उनको तर्क थियो । यस्तो सीप हराउँदै छ, संरक्षणको लागि एकदुई जनाले पहल गरेर केही हुदैन । सरकारले नीतिगत रुपमा अगाडी बढे मात्र सम्भव छ ।’

घरेलु रक्सी बनाउने सीप
पुर्खादेखि नै जिविकोपार्जनको लागि डोको नाङ्लो बन्ने र खेतीकिसानी, पशुपालन र जाँडरक्सी बनाउने सीप पनि आदीबासी थारु महिलाहरुमा छ । रक्सी बनाउने कामलाई नेपाल सरकारले कानुनी मान्यता नदिएको भएपनि अधिकांश आदिवासी जनजाति समुदायको लागि यो आयआर्जनको माध्यम पनि हो । कानुनी व्यवस्था नभएको र जाँडरक्सी बिक्री बितरण गर्न बन्देज लगाएको हुँदा खुलेर काम गर्न सहज छैन ।
थारु महिला सभा कैलालीका अध्यक्ष दुर्गा कुश्मीका अनुसार सरकारको नीतिनियम र कानुनले आदिवासीको परम्परागत सीपले बनाउँदै आएका जाँडरक्सी प्रतिबन्धित छ । थारु महिलाहरुले बनाउने रक्सी विना केमिकलको हुन्छ । चामलको पीठोमा जंगलीे जडीबुटि, केराको पातको रस मिसाएर रक्सी पार्ने औषधी बनाउने प्रचलन हालसम्मपनि कायमै रहेको दुर्गा बताउँछिन् ।
दुर्गा भन्छिन् ‘सरकारले आफ्नो देश भित्रको सीप र ज्ञानलाईं पहिचान गर्न नचाहँदा विदेशी ब्राण्ड हाबी भएको हो । नेपाली ज्ञानलाई लिएर ब्राण्डको रुपमा स्थापना गर्न सके थारु महिलाहरु घरमै बसि राम्रो आम्दानी गर्न सक्षम हुन्थे ।’
दुर्गाका अनुसार थारु महिलालाई घरेलु रक्सी बनाउन अन्य कुनै तालिम वा पढाई पढ्नु पर्दैन । उनी आफनो संस्कृतिका आधारमा घरेलु रक्सी बनाउने काममा आफ्ना आमाबाट सिकेका हुन्छन् । त्यसैले व्यावसायिक प्रयोजनका लागि यस्तो रक्सी उत्पादन गर्न सरकारले नीति बनाउन जरुरी देखिन्छ ।
परम्परागत सीप र बजारको अवस्था
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी बजार हो । यो बजारको सीमानाका गौरीफन्टासंग जोडिएकोले भारतीय सामानको बिगबिगीले नेपाली उत्पादनमा ह्रसा छाएको देखिन्छ ।
धनगढी छेउछाउ अधिकांश थारु गाउँ छन् । जहाँ उनीहरुको घर घरमा पुर्खौली सीप छ । तर बजारीकरण गर्न नसक्दा ती सीप नै लोप हुने अवस्थामा पुगेको थारु कल्याणकारीणि सभा कञ्चनपुरका सभापति सानु चौधरी बताउँछिन् ।

उनी भन्छिन् ‘पुर्खौली सीपबाट निर्माण गर्ने सामाग्री समेत पाउन मुस्किल भईसकेको छ । अहिले जंगलबाट पुंन्जा र मुन्ज (ढकिया बुन्ने कच्चा पर्दाथ) पाउनै छोड्यो । कुनै कुनै जंगलमा भेटिएपनि एकदमै महंगो पर्छ ।’
सरकारले यस्ता कच्चा पर्दाथको संरक्षण गर्नुपर्छ । बृक्षारोपन गर्दा यी कच्चा पर्दाथलाई झारपात भने सरसफाई गरिदिने अन्य प्रजातीको विरुवा रोप्ने कार्यले पुंन्जा र मुन्ज समेत लोप भईरहेको सभापति सानु बताउछिन् ।
उनले भारतिय बजार सीमा गाउँ छेउमै रहेकोले सस्तोमा प्लाष्टिकका भाडा बर्तनहरु बढी प्रयोगमा आउनुले घाँस र परालबाट बनेको सामग्री विक्री गर्न सहज छैन ।
