तराईबाट हिमाल उक्लिंदा

पश्चिम तराईबाट हुइँकिंदा पश्चिमी पहाड जस्तै दुर्गम, उराठ र कष्टकर कल्पना गरेको मुस्ताङ क्षेत्र, जोमसोम पुगेपछि भने असाध्यै सुन्दर र रोमाञ्चक लाग्यो।

पश्चिम तराईको उखरमाउलो गर्मी। साँझबिहान पनि खलखली पसिना। केही दिन भए पनि गर्मी छल्न पहाड उक्लिने योजना बन्यो। रोजाइमा पर्‍यो, मुस्ताङ।

नयाँ वर्षलाई मुस्ताङमा स्वागत गर्ने गरी चैत अन्तिम साता सुदूरपश्चिमबाट पूर्वतिर हानियौं। मनमा अनेक थरी जिज्ञासा र कौतूहल थिए, हिमालपारिको जिल्लालाई लिएर। नहोस् पनि किन, पहिलो पटक हिमालपारि जाँदै थिएँ।

दशदिने यात्राको पहिलो गन्तव्य भयो, पोखरा। फेवा तालमाथि डुंगा शयर गर्नु त थियो नै, पाराग्लाइडिङ पनि सूचीमा थियो। पोखरा नपुग्दै सहकर्मी दुर्गा राना मगरले पाराग्लाइडिङको टिकट ‘बूकिङ’ गरिसकेकी रहिछन्।

धनगढीबाट निस्केका हामी राति २ बजे पोखरा पुग्यौं। तैपनि थकाइ लागेको थिएन। पाराग्लाइडिङको उत्सुकताले रोमाञ्चित बनाइरहेको थियो। मनमा प्रश्न उठिरहेको थियो( आकाशमा उड्न पाउँदा कस्तो होलारु चरा जस्तै आकाशबाट पोखराको अनुहार हेर्न लोभिएँ।

अर्को दिन सराङकोटको डाँडाबाट पाराग्लाइड पाइलटसँगै उडें। पाइलटसँग भलाकुसारी गर्दै आकाशमा उड्दा पोखरा लगायत आसपासको क्षेत्रलाई तुँवालोले छोपेको थियो।

सुनेकी थिएँ, पोखरा त असाध्यै सुन्दर छ रे। हावा, पानी, मौसम पनि गजब छ। आकाशबाट झन् मनमोहक देखिन्छ। तर आकाशमा २० मिनेट उड्दा पनि केही देख्न पाइनँ। सपना सबै तुवाँलोमा छोपियो।

पाइलटलाई सोधें, “फेवा ताल खोइ?”

उनको जवाफ थियो, “प्रदूषणले केही पनि देखिएन। तुवाँलोले पूरै पोखरा ढाकेको छ।”

अर्को प्रश्न गरें, “सधैं यस्तै हुन्छ त पोखरा?”

“होइन। यस वर्ष जंगलमा आगो धेरै लागेको छ। पानी पनि परेको छैन। त्यही भएर पोखरा देखिएन,” उनको जवाफ थियो, “जब मौसम सफा हुन्छ, त्यो वेला पोखरा सुन्दर देखिन्छ, बेग्लै हुन्छ। पोखरा बजार, फेवा ताल वरिपरिको क्षेत्र र हिमाल मनमोहक देखिन्छन्।”

कुराकानी गर्दागर्दै आकाशबाट भुइँमा ओर्लिएको पत्तै भएन। मनमनै सोचें- यस पटकको तुवाँलोले छेक्यो, अर्को पटक फेरि उड्नेछु।

