टिस्युकल्चर प्रविधिबाट उत्पादित बेर्नाले किसानलाई दोब्बर फाईदा

कैलाली । केराको हबका रुमा चिनिने कैलालीको टीकापुरमा अहिले किसानहरु टिस्युकल्चर प्रविधिबाट उत्पादित बेर्नाले दोब्बर फाईदा कमाईरहेका छन् ।

अत्याधुनिक ल्याबमा झन्डै एक वर्षसम्म हुर्किएको रोग प्रतिरोधी क्षमता बढी भएका टिस्युकल्चर केराका बेर्ना लगाउन थालेपछि केराको फलमा उल्लेख्य वृद्धि भएको किसानहरु बताउँछन् ।

टीकापुर– ५ नुक्लीपुरका किसान हेमराज घर्तीमगरका अनुसार केराको सकर (बोटको जराबाट निकालिने बेर्ना) बेर्नाबाट लगाएको बोटभन्दा टिस्युकल्चर बेर्नाको बोटबाट बढी उत्पादन बढी हुन्छ, त्यसैले पछिल्लो समयमा हामी टिस्युकल्चर बेर्नातर्फ आकर्षित भएका हौं ।

उनी पाँच वर्षदेखि केरा खेती गर्दै आईरहेका छन् । सकर बेर्नाबाट उत्पादन कम हुन थालेपछि टिस्युकल्चर बिरुवा रोपेको उनी सुनाए । टिस्यूकल्चरबाट एक साथ ८० प्रतिशत बोटमा फल लाग्यो र उत्पादनपनि दोब्बर भएपछि थप तीन बिघा विस्तार गरि अहिले ६ विघामा केरा खेती गर्दै आईरहेको हेमराज बताउँछन् ।

उनी भन्छन् ‘सुरुमा सकर बिरुवा नै रोपेको हुँ, एउटै समयमा उत्पादन नहुने, रोग लाग्ने, किरा धेरै लाग्ने र उत्पादनसमेत कम हुन थालेपछि सकर हटाएर टिस्युकल्चर बेर्ना लगाइरहेको छु ।’ सकरबाट एउटा घारीमा १२ देखि १५ दर्जनसम्म केरा फल्थ्यो भने टिस्युकल्चर बेर्नाबाट २२ देखि २८ दर्जनसम्म फल्ने गरेको उनले बताए । अहिले उनी प्राय किसानहरुलाई टिस्युकल्चर बेर्ना रोप्न सुझाव दिने गरेको बताए ।

उनी ६ विघामा १२ हजार बोट रोपेका छन् । जुन बोटबाट वार्षिक वार्षिक ४० देखि ४२ लाखको कारोबार हुने गरेको बताउँछन् । अहिले उनीसंग नियमित ४ जना कर्मचारी छन् । मल जल गर्दा र केरा टिप्नुपर्दा आवश्यकता अनुसार थप कर्मचारी ज्यालादारीमा राख्ने गरेका छन् ।

उनी भन्छन् ‘मेहनत गर्यो भने हाम्रै नेपालमा पनि सुन फल्छ । अन्त्यै जानु पर्दैन । थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ । बजार खोज्ने, लगानी गर्को ठाउँमा समय दिनुको साथै इमान्दारीता र धेर्यता चाहि राख्नुपर्छ ।’ उनी विगत ६ वषैदेखि केरा खेती गर्दै आईरहेका छन् ।

टीकापुरकै अर्का किसान दीपकबहादुर रावलले सकर बिरुवाबाट उत्पादनमा सन्तुष्ट नभएपछि सकर बेर्ना हटाएर टिस्युकल्चर प्रविधिबाट उत्पादित बेर्ना लगाएको बतउँछन् । ‘सकर बोट समान रूपले हुर्किंदैनन्, बेर्ना रोप्दा नै कुनै सानो कुनै ठूलो हुन्छ, कोही चाँडो फल्छ, कोही ढिलो,’ किसान रावलले भने ।

थोरै क्षेत्रफलमा केराखेती गरिरहेका रावलले भने ‘टिस्युकल्च बेर्ना लगाएपछि आफ्नै बारीबाट एकै समयमा गाडी भरेर बजार पठाउन सफल भए । सबै बोटमा एउटै समयमा केरा फल्छ । एक बोटमा २२ देखि २८ दर्जन सम्मा फल्न थालेपछि अहिले केही वर्षदेखि टिस्युकल्चर नै लगाइरहेका छौं।’

सकरबाट लगाइएका केराको फल फरकफरक समयमा लाग्छ । बिक्री गर्न समेत समस्या हुन्छ । स्वस्थ केराको बिरुवाबाट निकालिएको कोष (सेल) लाई टिस्युकल्चर ल्याबमा झन्डै ९ महिना हुर्काएपछि थप तीन महिना नर्सरीमा हुर्काइन्छ । यसरी हुर्काइएका बिरुवामा रोग प्रतिरोधी क्षमता बढी हुन्छ । बिरुवाको उत्पादन क्षमतासमेत बढी हुँदा किसानकोलागि टिस्युकल्चर बिरुवा राम्रो मानिने गरेको रावल बताउँछन् ।

केरा उत्पादनमा किसानका लागि टिस्युकल्चर बेर्ना टीकापुरमै उपलब्ध भइरहेको छ । २०७४ सालदेखि टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले शुभम एग्रो फर्ममार्फत हाइटेक नर्सरीमा टिस्युकल्चर केराको बेर्ना उत्पादन गर्दै आइरहेका छन् । उनी नर्सरीमा एएफआरसी नवलपरासीबाट ल्याइएको जिनाइन जातको टिस्युकल्चर बेर्ना हुर्किरहेको बताउँछन् ।

धामीले टिस्युकल्चर बेर्ना प्रति बोट ४० रुपैयाँका दरले किसानको बारीसम्मै पु¥याइदिन्छन् । ‘अत्याधुनिक ल्याबमा उपचारसँगै हुर्किएको र रोग प्रतिरोधी क्षमता बढी भएको तथा सबै रोगको परीक्षण गरेर उक्त बेर्ना किसानको बारी पुर्याउने गरेको धामी बताउँछन् ।

उनका अनुसार टिस्युकल्चर बेर्नामा एकैनासको उत्पादन हुन्छ, साइज एउटै हुन्छ, फल पोटिलो हुने, रोगको संक्रमण कम लाग्ने हुन्छ । जुन कारण किसानहरुलाई बिरुवा हुर्काउनमा खर्च र मेहनत कम लाग्छ । सकर बिरुवाको तुलनामा टिस्युकल्चर बेर्नाबाट केरा उत्पादन स्वतः दोब्बर वृद्धि हुन्छ ।

बिउ अभावका कारण अपेक्षाअनुसार केराखेती फस्टाउन नसकेपछि धामीले पहिलो पटक २०७४ सालमा भारतको गुजरात राज्यस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर बेर्ना ल्याएर नर्सरीमा हुर्काएका थिए। त्यसयता उनले हरेक वर्ष कैलाली, कञ्चनपुर, दाङ, बाँके, सुर्खेत र केही पहाडी जिल्लामा समेत बेर्ना बिक्री गर्दै आइरहेको बताउँछन् ।