विपदले ल्यायो खेति प्रणालीमा परिवर्तन

कैलाली । कैलालीको टीकापुर, भजनी र जोशीपुर डुबानको जोखिम क्षेत्र मानिन्छ । बर्सेनि प्राकृतिक प्रकोपबाट डुबानमा पर्दै आएको सो क्षेत्रका किसना भोकमरीको समस्या झेल्नुपर्ने परिस्थिति सृजना भएको थियो । तर अहिले उनीहरु खेती प्रणाली नै परिवर्तन गरेका छन् ।

विशेषगरि टीकापुर र भजनी नगरपालिकाको डुबान क्षेत्रमा खेती प्रणाली बद्लिएको हो । दशक अघिसम्म चैत र वैशाख महिनाको गर्मीमा प्रायः खेतहरु बाँझो रहने फाँटहरुमा अहिले हरियाली छाएको छ । यतिबेला यस क्षेत्रका किसानहरु चैते धान खेती र मकै खेतिले पुरै फाँट नै हरियाली बनाएका छन् ।

प्राकृतिक प्रकोपले सधैं विनाश मात्रै गर्दैन । अवसरको सिर्जना पनि गर्छ भन्ने उदाहरण टीकापुर र भजनी नगरपालिकाका किसानहरुको खेतले प्रष्टयाउछ ।

भजनी नगरपालिका भएर बग्ने मोहना नदी, पथरैया, काँढा र कान्द्रा लगायतका साना ठूला नदीहरूले बाढीको उच्च जोखिममा रहेको वडा नम्बर ३ र ८ का अधिकांश किसान चैते धान लगाएका छन् ।

भजनी नगरपालिका –८ का कृष्ण चौधरीले वर्षौदेखि वर्षेबाली भित्रियाउन पाएका छैनन् । वर्षायाममा लगातारको डुबानले चैते खेतीतर्फ आकर्षित भएको बताउँछन् । उनी विगत ११ वर्षदेखि चैते धान खेती गर्दै आएको बताए ।

‘बाउबाजेले परम्परागत खेती गर्थे । तर हरेक वर्ष डुवानले सखाप पार्थ्यो । अहिले हामी तीन विघामा चैते धान रोपिरहेका छौं । हामी ८ जनाको परिवारलाई वर्षभरि खाना पुग्छ ।’ उनका अनुसार दुई चार वर्ष यता हाम्रो वडाभरि नै चैते धान खेती लगाउने किसानहरु बढ्दै गइरहेका छन्, हामीले खेती प्रणाली नै परिवर्तन गरेका हों ।’

किसानहरूले बाढीबाट बर्सेनि प्रभावित हुन थालेपछि खेती प्रणाली नै बद्लिएको बताउछन् । वर्षायाम बाढी आएर यहाँ जमिन सागर जस्तै देखिन्छ । पानी भरिएको कारण सबै खेत बाँझो हुन्छ । यहाँका किसानहरु धान बाहेक तोरी र गहुँ भने रोप्दै आएका छन् । उक्त बाली फागुन महिनामा भित्रियाउँछन् । त्यसपछि चैते धान रोप्ने गर्दछन् चौधरीले भने ।

यस क्षेत्रका किसानहरु जमिनमुनिको पानीले सिँचाइ गरि खेतबारी हरियो बनाएको भजनी वडा नं. ३ का पवित्रा चौधरी बताउँछन् । उनका अनुसार फागुन अन्तिममा लगाएको धान असार महिनामा भित्र्याउछन् । चैते धानमा मेहनत धेरै रहेको उनी बताउँछन् ।

उनी छ वर्षदेखि चैते धानखेती गर्दै आइरहेका बताईन् । ९ जनाको संयुक्त परिवारमा कृषि नै मुख्य आय श्रोत रहेको उनले बताईन् । उनी आफ्नो आफ्नो तीन विघा र अरु ठेक्का र अधियाँ गरी जम्मा दश विघामा चैते धान रोपेको बताईन् । पवित्राले भनिन् ‘वर्षामा लगाउने हो भने बाढीले लगानी समेत उठ्दैन, गहुँ लगाउँदा जंगली जनावरले खाइदिन्छ, त्यही भएर चैते धान खेति गरेका हौं ।