पोखराबाट उकालो लाग्यौं। उसो त पोखरा पुग्दासम्म पनि पहाडका थुप्रै घुम्ती पार गरिसकेका थियौं। पोखराबाट मुस्ताङतिर लाग्दा भने हिमाली यात्राबारे खुल्दुली थियो, नयाँ ठाउँ हेर्ने उत्सुकता बढ्दै गयो।

oplus_2

सोचेकी थिएँ- मुस्ताङको बाटो त खराबै होला। तर उचाइ चढ्दै गर्दा मेरो अनुमान गलत सावित भयो। पर्वत पुग्दै गर्दा बाटो देखेर जिल्ल परें। सुदूरपश्चिमको तराई होस् या पहाड, साँघुरो सडक, खाल्डाखुल्डी, धूलैधूलोसँग अभ्यस्त भएकै थिएँ। यहाँ भने फरक थियो, कैयौं गुणा राम्रो बाटो अनि सुरक्षित पनि महसूस भयो।

सुदूरपश्चिमी पहाडको भन्दा फराकिलो र चिल्लो सडक, बजार पनि उस्तै चिटिक्क। आखिर विकास पूर्वाधारले मान्छेको दैनिकीलाई सहज बनाउने त हो। सुदूरका सडक भने डरलाग्दा छन्, पहाडी बाटो त अझ गाडीको झ्यालको सीटबाटै हेर्नै नसकिनेछन्।

सुदूरपश्चिम र गण्डकीलाई दाँज्दै रमाइलो र सुन्दर पहाडी बाटोमा हुइँकिंदै मुस्ताङ पुगेको पत्तै भएन। राति १२ बजे पुग्दा पनि थकान महसूस भएको थिएन, हिमालको हावाले ताजगी दिइरहेको थियो।

सिरानमै हिमाल

अर्को बिहान अलि ढिलै निद्रा खुल्यो। घडीले ७ बजाइसकेको थियो। झ्यालको पर्दा खोल्दा चिसो हावा भित्र छिर्‍यो। सिरसिर हावाले शरीरै चिसो बनायो।

ओहो१ सेतो हिमाल टल्किरहेको थियो। मनै प्रफुल्ल भयो। एकटकले हिमाल हेरिरहें। धेरै बेर हेर्दा पनि मन भरिएन।

जुरुक्क उठेर होटलको छतमा गएँ। झन् आँखै अगाडि हिमाल देखियो। यो त हिजो रातभर मेरो सिरानमै रहेछ।

यति नजिकबाट पहिलो पटक हिमाल देखेकी थिएँ, हिमालको सुन्दरतासँग रमाउन पाएकी थिएँ, हिउँ छोएर आउने हावाको स्पर्श गर्न पाएकी थिएँ।

मुस्ताङको काखमा रहेको मुक्तिनाथ भ्रमणका लागि बर्सेनि लाखौं स्वदेशी तथा विदेशी आगन्तुक आइपुग्छन्। धार्मिक मात्रै होइन, हिमाली क्षेत्रमा रमाउने पर्यटक पनि मुक्तिनाथ पुग्छन्। समुद्री सतहबाट तीन हजार ७१० मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र पनि हो।

संसारकै प्रसिद्ध पदमार्ग अन्नपूर्ण सर्किट यही क्षेत्रमै पर्छ। त्यसैले पनि पदयात्रीको रोजाइमा पनि पर्छ, मुक्तिनाथ क्षेत्र। खासगरी मुक्तिनाथ क्षेत्रको पदयात्राका लागि म्याग्दीको तातोपानीबाटै हिंड्ने गरिन्छ। कतिपय भने तातोपानीमा नुहाउन पनि यस क्षेत्रको भ्रमण गर्छन्।

मुक्तिनाथको दर्शन गर्ने धार्मिक पर्यटक कागबेनी पनि पुग्नुपर्छ भन्ने मान्यता छ। कालीगण्डकी किनारमा रहेको कागबेनीमा पितृको श्राद्ध गर्ने प्रचलन छ।

मुक्तिनाथ मन्दिर परिसरमै रहेका १०८ धारा यहाँको अर्को आकर्षण हो। यी धारामा नुहाएमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ। त्यसैले धाराबाट बग्ने चिसो पानीमा पनि स्नान गर्नेहरू उत्तिकै रमाइरहेका थिए।

