अट्वारी मनाउनु भयो ?

अट्वारी पर्व सकिएको छ । के तपाईहरूले अट्वारी पर्व मनाउनु भयो ?

यो सामुहिक प्रश्न दाङदेखि पश्चिम सम्मका थारूहरुलाई सोधियो भने मेरो उत्तर हुन्छ-

‘मैले त मनाए । तपाईहरुले नि?’

तपाईहरुको उत्तर तपाईहरु सँगै रहोस् । कुनै दिन सुनौला । अहिलेलाई अट्वारी पर्व सँग जोडिएर रहेका मेरो अनुभवलाई मात्र यहाँ लेख्न खोजेको छु ।

पहिलो प्रसंग

यहि भाद्र २१ देखि २३ गते सम्म लगातार तीन दिन स्कुल बिदा रहेको कुरा छोरोले सुनायो । मैले के को बिदा भनेर सोधें ।

‘२१ गते – तीज’

‘२२ गते – शनिवार’

‘२३ गते – आइतवारी’

उसले बिदाको वेली विस्तार लगायो ।

मैले उसलाई फेरी सोधें ।

‘आईतवारी कि अट्वारी?’

उ अलमलमा पर्यो ।

उ मात्र होईन, अहिले हुर्किदै गरेका नयाँ पिढीका धेरै बच्चाहरु यो प्रश्न गर्दा अलमलमा पर्छन ।

अट्वारी शब्दलाई आईतवारी  भन्नेमा दोषी को ?

मेरो अनुभवमा पहिलो दोषी नेपाली भाषाको प्रभाव हो जस्तो लाग्छ । माघ पर्वलाई माघी मनाए झैं आईतवार पर्ने  पर्वलाई आईतवारी भन्नु थारू भाषामाथि नेपाली भाषाको प्रहार हो ।

दोस्रो कारण पढेलेखेका थारु परिवार हो । हामी अधिकांश पढेलेखेका भनिएका थारूहरु आफ्नो बच्चालाई नेपाली भाषा सिकाउँछौं । शहरीया भनिएका थारूहरु आफ्ना सन्तानलाई थारू भाषा कम नेपाली भाषा धेरै सिकाउँछन् । अधिकांस ठाउँमा समुदाय थारू हुन्छ, भाषा भने नेपाली हुन्छ । अनि हुर्किदै गरेका हाम्रा सन्तानले हाम्रा मौलिक शब्द ‘अट्वारी’ कसरी जानुन ।

दोस्रो प्रसंग

३ वर्ष पहिले अट्वारी पर्व मनाई रहँदा छोरालाई सोधेको थिए –

‘अट्वारी कसरी मनाईन्छ? ‘

कक्षा ६ मा पढ्ने छोराले भनेको थियो –

‘ल्होसार पर्वको बारेमा पढेको छु ।’

‘छठ पर्वको वारेमा पनि पढेको छु ।’

‘अट्वारी पर्वको वारेमा अहिले सम्म पढेको छैन ।’

‘त्यसैले कसरी मनाउँछन् थाहा छैन ।’

उसको जवाफले म अवाक भएको थिए । थारूको छोरो भएर थारू समुदायको पर्वमा उ अनभिज्ञ थियो । यसमा दोषी को ?

मेरो अनुभवमा मेरो छोरोलाई अट्वारी कसरी मनाउनु पर्छ भन्ने कुरो थाहा नहुनुमा म आफै दोषी थिए । एउटा पुरानो भनाई छ –

कि पढेर जानिन्छ ।

कि परेर जानिन्छ ।

न त उसले अहिले सम्म अट्वारी पर्वको वारेमा कुनै पाठ्यपुस्तकमा पढेको थियो ।

न त अहिले सम्म उसले अट्वारी पर्व मनाएको थियो । उसको लागि यो पर्व पहिलो थियो ।

यसलाई मैले जेनेरेसन ग्याप भन्न रुचाउँछु।आफ्नो सन्तानलाई आफ्नो रितिरीवाज, सस्कृति र परम्परा हस्तान्तरण गर्न नसक्नु मेरा केहि कारणहरु थिए ।

