‘भारतलाई हराउँदा आफैंलाई वाउ भनेकी थिएँ’

‘जब महिला खेलाडी राम्रो प्रदर्शन गरिरहेका हुन्छन्, परिचत हुन थाल्छन्, खेल करिअर उचाइमा पुगेको वेला वैवाहिक जीवनमा बाँधिन्छन्। विवाहपछि दोहोरो जिम्मेवारी व्यवस्थापन गर्न नसक्दा धेरै महिला खेलाडी पलायन भएका छन्।’

राष्ट्रिय भलिबल टोलीकी प्रभावशाली खेलाडी हुन्, सरस्वती चौधरी। लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलिरहेकी ‘अपोजिट हिटर’ चौधरीले सशस्त्र प्रहरीको एपीएफ क्लबबाट पनि खेल्दै आएकी छन्।

कैलालीको धनगढीकी २८ वर्षीया चौधरीले सानै उमेरमा भलिबल खेल्न शुरू गरेकी थिइन्। अग्लो कद भएकाले उनी १२ वर्षकै उमेरमा खेल क्षेत्रमा प्रवेश गरेकी थिइन्। नेपाली राष्ट्रिय टोलीको अभिन्न अंगका रूपमा रहेकी चौधरीसँग उन्नती चौधरीले गरेको कुराकानी :

१२ वर्षकै उमेरमा भलिबल खेल्न थाल्नुभयो। बाल्यकालबारे केही बताइदिनुहोस् न।

सानी छँदा छरछिमेकका अन्य बच्चाको भन्दा मेरो उचाइ फरक थियो। म अग्ली थिएँ। जसले गर्दा सबैले मेरो उचाइको मजाक उडाउँथे। त्यो वेला मलाई ‘बाँस’, ‘लम्बु’, ‘अमिताभ बच्चन’ भनेर बोलाउँथे।

सानी छँदा लजालु स्वभावकी थिएँ। झन् उचाइलाई लिएर मजाक गर्दा त अप्ठ्यारो मान्थें। शुरूशुरूमा त मलाई रिस पनि उठ्थ्यो। बिस्तारै स्विकार्दै गएँ, वास्ता गर्न छोडें।

उचाइकै कारण भलिबलमा आउनुभयो कि खेलप्रति रुचि थियो ?

सानो छँदा के बन्ने भन्ने विषयमा केही पनि सोचेकी थिइनँ। मेरो उचाइ देखेर आफन्त पर्ने प्रशिक्षक विष्णु चौधरीले भलिबल खेल्न सुझाव दिनुभयो। त्यो वेला म जम्मा १२ वर्षकी थिएँ।

विष्णु दाइले मलाई तीन-चार दिन अभ्यासका लागि भलिबल टोलीसँग पठाउनुभयो। त्यसको सातादिनमै जिल्लास्तरीय खेलमा सहभागी भएँ। खेल क्षेत्रमा आएको १५औं दिनमा त राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिएँ।

२०६४ सालमा ‘गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगिता’ का लागि छनोट भएँ। त्यो खेल्न काठमाडौं जाँदासम्म भलिबलबारे अनभिज्ञ नै थिएँ। तर टोलीमा खेलाडी संख्या पुगेन र मलाई पनि खेल्न आग्रह गरेका थिए।

त्यो वेला पनि मेरो उचाइबारे धेरैले मजाक उडाए। सबैको नजर मतिरै थियो। खेल्न नआए पनि प्रतियोगितामा सहभागी भएँ। त्यो दिन पनि मेरा उत्प्रेरक विष्णु चौधरी र बलराम क्षेत्रीले ‘तिम्रो उचाइ एकदमै राम्रो छ। तिमी राम्रोसँग खेल्न सक्छौ’ भन्दै हौसला दिनुभयो। त्यो प्रतियोगिता ठूलो सिकाइ भयो।

काठमाडौंबाट फर्केर आएपछि त्यति वेलाको पश्चिमाञ्चल विकास क्षेत्रका प्रशिक्षक बलराम क्षेत्रीले पोखराको फिस्टेल स्कूलको छात्रवृत्तिमा पढ्ने र भलिबल खेल्ने प्रस्ताव राख्नुभयो। शुरूमा त अलमलमा थिएँ। सबैले हौसला दिएपछि आमाबुबासँग अनुमति लिएर पोखरा गएँ। पोखरामै स्कूल भर्ना भएँ। अनि पढाइ र खेल सँगसँगै अघि बढाएँ।

सानै उमेरमा पोखरा जानुभयो। त्यहाँको बसाइ कस्तो रह्यो ?

गाउँ छोडेर पोखरा जाँदा साह्रै गाह्रो भएको थियो। घरपरिवार र साथीहरूको खूब याद आउँथ्यो। नेपाली बोल्न जान्दिनथें, थारू भाषा मात्रै जानेकी थिएँ। भाषाका कारण पनि साथीहरूसँग बोलचाल हुँदैनथ्यो, एकदमै कम बोल्थें। घरको धेरै याद आउँदा बाथरूममा गएर रुन्थें।

त्यति हुँदाहुँदै पनि खेल्दा गाह्रोसाह्रो बिर्सिहाल्थें। समयतालिका अनुसार चल्नुपर्थ्यो। दैनिक दुई पटक बिहान र साँझ अभ्यास गर्नुपर्थ्यो। दिउँसो स्कूल हुन्थ्यो। व्यस्त भएकाले पनि घरको धेरै याद गर्ने समय पनि पाउँदिनथें।

अनि पढाइलाई कसरी सँगसँगै लग्नुभयो ?

