मोबाईल एपमा भर पर्दा
प्रसंग हवाई यात्राको हो । मैले यात्रा गर्ने प्रायः बुद्ध एयरको रुट धनगढी -काठमाडौं र काठमाडौं- धनगढी हुन्छ । फ्लाईट समय भन्दा १ घण्टा अगाडी एयरपोर्ट पुग्नु पर्ने कुरा टिकट मै उल्लेख हुन्छ । यो नियम सबैलाई थाहा छ ।मैले पनि वर्षोदेखि यो नियमलाई मान्दै चाँडै एयरपोर्ट पुग्ने गरेको थिए । मौसमको खराबी वा अन्य कारणले फ्लाईट ढिला भएको कुरा बोईङभित्र छिरिसके पछिमात्र थाहा पाउँथे । कुनै कुनै समय ३-४ घण्टा सम्म फ्लाईट ढिला हुँदा दिक्क लागेर आउँथ्यो । फ्लाईट ढिला हुने कुरा पहिल्यै नै थाहा पाएको भए भन्ने लाग्थ्यो । मलाई लागेको कुरा प्रविधिले विकास गरेछ । यात्रुहरुलाई सजिलो होस भनेर बुद्ध एयर कम्पनीले आफ्नो नामको ‘बुद्ध एयर’ मोवाईल एप निकाल्यो । मैले नि यो एप डाउनलोड गरे ।
उक्त एप खोलेको दिनदेखि यात्रा गर्दा १ घण्टा अगावै पुग्नु पर्ने नियमलाई बेवास्ता गर्न थाले । मोबाईल एपमा फ्लाईटको स्टाटस चेकईन नहुदा सम्म मलाई हतार हुनै छाड्यो । यता घरबाट धनगढी एयरपोर्ट पुग्न १५ मिनेट लाग्थ्यो भने उता काठमाडौ हुँदा कोठाबाट त्रिभुवन एयरपोर्टको लागि ३० मिनेट काफि हुन्थ्यो । २/३ पटक यहि एपको आधारमा आउजाउ गरियो । यसो मोबाईल एप हेर्यो फ्लाईटको स्टाटसको आधारमा कोठाबाट निस्कियो । समयको पनि बचत । पत्यार लाग्दो समयको टन्टै साफ । यसरी बुद्ध एयर एपले मेरो विश्वास जित्यो । मैले पनि एक कदम माथि उठेर उसलाई विश्वास गर्न थाले । हामी बिचको यो विश्वासमा फागुन ३ गते भने प्रश्न चिन्ह लाग्यो ।
काठमाडौबाट धनगढी फर्किदै थिए । बिहान ८:४५ को फ्लाईट । ८ बजे कोठाबाट निस्किने कुरा मेरो दिमागले फ़्य़ाट्ट हिसाब गर्यो । मलाई त्रिभुवन विमानस्थल सम्म पुर्याउने र ल्याउने काम छोरीले गर्छिन्। साढे सात बजेतिर चाँडै जाऔ भन्दै थिइन् । मैले मोबाईल एपमा काठमाडौ-धनगढी सर्च गरे । धनगढी एयरपोर्ट खुला, फ्लाईट समय ८:४५ नै देखायौ । चेकइन लेखेको देखिन। लुगा लगाउँदा झोला प्याक गर्दा आठ बज्नै लाग्यो । छोरी हतारिइन् । मोबाईल एप हेर्दै मैले भन्दै थिएँ –
“अहिले सम्म चेकइन सुरु भएको छैन ।”
छोरीले भनिन् – “मोबाईल एपको भर हुदैन” ।
छोरीलाई काठमाडौको साझा बसको एपले झुक्कयाएको अनुभव थियो ।
मलाई भने २५ औं वर्ष पार गरि हवाई यात्राको क्षेत्रमा अगाडी रहेको कम्पनीले बनाएको एपमा पूरै भरोसा थियो । लक्षित समय भन्दा करीब १० मिनेट ढिला निस्कियौ । छोरीले बल्खुबाट छोटो बाटो जाने कुरा गर्दै थिईन । स्कुटरको ह्यान्डिल मेरो हातमा थियो । “बालेन सहर” हेर्दै जाउँ न भन्दै मैले स्कुटर मोडे । मलाई नयाँ बानेश्वरको ठूलो रोड हुदै जानु थियो । थापाथली र माईतीघर मण्डलाको ट्राफिक जाम छिचोली सकेपछि स्कुटर बेस्सरी हुँईकियो । त्यो हुँईकाई नयाँ बानेश्वर चोकमा गएर रोकियो । अगाडी ट्राफिक लाईट सिग्नलमा १२० बाट उल्टो गन्ती सुरु भएको देखियो । हतारको समयमा १ सेकेण्ड समयपनि कति लामो हुने रहेछ भन्ने कुरा यहि उभिदा थाहा हुने रहेछ। ट्राफिक बोर्डले सुन्य देखायो । स्कुटरको स्पिडोमिटर सुई सुन्यबाट जुरुक्क उठ्दै ४०-५० हुँदै माथि जान थाल्यो ।