घोडा चढेर मुक्तिथानको दर्शन गर्न जाने र फर्किनेको लाम थियो। त्यो देखेर घोडा चढ्ने रहर लाग्यो। घोडा चढेको ४०० रुपैयाँ लाग्दो रहेछ। १० मिनेटमै मुक्तिनाथको मन्दिर छेउमै पुगिंदो रहेछ, तूफानले त्यस्तै गर्‍यो।

मलाई मुक्तिनाथ मन्दिरछेउ पुर्‍याउने घोडाको नाम रहेछ, तूफान। घोडा चढ्दा डर त लागेको थियो, तर तूफानले आरामसँग पुर्‍यायो।

कतै हरियाली थिएन। सेताम्य हिमाल, बीउ छर्न ठिक्क पारे जस्ता डाँडाकाँडा र भीरपाखा। बस्तुभाउले के खाँदा हुन्१

“तूफानलाई के खुवाउनुहुन्छ?”

घोडा चलाउने दाइ फ्याट्ट बोले, “दाना खुवाउँछौं। मैले भन्दा महँगो खाना खान्छ, घोडाले।”

घोडाबाट मन्दिर प्रवेशद्वारमै ओर्लिएँ। केही सिंढी चढेर मन्दिरमा पुगें। पाँच मिनेट जतिको हिडाइँ।

घोडाबाट ओर्लिएर आठ-दश सिंढी माथि उक्लिएकी के थिएँ, श्वासप्रश्वास बढ्न थाल्यो। थकान महसूस भयो, उक्लिन गाह्रो हुन थाल्यो। एकछिन थकाइ मारेर फेरि सिंढी चढें। मुश्किलले मन्दिरसम्म पुगें।

मन्दिर प्रवेश गर्नेको लाम थियो। पूजा गर्ने पालो आउन झन्डै एक घण्टा कुर्नुपर्ने रहेछ। मलाई भने उकुसमुकुस हुन थाल्यो। सास फेर्नै गाह्रो भयो। छटपटी हुन थाल्यो। साथीहरू ढाडस दिंदै थिए, ‘केही हुँदैन, एकैछिन नआत्तिनू।’

त्यहाँ टिक्नै नसकिएला जस्तो भएपछि सबैलाई छोडेर हतार हतार तल झरें। सानो बगैंचा भएको ठाउँमा एकछिन आराम गरें। बल्ल सास आए जस्तो भयो। सास रोकिंदा कस्तो गाह्रो हुँदो रहेछ भन्ने पहिलो पटक महसूस गरें।

शुरूआतमा त अलमलमा परें, मलाई के भएको होरु पछि थाहा भयो, उचाइ लागेको रहेछ। उसै पनि मुक्तिनाथ क्षेत्रमा अक्सिजनको मात्रा कम हुन्छ, झन् म त तराईबाट उक्लिएकी मान्छे।

मुक्तिनाथ क्षेत्र पुग्ने म जस्ता थुप्रैलाई समस्या हुँदो रहेछ। अक्सिजनको कमी र उचाइले लेक लाग्दो रहेछ। तर तत्काल उपचारको व्यवस्था नहुँदा समस्या पर्दो रहेछ, जुन मलाई आइपर्‍यो। मसँगै गएका अर्का व्यक्तिलाई पनि लेक लाग्यो।

त्यसपछि भने मुक्तिनाथबाट तल झर्‍यौं। जोमसोम बजार आइपुगेपछि सन्तोषको सास फेरियो। मुस्ताङ यात्रा छोट्याएर पोखरा झर्‍यौं।

फर्किंदै गर्दा उही हिमालको दृश्य आँखामा झलझली आउन थाल्यो। तराईमा जन्मेहुर्केकी मान्छेलाई सिरानमै हिमाल राखेर सुत्दा त सपना जस्तै लाग्दो रहेछ। मलाई त्यही सपनाले बाटोभरि पछ्याइरह्यो। हिमालखबरबाट ।