सापति फिर्ता नआउँदाको पीडा : आफ्नै पैसा माग्न हात जोड्नुपर्ने !

स्कुल पढ्दा कक्षा कोठामा शिक्षकले धेरै पटक भन्ने गरेको शब्द अहिलेपनि आँखा अगाडी झल्झली आउँछ । शिक्षकले भन्ने गर्थे ‘साथीहरुलाई आपत्ति परेको खण्डमा सहयोग गर्नु नै असल मित्र हो । सुखमा त सबैले साथ दिन्छन्, तर दुःख अप्थ्यारो परेको बेला साथ दिनु नै महान हो ।’ आजभोली यी वाक्य बक्वास लाग्न थालेछ । किन की अहिलेका साथीहरुलाई असल साथी चाहिदैन । इमान्दार साथी चाहिदैन । सहयोगी साथी पनि चाहिदैन । त्यसैले त आफ्नो मिल्ने साथीहरुलाई सा साना कुरामा पनि दुरुक्क रुलाउँने गर्दछन् । धोका दिन्छन् र असहयोग गर्छन् । त्यति मात्रै कहाँ हो र, सहयोगमा लिएका पैसा होस् वा वचन । फिर्ता गर्न आँट पनि गर्दैनन् । अहिलेका साथीहरु यति स्वार्थी भईसकेछन् कि सुख वा दुखमा साथ दिने र सहयोग गर्न चाहेका साथीको आत्म दुखेको पनि कुनै मतलब हुदैन ।

केही दिन अगाडी बाटोमा एक अन्जान व्यक्ति केर्नी न्यूजको अफिस अगाडी भेट भयो । उसंग रिक्सा चढ्नलाई पनि पैसा थिएन । तर कामको शिलशिलामा काठमाडौं जानलाई उ हिडिसकेको थियो । उसले आफ्ना मिल्ने केही साथीहरुलाई ५ लाख रुपैयाँ सापति दिएको रहेछ । जतिबेला उ संग पैसा थियो, त्यति बेला उसले आफ्नो साथीको समस्या मजाले सुल्झाइयो । उसलाई व्याजपनि चाहिएको छैन बस आफूले साथीलाई दिएको पैसा जस्ताको त्यस्तै फिर्ता आओस् भन्ने हो ।

उ एकदमै दुखी, निराश र थकित देखिन्थ्यो, अनुहार एकदमै मलिन पारेको थियो । मानौ उसका दिमाग अन्तै डगुरिरहेको थियो । त्यसको बाबजुट पनि उसले म संग आफ्नो पीडा साट्न भ्यायो । थोरै समयको लागि भएपनि उसले मलाई साथी मान्यो । र विश्वास गरेर आफ्नो कुरा सेयर गर्यो । ‘मेरो साथीलाई समस्या पर्दा आँखा चिम्लेर सहयोग गरेकी हुँ । अब मलाई समस्या पर्दा आफ्नै पैसाको लागि हात मुख जोड्नु परेको छ ।’ सायद यति भनेर उसको मन हलुको भएको होला । त्यसैले त उसले मलाई आफ्नो मनको भाव सुनायो ।

उसले थप्दै भन्यो, जतिबेला मसंग पैसा थियो, त्यतिबेला मेरा साथीहरुले म बाट पैसा लिएर आफ्ना समस्या तारे । उनीहरुले बुझ्नु पर्ने हो, समस्या पर्दा कति तनाव हुन्छ । मैले जसरी उनीहरुको तनावलाई समाधान गरे, त्यसैगरि उनीहरुपनि मेरो समस्या बुझ्नुपर्छ । मैले सोचेको थिए, आफूलाई तनाव हुँदा समाधान गरिदिने साथीलाईपनि आफू जस्तै तनाब भएको होला भनि महशुस गर्छन् होला । तर अँह, यहाँ त ठिक उल्टो छ । जिन्दगी आज छ र भोली छैन भन्ने पनि त होईन । घुमिफिरि के थहाँ फेरी उसैको दैलोमा पो हात फैलाउन आउनु पर्ने हो कि ! यी यावत कुरा सबैले बुझ्नु पर्छ ।

