चिया बेचेर करोडपति बने रामबाबु

कैलाली । एका बिहानै चियाको भाँडोसंग मुस्कुराउँदै रामबाबु यादबले ग्राहकहरुलाई आफूतिर केन्द्रीत गर्छन् । चियाको गिलास समातेर ग्राहकहरुलाई नमास्कार गर्दै चिया खान उत्साहित बनाउँछन् उनी । यो दृष्य हो, दिपायल बाजर स्थित जानकी डेरी एण्ड मिष्ठान भण्डारको ।

रामबाबु ९ वर्षको उमेरमा दिपायल छिरेका हुन् । उनी आफ्नो काकासंग जनकपुरदेखि दिपायल आएको बताउँछन् । यहाँ आउदा उनी आफ्नो काकाकै चियापसलमा चिया पकाउन सिकेका थिए ।

उनी भन्छन् ‘समय र परिस्थितिले मलाई सानै उमेरदेखि संघर्ष गर्न सिकयो । अहिलेपनि म २० घण्टा काम गर्छु ।’ उनी काकाको चियापसलबाट सिकेको सिपले आफै चिया व्यवसायी बनेको बताउँछन् ।

उनलाई चिया पसल खोलेको ३२ वर्ष भयो । शुरुवाटमा उनी कच्ची घरमा चिया पकाउनलाई एउटा भट्टि खोले । दिपायलको बिच बजारमा खोलेको चिया पसल दिनप्रतिदिन राम्रो चल्लन थालेपछि उनी डेरीसंगै मिठाईको परिकारपनि बनाउन थालेको बताउँछन् ।

उनलाई डोटीमै रमाउन थालेको लगभग ३६ वर्ष भईसकेको छ । शुन्यूबाट संघर्ष गरेर उनी अहिले करोडपतिरुपमा चिनिन थाले ।

उनी विगत सम्झिदै भने, ‘जुनबेला डोटीमा राजधानी थियो, त्यो बेला यहाँको बजार निक्कै चम्केको थियो । म दैनिक एक सय लिटर भन्दा बढी दुधको चिया बेच्ने गर्थे । त्यतिेला पसलमा चिया मात्रै पाउँथ्यो ।’

अहिले उनी विहान ४ बजेदेखि राती ११ बजेसम्म आफै खटिन्छन् । बजारको माग अनुसार चियासंगै बेकरीका परिकारहरुपनि बनाउन थालेपछि व्यपार राम्रो भएको उनी बताउँछन् ।
कुनैबेला दिपायल सेति अञ्चलको राजधानी थियो । जुन कारण यहाँ लोकसेवा दिने प्रशिक्षार्थीहरुको घुईचो लाग्थ्यो । बजार सानो भएपनि पसलमा निकै भिडभाड हुन्थ्यो । रामबाबु सम्झे ।

उनको अनुभवमा सुदूरपश्चिमको राजधानी कैलालीमा सरेदेखि दिपायलको बजारमा ओरालो लाग्न थाल्यो । त्यस लगत्तै कोरोना कहरले डोटीमा पनि आर्थिकरुपले ठूलो असर परेको हो । ।
डोटी बजारको धेरै व्यपारीहरु व्यवसायीबाट पलायन भईसकेको बताउँदै उनले भने ‘म डोटीमा आफ्नो पहिचान बनाएको छुँ । कोभिड भन्दा पहिले दैनिक एक लाख रुपैयाँको कारोबार गर्थे भने, अहिले ८० देखि ९० हजार सम्मको कारोबार हुन्छ । मेरो व्यपारमा पनि पहिलाको भन्दा ओरोलो लागेको छ ।’

रामबबु अहिले दैनिक ५ सय लिटर दुध खपत गर्ने गर्दछन् । उनी दैनिक ९० देखि एक सय लिटर दुधको चिया मात्रै बेच्छन् । बाँकी दुधको पनिर, दहि र मिठाईका परिकारहरु बनाएर बिक्री गर्ने गरेको बताउँछन् ।

दैनिक सय कप चिया निशुल्क

रामबाबुको चिया पसल दिपायलको बसपार्क छेउमै छ । जहाँ हरेक किसिमका मान्छेहरुको ओहरा दोहर हुने गर्दछ । चियामा ब्राण्ड बनाईसकेका रामबाबुले पैसा तिर्न नसक्नेलाई पनि निशुल्क चिया खुवाएर अलग पहिचान बनाएका छन् ।

डोटीमा रामबाबुलाई नचिन्ने सायदै कमै होलान् । उनको पसलमा विहान ४ बजेदेखि नै चिया खानाहरुको घुईचो लाग्न थाल्छ ।

उनी भन्छन् ‘यहाँ हरेक किसिमको ग्राहकहरु आउने गर्दछन् । कोही कोहीसंग पैसा हुदैन तर उनीहरुलाई चिया खान मन लाग्छ । त्यस्ता ग्राहक कम्तीमा दैनिक १०० जना जति आउँछन् । उनीहरुलाई म राम्रोसंग चिनेकोछु । डोटीले मेरो पहिचान बनाईदियो, मैले पैसा तिर्न नसक्नेलाई एक कप चिया खुवाउदा मनैदेखि आनन्द आउँछ ।’

उनलाई निुशल्क चिया खुवाउदा कुनै पछुटो छैन, बरु हृदयदेखि नै खुशी हुन्छन् । सायद त्यसैको परिणाम होला, गाउँघरमा हुुने भोज भतेरदेखि सानो ठूलो पाटीमा परिकारहरु बनाउने जिम्मा रामबाबु दिन्छन् ।

उनी आफ्नो व्यवसायीलाई पैसामुखि बनाउनु भन्दा पनि व्यवहारलाई बढी महत्व दिएको बताउँछन् । उनी अहिले आफ्नो पसलमा १४ जनाले रोजगारी दिएका छन् तरपनि आफू रातदिन कर्मचारी जस्तै भएर खटिन्छन् । उनी आवश्यकता अनुसार काउन्टरदेखि चिया पकाउने काम आफै गर्छन् । ग्रहाकलाई बस्न अनुरोध गर्दै खाना पुर्याउने कामपनि आफै गर्छन् ।

उनलाई आफ्नो जीवनमा चियाले ल्याएको परिवर्तनले नयाँ पुस्तालाई हौसला प्रर्दान भईरहेको दाबी गर्छन् । चिया व्यवसायीबाटै उनी सदरमुकाममै एक करोड रकम खर्च गरेर ४ आन जमिन किनेका छन् । साथै सोही जमिनमा तीन तले घर बनाएर आफ्नो पुरै परिवारलाई दिपायलबासी बनाईसकेको बताउँछन् ।