बालेन र रेखा शर्माको उजुरबाजुरको चपेटामा कालिचरण

काठमाडौंका मेयर बालेन र एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माको उजुरबाजुरको चपेटामा परेका तुलसीपुरका कालिचरण चौधरीलाई सञ्चार माध्यमसँग कुराकानी गर्न पनि दिइएको छैन।

तुलसीपुरको वीरेन्द्रचोकबाट ७०० मिटर पूर्व लागेपछि बरुवा गाउँ आउँछ। बरुवा गाउँबाट दक्षिणतिर मोडिँदा ज्ञानज्योति पब्लिक स्कूल भेटिन्छ। स्कूल छेउमै छ, थारू समुदायको सानो बस्ती।

यही बस्तीभित्र पहिल्याउनुपर्ने थियो, मिस्त्री कालिचरण चौधरीको घर। कल्भर्टको साँघु तरेपछि एउटा घरको गेट ढकढक्याएँ। कोही निस्किएनन्। यसो धकेल्दा थाहा भयो, गेट त खुल्लै रहेछ।

आँगनमा झार उम्रिएको थियो। तीन कोठे एकतले घर जीर्णसरह देखिन्थ्यो, बनाउँदाबनाउँदै छोडेको जस्तो। आँगनमा उभिएर हेर्दा एक जना तन्नेरी घरभित्र सुतिरहेका देखिए। निकैबेर ढोका ढक्ढकाएपछि मुश्किलले उठे।

“तपाईं कालिचरण होरु,” थारू भाषामै सोधें।

“होइन, किन?” उनले प्रश्न गरे।

“यो मिस्त्री कालिचरणको घर भनेर देखाइदिएका थिए त, मान्छेहरूले,” मैले भनें।

त्यसपछि मात्रै उनले आफू कालिचरण नै भएको खुलाए। अनि, बाहिर निस्किए। घर वरिपरि दुई पटक घुमेर नियाले।

“भित्र जाउँ,” कोही नभएको यकीन गरेपछि उनले भने।

यी उनै कालिचरण चौधरी हुन्, जो नेकपा ९एमाले० लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० बीचको उजुरबाजुरमा जोडिएका छन्। उनले काठमाडौं महानगर विरुद्ध आफ्नी छोरी अपहरण गरेको मुद्दा समेत हालेका थिए।

एमालेकी लुम्बिनी प्रदेश सांसद शर्माको घरबाट काठमाडौं महानगरले कालिचरणकी छोरी १४ वर्षीया बालिकालाई गत जेठ १४ गते उद्धार गरेको थियो। सांसद शर्माले बालिकालाई कुटपिट गरेको, यातना दिएको भन्दै खबर पाएपछि उद्धार गरेर आफ्नो संरक्षणमा राखेको महाानगरकछ।

त्यससँगै महानगरले बालबालिका सम्बन्धी कसूरमा सांसद शर्मा विरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो। प्रहरीमा जाहेरी परे लगत्तै असार ३१ गते शर्माले आफूलाई प्रहरीले धरपकड गर्न सक्ने भन्दै उच्च अदालत, पाटनमा निषेधाज्ञाको रिट हालेकी थिइन्। जसमा काठमाडौं प्रहरी परिसरसँगै काठमाडौं महानगरपालिका, मेयर बालेन र उपमेयर सुनिता डंगोललाई पनि विपक्षी बनाइएको थियो। रिट परेको भोलिपल्ट न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले शर्मालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

तर, साउन २३ गते मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले ‘दाबी नपुग्ने’ भन्दै रिट खारेज गरेको थियो। उच्च अदालतको फैसलाले सांसद शर्मालाई पक्राउ गर्ने बाटो खोलिदिएको थियो। त्यसपछि पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको भन्दै मेयर साहले फेसबूकमा स्टाटस् लेखेका थिए।

सरकारको दबाबमा अनुसन्धान अघि नबढेको भन्दै मेयर साहले भदौ १६ गते फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर टिप्पणी गरेका थिए। सांसद शर्मालाई प्रक्राउ नगरिएकोमा गुनासो गर्दै उनले प्रश्न गरेका थिए, ‘कहिले समाउनेरु किन नसमाउनेरु’