मेरो छोरो काठमाडौं जन्मियो, हुर्कियो । सिमित कोठाको परिधी र दुई चार जना चिनेका आफन्तहरु बिच मैले दशैं मनाए । तिहार मनाए । कहिलेकाही माघ पनि मनाए । काठमाडौको बसाई हुँदा सम्म अट्वारी कहिल्यै मनाएन । यसको कारण जागिरको सिलसिलामा गाउँ छोड्नु पर्यो । गाउँ छुटेपछि आफन्तहरु छुटे । दाजुभाई दिदीबहिनी गाउँमै छुटे । बिवाहित दिदीबहिनहरु गाउँमै छुटेपछि काठमाडौमा एक्लै अट्वारी पर्व मनाउनु अधुरो जस्तै भयो। काठमाडौंमा ब्रत बसेर दोस्रो दिन दिदीबहिनहरुलाई धनगढीमा ‘अग्रासन’ पुर्याउन सम्भव थिएन ।त्यसपछि गाउँ छदा सानै देखि मनाउँदै आएको अट्वारी काठमाडौमा मनाउन छोडे । करीब १५ वर्ष काठमाडौको बसाई पछि २०७८ सालदेखि आफ्नै जन्मथलो धनगढी आई पुगेको छु । त्यसपछि आफन्त र दिदीबहिनीहरु बिच आफ्न सस्कृतिलाई निरन्तरता दिन खोजि रहेको छु । यहि क्रममा माथिको प्रश्न छोरालाई सोधेको थिए । पछिल्लो ३ वर्ष देखि हामी अट्वारी निरन्तर मनाउँदै आईरहेका छौं । नयाँ पुस्ताको छोराले पनि यस पर्वको महत्व बुझ्दै गएको छ । ब्रतको अघिल्लो दिन उसले भन्छ –

‘भिन्सरीयामा मासु भात खाउँ न ।’

तेस्रो प्रसंग

तीज नजिकिदै थियो । शुक्रवार कार्यालयमा तीजको दरखाने सानो कार्यक्रम राखियो । अनौपचारिक कार्यक्रममा गैर थारू महिला सहकर्मीले फ्याट्ट सोधि हाल्नुभो –

‘तीजमा केटीहरु राम्रो केटा पाउँ भनेर ब्रत बसेझैं आईतवारीमा केटाहरु राम्रो केटी पाउँ भनेर ब्रत बस्छन, हो सर?’

एकछिन म वाल्लै परे । हिन्दु महिलाहरुको तीज र थारू पुरूषहरुको ब्रत भिन्ना भिन्नै हो मैले यति भने । माथिको प्रसंग तीज र अट्वारी सँगसँगै एकपछि अर्को आउने भएर होला, उहाँले यस्तो   प्रश्न गर्न भएको । तीजको तिथि कहिले पर्छ मलाई थाहा भएन । तर कृष्ण जन्माष्टमीको पछिको दोस्रो आईतवारलाई हामी अट्वारी पर्व मनाउँछौं ।

माथिको प्रसंगले तीज र अट्वारी एक अर्कासँग जोडिएका पर्व हुन् कि भन्ने भाष्य हुन्छ । हुन पनि तीजमा महिला ब्रत बस्छन् । अट्वारीमा पुरुषहरु ब्रत बस्छन् । ब्रतालुहरु विपरित लिङ्गी भए जस्तै यस पर्वको आस्था पनि फरक फरक छ ।तर यी दुई पर्व बीच एक आपसमा गोरू बेचेको साईनो पनि छैन ।

अट्वारीमा महाभारतका बलवान पात्र भीम ‘भ्यावाँ’ को पुजा हुन्छ भन्ने कुरा गैर थारू समुदायमा कहिले सन्देश जाला । दिदीबहिनीहरुसँग दाजुभाईहरुको आत्मियता जोड्ने पर्व अट्वारी हो भनेर अरू समुदायले कहिले बुझ्ने होला ?

अन्तमा अट्वारी पर्व मनाउने महानुभावहरुमा धेरै धेरै शुभकामना । प्रदेश सरकारले अट्वारी पर्वको नाममा बिदा दिएरपनि यो पर्व नमनाउने महानुभावहरुलाई आगामी वर्ष मनाउनु होला भन्ने शुभकामना ।