माघभित्र लुकेको अदृष्य प्रेमको कोसेली ‘निसराउ’
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका १० का दिनेश दहित थारुले माघ १ गते विहानै श्रद्धापूर्वक नुहाए । त्यसपछि घरको डेउहर (देवता कोठा)मा सुप्पामा राखिएको पाँच उन्ज्रा (माना) चामल, दुनामा राखिएको नुन, बेसार, दाल, तीललगायत अन्न छोए । त्यसपछि घरका ठुला बडाबाट अर्शिवाद लिए । सानालाई अर्शिवाद दिए ।
दहितथारुको यो माघ लहान (नुहाइ)को पहिलो पटक भने होइन । जतिबेला आफूमा चेत आयो, त्यतिबेलादेखि हरेक माघ पर्वको माघ १ गते गर्छन ।
उनी भन्छन्, “म मात्रै होइन, मेरो बुवाले पनि भन्नु हुन्छ, ‘जतिबेला हामी चेत आयो हाम्रा अग्रजले यहि गर्न लगाए । नुहाएपछि सुप्पामा राखिएको चामल छुन लगाए । त्यसपछि अर्शिवाद लिन लगाए’ भन्नुहुन्छ । यसको अर्थ यो उहिल्लेदेखि चल्दै आएको हो ।”
कञ्चनपुर जिल्लाका बेदकोट नगरपालिका ७ मन्दिरपुर ५७ वलबहादुर डंगौराले पनि दहितथारुले जस्तै उहिलेदेखि चल्दैआएको रितीकर्म सकाए । त्यसपछि आफ्ना छोराछोरी, नातिनातिनीलाई अर्शिवाद दिए । सो कार्य आफ्नो छोराछोरीलाई पछ्¥याउन लगाए ।
कैलालीका दहितथारु र कञ्चनपुरका डंगौराले मात्रै होइन, माघ १ गते आमथारुले नुहाएपछि श्रद्धापूर्वक सुप्पामा राखिएको अन्न छोए । जसलाई थारु समुदायमा ‘निसराउ कहर्ना’ भनिन्छ । जसमा चामल थप गरेर आफ्ना विवाहिता चेलीहरुलाई कोसेली स्वरुप प्रदान गरिने प्रचलन रहीआएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका थेवैका स्थानीय तथा थारु अगुवा ठाकुरप्रसाद करियाप्रधानले निसराउ दिने प्रचलनलाई भाजुभाइ र दिदीबहिनीबीचको प्रेमको प्रतीकको रुपमा रहेको बताउँछन् ।
हरेक वर्ष निसराउ कहार्र्दै आएको बताउँदै करियाप्रधानले भने, ‘यो संस्कृति उहिलेदेखि चल्दैआएको छ । यसमा हाम्रा विवाहित चेलीहरु आफ्नो सुसुराल घरमा भोकै छन् कि ? समस्यामा छन् कि रु सानो उपहारको भेटी दिन जाने र सुख दुःख बुझ्ने माध्यम पनि हो । माया प्रेमको कोसेली पनि निसराउ हो ।’ निसराउको रुपमा चेलीहरुलाई नगद, लुगाकपडा पनि दिदै आएको उनको भनाइ छ ।
त्यस्तै, कञ्चनपुरका थारु बुद्धिजीवी समेत रहेका डंगौराले विवाहित चेलीहरुलाई जन्मेको घरमा अंश नदिने परिपेक्ष्यमा निसराउ दिने प्रचलनले छोरीहरुलाई माइतीको माया ममता कायमै रहेको महसुस गराउने माध्यम रहेको बताउँछन् ।
नेपाली लोकवार्ता तथा संस्कृति समाज काठमाडौंद्वारा प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तक (२०६५) का अनुसार माघ पर्वमा माघ महिनाको पहिलो दिन निसराउ कहर्ना प्रचलनलाई लोक संस्कृति र संस्कारको रुपमा अथ्र्याएको छ । साथै माघलाई आर्थिक वर्षको पहिलो दिन मान्दै आएको थारु समुदायमा दिदीबहिनीहरुलाई दिने दानको रुपमा उल्लेख गरिएको छ । दाजुभाइ तथा माइतीको गृहस्थ जीवनको पहिलो धर्मको रुपमा समेत लिइएको छ ।













