होमस्टेका महिला च्याउँ खेतीलाई जीविकोपार्जनसंग जोड्दै
कैलाली । विहान ४ बजे मोवाईलको घण्टी बज्छ अनि रामकृष्णीको निन्द्र खुल्छ । उनको मोवाईलमा च्याउँ संकलन गरिदिनकोलागि जनाउ घण्टी बजेको हो ।
धनगढी उपमहानगरपालिका १६ भादा गाउँका ४५ वर्षीया रामकृष्णी चौधरीको माोबाईलमा हरेक विहान च्याउँ टिप्नलाई फोन आउँछ । उनी बिहान १ घण्टा च्याउँ टिप्नमा समय विताउँछिन् ।
उनलाई बजारको कुनै चिन्ता छैन । ब्रोकरले घरमै आएर च्याउँ लैजान्छ । उनी आफ्नै घरमा दुईवटा च्याउँघर बनाएकी छिन् । जहाँ ७०० पोकामा च्याउँ उत्पादन हुन्छ ।
उनी पुसको अन्तिम सातादेखि च्याउँ बेच्न थालेको बताउँछिन् । गत वर्षको भन्दा यो वर्ष राम्रो उत्पादन भएको रामकृष्णीको भनाईछ । उनी यो वर्ष १० कुन्टल सम्म बेच्न सकिने अनुमान गरेकि छिन् ।
भादा गाउँमा अहिले घर घरमा च्याउँ खेति हुने गरेको छ । तर सबै जनाले आफ्नो उत्पादन आफै बजारसम्म पुर्याउँदैन् । कोही बजार खोज्दै धनगढी सम्म आईपुग्छन् त कोही कोही ब्रोकरको जिम्मा लगाईदिन्छन् ।
रामकृष्णी भन्छिन् ‘ब्रोकरले केजीको ३० रुपैयाँ लिन्छ, बाँकी च्याउँको पैसा हामीलाई दिन्छन् । तर च्याउँको रेट भने फिक्स हुदैन ।’ शुरु शुरुमा प्रति केजी डेढ सय रुपैयाँमा विक्री हुन्थ्यो, अहिले त १२० रुपैयाँमा पनि बेचिदिन्छन् ।
उनका अनुसार ब्रोकरलाई दिएको च्याउँ घरमा फिर्ता आउँदै मुल्य एकनास नभएपनि उत्पादन खेर जादैन ।
च्याउँ बेचेर उनलाई घर खर्च जोहो गर्न निकै सजिलो भएको छ । उनले भनिन्, ‘खेती किसानी गर्नेहरुको हातमा सिजनको बेला मात्रै पैसा हुन्छ, तर अहिले च्याउँ खेतिले थोरै भएपनि हरेक दिन पैसा चलाउन पाएका छौं ।’
सोही गाउँमा स्वलम्बी कृषक महिला समुहका १९ जना सदस्य मिलेर सामुहिकरुपमा च्याउँ खेति गर्दै आईरहेका छन् । समुहमा आवद्ध सबै जना व्यक्तिगतरुपले आ आफ्नो घरमा पनि च्याउँ उत्पादन गरेको समुहका सचिब राम दुलारी चौधरी बताउँछिन् ।
उनी भन्छिन् ‘समुहको कोष वृद्धि गर्न हामी यस्तो योजना बनाएका हौं । च्याउँ खेतीमा मेहनतपनि कम छ । खाली समयमा बस्नु भन्दा च्याउँ घरमा थोरै समय बितायो भने घर खर्चकेलागि प्रस्ष्ट कमाई हुन्छ ।’
सचिब चौधरीका अनुसार भादा गाउँमा होमस्टे सञ्चालन भएकोले पहिला पहिला पाहुनाकोलागि भनेर थोर थोरै च्याउँ बनाउथ्यो । सिकाईपनि हुन्थ्यो र बजारबाट किन्नुपनि पर्दैनथ्यो । अहिले दुई चार वर्ष यता व्यवसाीयकरुपमा च्याउँ खेति गर्दै आईरहेका छौं ।
रामरति चौधरीका दुई देवर र देवरानी छन् । दुबै देवर कामको शीलशिलामा घर बाहिर छन् । उनी आफ्नो देवरानीलाई लिएर च्याउँ खेतिमा व्यस्त हुन्छिन् । यो वर्ष उनीहरु १२ सय पोकामा च्याउँ रोपेका छन् ।
रामरति भन्छिन् ‘म देवरानीहरुलाई लिएर च्याउँ बनाउने काम गर्छु । पराल उसिन्ने, प्लाष्टिकमा भर्ने, सिचाई गर्ने र च्याउँ फल्न थालेपछि टिप्ने कामपनि हामी आफै गर्छौ । मेरो श्रीमान विहान ४ बजे साईकलमा बोकेर धनगढी बजारमा बेच्न जानु हुन्छ ।’
भादादेखि धनगढी बजार १७ किलोमिटरको छ । उनीहरु च्याउँ टिप्न राति ३ बजे नै उठ्छन् । ५ बजे सम्म च्याउ धनगढी बजार पुगि सक्नुपर्छ । उनीहरु आफै बेच्ने भएकोले केजीको २०० रुपैयाँमा बेच्दै आएका छन् ।
रामरतिका अनुसार एक सिजनमा ढाई लाख जतिको च्याउँ बेच्ने गरेका छौं । बाँकी समयमा तरकारी खेतिपनि गरिरहेका छौं । मेहनत गर्न सक्यो भने घरमै बसेर आफ्नो दैनिक जिवनको लागि पैसा जोहो गर्न कुनै समस्या छैन ।
भादा गाउँमा तरकारी खेति नगर्ने किसानहरु धान गहुँ रोप्ने र भित्रियाउने बाहेकको समयमा रोजगारीको लागि भारततिर जाने गरेको रामरति बताउँछिन् । तर भारत जानु भन्दा आफ्नै उत्पादनलाई बजारीकरण गर्न सके अन्त्यै रोजगार खोज्न नपर्ने उनको तर्क छ ।