प्रधानमन्त्री ओलीले यसमा प्रतिक्रिया नदिए पनि एमाले कार्यकर्ता भने सामाजिक सञ्जालमा मेयर साह विरूद्ध प्रतिवादमा उत्रिएका थिए। उनका समर्थकले पनि फेसबूकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाए।

महानगरले बालिकालाई आफ्नो संरक्षणमा राखेपछि कालिचरणले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए। न्यायाधीशहरू सपना प्रधान मल्ल, नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एकातिर प्राकृतिक आमाबाबु हुँदाहुँदै अन्य व्यक्ति वा संस्थालाई कानूनी संरक्षण मान्न नमिल्ने व्याख्यासहित बालिकालाई आमाबाबुको जिम्मा लगाउन आदेश दियो भने अर्कातिर बालिकाले काठमाडौंमै बसेर पढ्ने इच्छा देखाएकाले आमाबुवासँगको समझदारीमा व्यवस्था मिलाउन महानगरका नाममा परमादेश जारी गर्‍यो।

गत असार २८ गते जारी भएको परमादेशपछि आमाबुवाले महानगरकै जिम्मा छोड्न चाहेको निवेदन दिए। त्यसपछि अहिले बालिका महानगरकै संरक्षणमा छिन्।

मेयर साहका समर्थक सांसद शर्माकै दबाब र योजनमा बालिकाका बुवाले सर्वोच्चमा रिट दिएको आरोप लगाउँदै आएका छन्। प्रायः बालिका सम्बन्धी कसूरमा प्रभावशाली व्यक्तिले परिवारलाई नै ‘होस्टायल’ बनाउने गरेका छन्। यसमा पनि त्यसै आशंका गरिएको हो।

मेयर साह र एमालेका कार्यकर्ता आमनेसामने भइरहँदा कालिचरणको अवस्था र विचार बुझ्न हामी उनको घरमै पुगेका थियौं।

उनी बल्लतल्ल बोल्न राजी भए। एकछिन अघि कालिचरण जहाँ सुतेका थिए, त्यहीँ भुइँमा बसेर कुराकानी थाल्यौं। उनको बोली त्रसित सुनिन्थ्यो। “दुई छोरा र तीन छोरी छन्,” ३५ वर्षीय कालिचरणले सुरूमै भने, “छोराछोरी सहित सात जनाको परिवार मजदूरी गरेर पाल्दै आएको छु।”

उनको जग्गाजमीन थोरै रहेछ। त्यो जग्गामीनले खाना पुग्दैन। परिवार पाल्न दुवै जना दम्पत्ति नै मजदूरी गर्दै आएका छन्।

एउटी छोरीलाई भने काठमाडौंमा पढ्ने इच्छा अनुसार सांसद शर्माको घरमा राखेर पढाएको उनले सुनाए। शर्माको घर तुलसीपुरमै हो। “नौ वर्षको उमेरमा उहाँ ९रेखा शर्मा० को घरमा पठायौं,” कालिचरणले भने, “त्यहाँ गएपछि कक्षा २ मा भर्ना भई, अहिले कक्षा ७ मा पढ्दै थिई।”

स्कूल पढिरहेकी छोरीलाई महानगरले लगेकोमा गुनासो गरे। यद्यपि छोरी कुन स्कूलमा पढ्थिइन भन्ने समेत थाहा नभएको उनको भनाइ थियो।

कुराकानी थालेको केही समयमै चार जना आइपुगे,, दुई पुरूष र दुई महिला। उनीहरू देखिने कालिचरण चुपचाप भए।

“यहाँ को आको छरु,” एक महिला बाहिरबाटै चर्को स्वरमा बोलिन्, “अनुमतिविना अर्काको घरमा पस्ने को हो?”

उनीहरू भित्रै पुगेपछि मैले आफ्नो परिचय दिन खोजें। तर, उनीहरूले मेरो कुरा सुन्न चाहेनन्। आफै बोल्न थाले।

“तपाई यहाँबाट निस्किुनुहुन्छ कि प्रहरी बोलाइदिउँरु,” उनले फेरि औला उठाउँदै भनिन्।

“तपाई चाहिँ को हुनुहुन्छरु,” आफ्नो परिचय दिँदै सोधें।

“मेरो परिचय किन चाहियोरु म कालिचरणको बहिनी हो,” उनी क्रोधित हुँदै बोलिन्, “तपाई यहाँबाट गइहाल्नुस्, तपाइलाई कसले यो घरमा आउन अनुमति दियो ?”