खेलसँगै पढाइको पनि तालिका बनाएकी थिएँ। तर स्कूलमा हरेक दिन दुइटा विषय छोड्नुपर्थ्यो, खेल अभ्यासका लागि। पढाइभन्दा खेलमा बढी समय बित्न थाल्यो।

त्यसैले पढाइ सोचे जस्तो राम्रो भएन। कक्षामा राम्रो अंक ल्याउन सकिनँ। तैपनि खेलसँगै पढाइलाई डोर्‍याएँ। यसमा कुनै पछुतो छैन। खेलमा राम्रो गर्न सकेकी छु। पढाइ पनि रोकिएन, अहिले स्नातकोत्तर तहमा पढ्दै छु।

भलिबल खेल्न थालेको झन्डै दुई दशक पुग्न लाग्यो। थुप्रै प्रतियोगितामा भाग लिनुभयो, राम्रो प्रदर्शन गर्दै आउनुभएको छ। तपाईंलाई चाहिं स्मरणीय कुन लाग्छ ?

मेरो खेलयात्रामा २०७० सालमा पहिलो पटक भारतसँग खेल्ने अवसर मिलेको थियो। त्यही वेलादेखि सधैं हार बेहोर्दै आयौं। धेरै पटकको खेलमा जित्दाजित्दै पनि चुक्यौं।

धेरै पटक ‘भारतसँग जित्नुपर्छ’ भन्ने लक्ष्य राखेर मैदानमा उत्रिएकी थिएँ। गत साउनमा भएको ‘काभा वुमन्स नेशन्स लिग’ मा पनि भारतलाई जित्ने सपना बोकेर सहभागी भएकी थिएँ। हाम्रो टोलीको सपना नै भारतलाई हराउने थियो।

लिग चरणमा भारतलाई ३-२ को सेटले हरायौं। ११ वर्षको अन्तरालमा पहिलो पटक भारतलाई हराउन सफल भयौं। त्यो वेला एकदमै खुशी भएका थियौं। हाम्रो जितले सिंगो देश नै खुशी हुँदा आफैंलाई ‘वाउ’ भनेकी थिएँ।

भलिबलमा मात्रै होइन, फूटबल, क्रिकेट र अन्य खेलमा पनि महिला टोलीले राम्रो प्रदर्शन गरिरहेका छन्, खेलमा सुधार ल्याएका छन्। महिला खेलाडीको अवस्था चाहिं कस्तो छ ?

नेपाली समाजमा अहिले पनि अभिभावकले आफ्ना बच्चालाई खेल क्षेत्रबाट टाढा राख्न खोज्छन्। तैपनि महिला खेलाडीको सहभागिता उत्साहपूर्ण छ। व्यक्तिगत र समूहगत रूपमा राम्रो प्रदर्शन गरिरहेका छन्। खेलमा भएको सुधारले खेलाडीको जीवनस्तरमा पनि सुधार आइरहेकै छ। राम्रो हुँदै गएको छ।

तर जब महिला खेलाडी राम्रो प्रदर्शन गरिरहेका हुन्छन्, परिचत हुन थाल्छन्, खेल करिअर उचाइमा पुगेको वेला वैवाहिक जीवनमा बाँधिन्छन्। त्यसपछि भने धेरै महिला खेलाडी पलायन भएको देखेकी छु। करिअर नै सकिएको छ। विवाहपछि दोहोरो जिम्मेवारी व्यवस्थापन गर्न गाह्रो हुन्छ। जसले गर्दा राम्रा राम्रा महिला खेलाडी पलायन भएका छन्। यसमा भने सबैले ध्यान दिनुपर्छ जस्तो लाग्छ।

नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ ?

खेल क्षेत्रमा पनि भविष्य छ, मिहिनेत चाहिं गर्नुपर्छ। खेलमा मिहिनेत र लगनशीलता चाहिन्छ। खेलमा आफ्नो भविष्य बनाउन चाहनेहरूले समयतालिका बनाएर आफ्नो दैनिक जीवनलाई अघि बढाउनुपर्छ।

भलिबल खेल्न थालेको धेरै समय भयो। अब धेरै समय त उमेरले पनि खेल्न नसकिएला। त्यसपछि के गर्ने विचार छ ?

मेरो पढाइ पनि सकिंदै छ। त्यससँगै भविष्यमा आफूलाई राम्रो प्रशिक्षकका रूपमा स्थापित गर्ने सोच बनाएकी छु। त्यसैका लागि दैनिक अभ्यासमा पनि गर्दै आएकी छु। राम्रो प्रशिक्षक भएर खेलाडी उत्पादनमा लाग्ने योजना बनाएकी छु। हिमालखबरबाट ।