“आज ओभर स्पिडको चिट काटिने वाला छ ।”
छोरीले ट्राफिक नियमको कुरा सजग गराउँदै थिईन । ट्राफिक नियम अनुसारै मैले दाँया साईड लाईट बालि त्रिभुवन विमानस्थल भित्र छिरें । आन्तरिक टर्मिनलमा रोकेर हेल्मेट झिक्दै सोधे –
“कति बज्यो? ”
“नौं।” छोरीले भनिन्।
झोला समातेर चेकईन तिर दगुरे । विमानस्थलमा पहिलो पटक यसरी दौडिएको थिए । चेकईन गर्ने ठाउँमा धनगढी लेखिएको बोर्ड नदेखेपछि कर्मचारीलाई सोधें । कर्मचारीले भने –
“प्लेन उड्नै लाग्यो” ।
“अब के गर्ने? ”
“अगाडी बुद्ध एयरको अफिसमा सम्पर्क गर्नु ।”
हतारिदै अफिसका कर्मचारीहरुलाई आग्रह गरे । वाकीटकीमा कुरा गरिरहेका कर्मचारीले भने –
“अब सम्भव छैन ” ।
सम्भव नभएपछि साँझ ५ बजेको फ्लाईट कुर्नुपर्ने मेरो बाध्यता आइपर्यो । ८/८ घण्टा सम्म पर्खिने आँट म मा देखिएन ।कालो अनुहार पारेर फेरि आग्रह गरे ।
वाकीटकीमा बोल्ने कर्मचारीले भने-
“हामी प्रयास गरि दिन्छौ । सफल भएन भने फिर्ता हुनु पर्छ “।
मरिसकेको आशा फेरि बिउँझियो । एक जना कर्मचारीले हतार हतारमा मेरो बोर्डिङ पास बनाउन लागे । मलाई भने सेक्युरीटी जाँचका लागि पठाए । “हतारको काम लतार” भने झैं झोलाहरु स्क्यानरमा राखें । मोबाईल र बेल्ट भने फुकाल्नै बिर्सेछु । मेटल डिटेक्टरले डिटेक्ट गरेछ । म उसै ढिला थिए- यहाँको सिस्टमले झनै ढिला गराउने भयो । फोन र बेल्ट पुरै स्क्यान गराई सकेको थिएन ।बोर्डिङ पास समाइ राख्ने कर्मचारी कराए –
“चाँडै गरौं सर! प्लेन छुट्नै लाग्यो । बेल्टसेल्ट पछि लगाउनु होला।”
मोबाईल र बेल्ट टिपेर दगुरे । ५ नम्बर गेट बाहिर निस्किए पछि बुद्ध एयर लेखेको सानो भ्यानको ढोका खुल्यो । म भित्र हुँलिए । मोबाईल र बेल्टलाई झोलाभित्र कोचें।
“नाईट गाडी चढ्न आए जस्तो त गर्नु भए नि ! सर।”
भ्यान चालकले मलाई ब्यङ्ग्य हाने । ट्राफिक जामले गर्दा ढिला भएको कुरा मैले सुनाए । मेरो कुरा चालकलाई पत्यार लाग्यो लागेन थाहा भएन । उनले हास्दै थपे –
“ढिलाई गर्ने बानी तपाईको मात्र समस्या होईन ।
धेरै नेपालीहरुको साझा समस्या हो।”
मैले समर्थन जनाए । समर्थन जनाई रहँदा सानो भ्यान प्लेन भएको ठाउँमा आई पुग्यो । आफै ढिलो भएकोमा मलाई आत्म ग्लानी हुँदै थियो । प्लेनको खुड्किला चड्दै गर्दा कालो कोटमा सजिएकी एयर होस्टेजले मुस्कान सहित- “वेलकम सर” भनिन् ।
प्रतिउत्तरमा-
“सरी फर लेट” भन्दै लास्टको खाली सिटमा बसे ।
बिहान देखि बढेको मेरो मुटुको ढुकढुकी बल्ल शान्त भयो । केहि छिनमा काठमाडौबाट प्लेन उड्यो । धनगढीमा ल्याण्ड भयो । मैले पहिलो पटक पाईन्टको बेल्ट झोलामा राखेर यात्रा गरें। घर फर्किएर अफिस जाने क्रममा बेल्ट लगाए । बेल्ट खुकुलो लाग्यो । यसो कस्न खोजे । बेल्टको टाउको पनि फरक लाग्यो । म झसंग परे – ला ! बेल्ट त अरुको पो परेछ ।
यात्रालाई सहज बनाउन सहयोग गरिदिने बुद्ध एयरलाइन्सका कर्मचारीलाई धेरै धेरै धन्यवाद। बेल्ट साटिने महानुभाव प्रति क्षमा भन्दै मोबाइल एपमा भर परेको अविस्मरणीय क्षण यहिं बिट मार्न चाहन्छु।