बाढीका कारण वर्षे धानबालीमा बर्सेनि क्षति पुग्छ । त्यसैले वैकल्पिक खेतीका रुपमा चैते धान खेती गरिरहेको उनी बताईन् । अहिले स्थानीय सरकार र प्रदेश सरकारले चैते धान खेतीमा अनुदान समेत दिईरहेको छ ।

भजनी नगरपालिका वडा नम्बर ८ का किसान प्रमोद सुनारले सिँचाइ, मलखाद, बिउमा पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न थालेपछि आकर्षण बढेको बताउँछन् ‘पानीका लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले नपाइने समस्या हुन्थ्यो’ सुनारले भने ‘सबै ठाउँमा विद्युत पनि पुगेको छ, सिँचाइका लागि मोटर, मलखाद र बिउमा ज्ञान केन्द्रले सहयोग गरेपछि यहाँका अधिकांश किसान चैते धान खेती गर्न थालेका हुन् ।

भजनी नगरपालिकाका कृषि अधिकृत सुशोधन अधिकारीले यस पालिकाका वडा नम्बर ३, ६ र ८ गरि लगभग १ हजार हेक्टर जमिनमा चैते धान खेती भएको छ । ‘डुबान क्षेत्र भएकाले पनि चैते धान खेती गर्ने किसान बढिरहेका छन् ।’

उनले प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना र सुदूरपश्चिम प्रदेशको कृषि ज्ञान केन्द्रले चैते धान खेती प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याएको छ । माटो परिक्षण, खाद बीउ र प्राविधिक सहयोग भईरहेको उनले बताए ।

भजनी नगरपालिकामा मात्रै ११ हजार हेक्टर कृषियोग्य जमिन छ । पालिकाका अनुसार वर्षायाममा ३ हजार जमिन डुबानको कारण बाँझो हुन्छ ।

पालिकाका नगर प्रमुख केबल चौधरीले वडा नम्बर ३ र ८ लाई चैते धान खेती जोनकै रुपमा खेती विस्तार गर्ने योजना ल्याएका छौं । चैते धान खेती विस्तारका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युतीय पोल र तार विस्तारका लागि २ करोडको सम्झौता प्रक्रिया अगाडी बढाइएको उनले बताए ।

‘बाढी प्रभावित क्षेत्रमा पर्याप्त मात्रामा चैते धान खेती विस्तार गर्न सरकारले सिँचाइ सुविधा पु¥याउन सके किसानलाई ठूलो राहत हुन्छ । यहि उदेश्यले हामी विद्युत प्राधिकरणसँग सम्झौता प्रक्रिया अगाडि बढाएका हौं ।’

कृषि ज्ञान केन्द्र कैलालीले बाढीबाट डुबानको जोखिममा परेका भजनी नगरपालिका लगायत टीकापुर, घोडाघोडी, जानकी, जोशीपुर, बर्दगोरिया र कैलारी गाउँपालिकामा चैते धान खेतीकोलागि कार्यक्रम सञ्चालन गरेको छ । सिँचाइको सुविधा भएका किसानहरूले तोरी निकालेपछि लगाउने चैते धान खेती अतिरिक्त आम्दानीको श्रोत बनेको कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरी बताउँछन् । बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको बताए ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कैलालीमा १ हजार १ सय हेक्टर जमिनमा चैते धान खेती भएको छ । ५ हजार ७ सय २० मेटिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ ।
चैते धानबाट चिउरा उत्पादनका लागि राम्रो मानिन्छ । त्यसैले बिक्री वितरणकोलागि पनि कुनै समस्या देखिन्दैन ।