छोरी
छरपष्ट थिए,
अफिसको टेबलमा कागजहरु
कलम फालिएको थियो,
कही कुनामा
महिना बितेको महिनौ भएको थियो,
क्यालेण्डरको पत्र
नफेरिएको महिनौ भएको थियो
पुरानो समयमा बाँचेको थियो,
क्यालेण्डर
असरल्ल अखबारहरुले
पढिरहेका थिए, अफिस
घडीको एउटा सुई माथि अर्को सुई
लमतन्न सुतेको थियो,
सुई ओढेर सुतेको थियो, अर्को सुई
सुईहरु हिड्न छोडेपछि
बन्द भएको थियो, समय
ब्याट्री फेर्न बिर्सिएपछि
समय दिन बिर्सिएको थियो,
घडी
सुकेका पातहरुले ढाक्दैथिए
गमलामा पलाएका नयाँ पालुवा
मरभूमिमा तिर्खाएका ऊट झै
थिए, गमलाहरु
वर्षौदेखि नफेरेका मैलो कछाँड झै
थिए
धुलोले ढाकिएका कितावका ¥याकहरु
आफ्नो ठाउँमा कोही थिएन,
केही थिएन, आफ्नो ठाउँमा
कागज, गमला, किताव, क्यालेण्डर, अखवार
सुई, घडी र समय
अफिस भित्र पसेकी छोरी
केही समयपछि बाहिर निस्किईन
उनी निस्किदा
कागज, गमला, किताव, क्यालेण्डर, अखवार
सुई, घडी र समय
सबै आफ्नो ठाउँमा थिए
मुर्झाएका गमलाका काकाकुल फूलहरु
पानी पाएपछि फर्किदै थिए, आफ्नै रंगमा
चल्न थालेको घडीले
समय बताईरहेको थियो
क्यालेण्डर भन्दै थियो, शुरु भयो वर्षा ऋतु
कलम, कागज, अखवार
थिए, आ–आफ्नो ठाउँमा
छोरा बिजी थियो, ट्यावमा
छोरीले बनाएर ल्याईन
मिठो कफि
र भनिन, बाबा अफिस कस्तो लाग्यो रु
(मेरो छोरीसंगै ती तमाम छोरीहरुमा समर्पित छ, यो कविता । जसले बाआमाको जिन्दगीलाई सुन्दर, व्यवस्थित र खुशी बनाएका छन् ।)