यति कुरा गर्दै गर्दा उसले मसंग लिप्ट पनि माग्यो । स्कुटर पछाडी बसालेर उसलाई बसपार्क छोड्नुपर्ने । बाटोमा कुनै एक पसलबाट पनि पैसा लिनु थियो । त्यो पसलेले पैसा दिएपछि मात्रै उ काठमाडौंको लागि बस चढ्ने कुरा गर्यो । मैले त्यो अन्जान व्यक्तिलाई आफ्नो स्कुटिको पछाडि बसालेर बजार तर्फ लागे । उसले अर्को साथीलाई पनि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको रहेछ । उसले पैसा सापटी दिएका दुबै व्यक्ति व्यापारी हुन् । तर जसले पैसा दिएको थियो त्यो व्यक्ति भने बेरोजगार । उ बैदेशिक रोजगारमा जान तयार भएका थिए । तर केही कारणबस उ बिदेश उड्न पाएन । त्यसैको लागि जम्मा पारेको पैसा आफ्नो साथीहरुलाई सापटी दिएर सहयोग गरेको थियो । ऋणमा लिएको पैसा उसले आफै खर्च गर्न पाएन । तर व्याज भने नियमित तिर्नु परेको छ ।

त्यो अन्जान व्यक्तिको पीडा सुन्दा मलाई मेरै साथीहरुबाट पाएको दुख सम्झे । उ पुरुष थियो, म महिला । फरक त्यति मात्रै हो । तर पैसा जोहो गर्नलाई मेहनत सायद दुबैको अ आफ्नो ठाँउमा कम थिएन होला । मैले मेरो मेहनत सम्झे ! अक्षरको खेतिबाट फलाएको मानो सम्झे । पाँच सय रुपैयाँ कमाउँनलाई म जस्ता श्रमजीवि पत्रकारले आँखाको परेलाबाट पसिना झार्नुपर्ने कथा सम्झे । त्यो रुपैयाँ बचतगरि क्यामरा किन्ने सपनामा एक कप चिया समेत नखाएको दिन सम्झे । कयौं पटक एक कप चियापनि दुई जनाले बाँडेर खाएको सम्झना आँखा वरिपरि तिल्मिलायो । जतिबेला आफुुसंग पैसा नहुँदा १० रुपैयाँको कच्ची मिठाई र पानी खाएर हप्ता दिन गुजारेको परिस्थितिलाई सम्झे ।

यति भन्दै गर्दा म कसैलाई सहयोग गर्दैन भन्ने पनि होईन् । मसंग जे जति सक्छु अहिले सम्म धेरैलाई सहयोग गरेको अनुभव छ । कसैलाई धेरै होला त कसैलाई थोरै । कसैलाई पैसाको सहयोग होला त कसैलाई बचनको ।

मैले मेरो क्षमता अनुसार साथीहरुलाई सहयोग गरेको अनुभव ति अन्जान व्यक्तिको पीडासंग मेल खायो । मपनि कोही व्यक्तिबाट आफूले सापती दिएको पैसा माग्न भिखारी झै हात्त फैलाउनु परेको पीडा सम्झे । पटक पटक पैसा फिर्ता गरिदेउ भनेर मागिरहेको कल डिटेलस् हेरे । तर अँह, पैसा चलाउने व्यक्तिलाई कुनै मतलब छैन । मैले उसको छोरीको भविष्य नविग्रयोस् भनि कलेज भर्ना गर्नलाई सहयोग गरेको हुँ । जब कि मेरो पनि जीवनमा एक पटक राम्रो क्यामरा किन्ने सपना थियो । त्यहि सपना सकार गर्नलाई पल पलको मेहनत जमा गरेर सुरक्षित राखेको पैसा त्यसको छोरीको भविष्य कोर्नालाई सहयोग गरेकी हुँ । तर उसले सम्झिनु पर्थ्यो, मैले मेरो आफ्नो इच्छा मारेर उसको समस्या सामाधान गरेको छु भने उसलेपनि मलाई अप्थ्यारो परेको बेला पैसा फिर्ता गर्नु पर्थ्यो । तर उसले मानवता देखाउन भुल गर्दैछ ।