कालिचरणलाई भेट्न आउनुको उद्देश्य बताएँ। बालिकाको उद्धार र विवादको प्रसंग निकालेँ। उनीहरूले सुन्नै चाहेनन्।

“हामी चिन्दैनौ, हामीसँग कुनै कुरा गर्नुपर्दैन,” उनले भनिन्, “जे गर्नु छ उतै काठमाडौंतिर गर्नु।”

त्यसपछि उनी फोनमा कुरा गर्दै अलि पर गइन्। उनले ‘कालिचरणको घरमा कोही मानिस आएर कुरा गरिरहेको छ’ भनेर फोनमा सुनाइन्। उताबाट के जवाफ आएछ। फोन राखेपछि झन चर्को स्वरमा कराउन थालिन्।

“राम्रो मनले भनिरहेछु, यहाँबाट जानुहुन्छ कि मैले केही गर्नुपर्‍योरु” उनले चेतावनी दिइन्।

त्यसपछि उनीसँगै रहेका अर्का युवक पनि बोल्न थाले। “जे जे गर्नु छ, काठमाडौंमा बुझ्नुस्। निस्किने कि, निकाल्नुपर्‍योरु,” उनी ठाडठाडै बोले।

उनीहरूलाई कुराकानी गर्न सम्झाउने कोसिस गरेँ। तर, सुन्नै खोजेनन्।

यो सबै हुँदा कालिचरण निकै तनावमा देखिएका थिए। केही बोलेनन्। एकहोरो सुनिरहे।

उनीहरूले कालिचरणलाई घरको पछाडिको ढोकाबाट बाहिरतिर लगे। त्यसपछि म पनि अगाडिको ढोकाबाट निस्किएँ।

त्यतिञ्जेल गाउँका अन्य मानिस पनि भेला भइसकेका थिए। अरु चर्को नबोलेपनि होहल्ला भइसकेको थियो। कोही मेरो कुरा सुन्ने पक्षमा थिएनन्। त्यहाँबाट फर्किने निश्कर्षमा पुगेँ।

निस्किन लाग्दा फोटो खिच्न खोजेँ। तर मोबाइल निकाल्ने वितिक्कै कराए। उनीहरूले ‘फोटो नखिच’ भने। फोटो खिचेमा जे पनि हुने चेतावनी दिए।

त्यसपछि म पनि कालिचरणको आँगनबाट निस्किएँ। तर ती चार जना निकै परसम्म मसँगै आए।

कालिचरण तनावमा पनि देखिन्थे, त्यो स्वभाविक पनि हो। काठमाडौं सांसदको घरमा पढ्न पठाएकी छोरीलाई महानगरले लगेको छ। सर्वोच्चमा रिट हाल्दा पनि छोरीलाई घर लिन पाएका छैनन्। जसको विरुद्ध मुद्दा हालेका थिए उसैलाई छोरीको रेखदेख र पढाइको व्यवस्था गर्न भनेर मन्जुरी दिएका छन्।

छरछिमेकी र नातेदारले छोरीलाई के कस्तो छ भनेर सोधपुछ गरिराख्छन्। श्रीमती र छोराछोरीले पनि अब के हुने हो भनेर सोध्ने गरेका छन्। अधिकारकर्मी र सञ्चारकर्मीको फोन पनि आइराख्छ। तर खुलेर कुरा गर्न सकेका छैनन्।

भदौ २६ गते कुराकानीका क्रममा दाङको बबइ गाउँपालिकास्थित हंसपुरमा मिस्त्री काम गर्दै आएको कालिचरणले सुनाएका थिए। त्यो दिन उनी काममा नगएर घरमै बसेका थिए। त्रसित मुद्रामा देखिएका थिए। कालिचरणले आफ्नै घरको पछाडिको ढोकाबाट निस्किँदा भने न केही बोल्न सके न त फर्केर हेरे।

त्यसपछि पनि चार दिन उनीसँग कुराकानी गर्ने प्रयास गरेका थियौं। दोस्रो दिन उनको मोबाइल नम्बरमा फोन लागेको थियो, तर उठाएनन्। तेस्रो दिनदेखि भने उनको मोबाइलमा सम्पर्क पनि हुन सकेको छैन। हिमालखबरबाट ।