हुन त थारु गाउँमा अहिलेपनि बाँसबाट बन्ने डोको डालो, नाङ्लो र परालबाट बन्ने चट्की, बेर्री (भुँईमा बस्न बनाएको कुसन) गुन्द्री लगायतका सामाग्रीहरु बनाउने गर्दछन् । तर त्यसको सट्टामा पनि बजारमा प्लाष्टिकका सामानको चरम हस्तक्षेपले धेरैले ती सीपबाट पलाईन भईरहेको सानु बताउँछिन् ।
उनले भनिन् ‘परम्परागत सीपबाट निर्माण हुने सामग्रीमा सरकारले प्रवद्र्धन गर्न सके थारु लगायत जनजाती महिलाहरुले आफ्नो परम्परागत सीपमा निर्भर हुन्थे । यस्ता सीप लोप हुनुको सत्ता देशको आर्थिक सम्बृद्धिमा टेवा पुग्न सक्थ्यो । साथै आदीबासी जनजाती थारु महिलाहरुको संस्कार संस्कृति, भाषा, सीप ज्ञानको विकाससंगै यूवा पुस्तालाई पनि हस्तान्तरण गर्न सकिन्थ्यो ।’
उनका अनुसार अहिले देशमा बेरोजारी बढ्दै गएको र नयाँ पुस्ता वैदेशिक रोजगारीको शीलशीलामा देश छोड्ने क्रम तिब्र छ । स्थानीय पालिकाले बेँत बाँस दुनाटपरी, ढकिया बुन्ने तालिम समेत सञ्चालन गर्दै आईरहेको छ । तर उत्पादित सामग्रीको बजारीकरण गर्न नसक्दा सरकारको लगानी खेरा गएको सहजै अनुमान गर्न सकिन्छ ।
परम्परागत सीपमा जलबायूको असर
जलबायू परिवर्तनले विश्व नै प्रभावित छ । यस्तो बेला नेपाल पनि अछुतो रहन सक्दैन ।
जलबायू परिवर्तनले आदिवासी महिलाहरूको सीप तथा ज्ञानलाई प्रत्यक्षरुपले असर गरिरहेको काठमाण्डौं विश्व विद्यालय स्कुल अफ एजुकेशनका उप प्रध्यापक डा. लिना गुरु· बताउछिन् ।
उनका अनुसार जलबायू परिवर्तले आदीबासीहरुको परम्परागत ज्ञान र सीपमा धेरै नै असर पारेको छ । पहिला पहिला आदीबासीहरु आत्मनिर्भर थिए । आफूले लगाउने लुगादेखि खाने खाना सम्म सबै आफै उत्पादन गर्थे तर अहिले पुँजीबादी बजारको हस्तक्षेपले सबैलाई परनिर्भर बनाईदिएको छ ।
गुरु· भन्छिन् ‘जलबायू परिवर्तनले आदिवासी महिलाहरुको ज्ञानमा प्रत्यक्ष असर गरेको छ । बसाईसराईले गर्दा वनजंगल मासिनु, स्रोतहरु सुक्नु, उत्पादन गर्ने कच्चा प्रर्दाथ सहजरुपमा उपलब्ध नहुनु, पुँजीबादी समाज हाबी हुदै भईरहेकोले जनजातीहरुके परम्परागत सीम नै लोप भईरहेको छ ।’
उनले जलबायू परिवर्तनले परम्परागत सीपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले असर परेको देखिन्छ । जस्तै पानी पर्ने सिजनमा नपर्ने, बाढी पहिरो, सुख्खा पहिरो, लगायतले परम्परागत सीपका लागि आवश्यक कच्चा पदार्थमा ह्रास आएको बताए ।
उनका अनुसार परम्परागत सीपगर्दै आएका व्यक्तिहरूको जीवनशैलीमा बढी असर परेको देख्न सकिन्छ । पछिल्लो समयमा थारु महिला विशेषगरि कृषि, पशुपालनमा आत्मनिर्भर भएका छन् । तर जलवायू परिवर्तनले यस्ता ज्ञान, सीप र स्रोत साधानमा प्रत्यक्ष असर पारेको देखिन्छ । उनले थारु समुदायका महिलाहरुले बनाउने सामाग्री एकदमै बातावरण–मैत्री रहेको बताउँछिन् ।
आदिवासी परम्परागत ज्ञानमा प्रकृतिको संरक्षण पनि जोडिएको छ जसमा स्रोत साधन उपभोेग गरिएको भएपनि त्यसको संरक्षणको लागि परम्परागत उपाय पनि अपनाउने र चाहिले मात्रमा प्रयोग गर्ने भएकोले परम्पारगत सीप एकदमै राम्रो थियो ।