म अरु बेला उ संग पैसाको कुरा गर्दैन । जब मलाई ठूलो समस्या आई लाग्छ । जति बेला म एक रुपैयाँको लागि पनि तड्पिनु पर्ने अवस्था हुन्छ । त्यहिबेला मात्रै उसलाई फोन गर्छु, र भन्छु । पिलिज साथी तपाईसंग जति छ त्यति पैसा पठाई दिनु न । म उसलाई कति कति बेला पैसा फिर्ता गर भने फोन गरेको रेकर्ड राखेको छुँ । उसले मलाई ५÷६ महिनामा पैसा फिर्ता गर्छु भनेर मागेको थियो । तर पैसा दिएको एक वर्षपछि मेरो घरमा आन्टी विरामी पर्नु भयो । आन्टीलाई एक हप्ता आइसीयुमा राखेर उपचार गरायौं। नीजि अस्पतालमा भर्ना गरेको कारण उपचारमा निकै ठूलो रकम खर्च भयो । त्यतिबेला मैले त्यहि साथीसंग मलाई गाह्रो भयो पैसा बनाई दिनु भने । जति सक्छौ त्यति पठाई देउ भनेर निकै अनुरोध गरे । मान्छेलाई बचाउन सकेनौं, तर उसले मलाई एक रुपैयाँ पनि पठाएन । हामीसंग पैसा नभएको कारण लाश बुझ्नलाई समेत अप्थ्यारो अवस्था सृजना भएको थियो त्यो बेला । यो समस्या मैले उसलाई सुनाए, तर उसले मानवता देखाएन । अन्तिममा मैले अर्कै साथीसंग सापति मागेर अस्पतालबाट लाश बुझे ।

त्यसपछि मेरो भाईको विवाह भयो । त्यो बेलापनि मैले उसंग पैसा मागे तर एक रुपैयाँपनि दिएन् । सहकारीबाट चर्को व्याजमा ऋण लिएर बिवाह सम्पन्न गर्यो । त्यसपछि म आफै विरामी परे । मलाई लाखौं रुपैया खर्च गरेर उपचार गराउनु पर्यो तर यो बेलापनि उसले मेरो अनुरोधलाई नकार्दै गयो । उसलाई पैसा दिएको बर्षौ दिन वितिसक्यो तर उ एकदमै अन्जान छ । मानौ मैले उसको पैसा माग्दैछु जस्तो व्यवहार गर्छ । साच्चिकै उसकोमा अलिकतिपनि मानवता भईदिएको भए सायद यतिको दुख दिदैन थियो होला जस्तो लाग्छ ।

समस्या सबैलाई हुन्छ, त्यो कुरा म मजाले बुझ्छु । तर आफूले कसैबाट सहयोग लिईसकेको पैसा वा वचन फिर्ता गर्नु सबैको कर्तव्य हो । किन कि त्यो सम्पत्ति जोहो गर्न मेहनत, माया, त्याग र तपस्या जोडिएको हुन्छ । म मात्रै होईन, कोहीपनि व्यक्ति आफूले अरुलाई दिएको पैसाको माया मार्न सक्दिैनन् । त्यसैले कृपया आफूले लिएको सापति पैसा इमान्दारीताका साथ फिर्ता गरि सम्बन्धलाई प्रगाड बनाउनु । जिन्दगी लामो छ । हिड्ने बाटोपनि एउटै हो । घुमिफिरि कुनै बेला पक्कैपनि भेट हुन्छ नै । त्यसैले यो लेखबाट सबैलाई मेरो अनुरोध, कृपया मेहनतको कदर गरौं ।