म अचेल कुचो लगाइरहेको छु

मन बढार्नुस् या दिमाग
कुचो लगाउनु जरूरी छ
म अचेल कुचो लगाइरहेको छु

जब म कुचो लगाउन थाल्छु

कहिले हावा मैतिर आउँछ

र, सबै–सबै फोहोर मैमाथि खन्याउँछ

कहिले म कुचो लगाउन थाल्छु

हावा विपरीत दिशातिर बहन्छ

र, उडाइदिन्छ सबै–सबै फोहोर

तपाईं ठान्नुहुन्छ होला–

रजस्वला हुँदा प्रयोग गरिने प्याड होस्

या प्रयोग गरिएका कन्डम

तरकारीका छेस्का हुन्

या अझै बच्चाले च्यातेका

कागजका टुक्राहरू

ताछेका पेन्सिलका झिक्राहरू

श्रमले च्याप–च्यापिएका कपडाको गन्ध

या सिंगान पुछेका रूमालहरू

आकाशबाट झरेका चराहरूका बिस्टा

फूलको साथ छाडेर सुकेर झरेका पातहरू

झ्यालमा थुप्रिएको धुलोको गन्ध

माटोमा लतपतिएका खुट्टाहरू

तरकारीसँगै बजारबाट आएका प्लास्टिकका झोलाहरू

भाँचिएको पानी राख्ने भाँडो

नचलेका घडीहरू

सुगन्ध नआउने फूल

यी सबै–सबै हुन्– फोहोर

हामीलाई बारम्बार कुचो लगाउन बाध्य तुल्याउने

तर, यी फोहोर कदापि होइनन्

यी त पात्र मात्रै हुन् फोहोरका

जसले सर्लक्कै निलेर सफाको

दुर्गन्धित घोषणा गरिरहेका छन् राज्यलाई

सूर्य उदाउनुअघि

आमा किन कुचो लगाउँछिन् रु

यस्तो सोचिरहने बाल मस्तिष्कबाट

आज आफैं कुचो लगाउँदै गर्दा

अझै बेस्कन सोचिरहेछु–

कुचो लगाउनु किन जरूरी रहेछ,

कुनै सम्बन्धहरूमा ?

कुनै बाटोहरूमा ?

कुनै मनहरूमा ?

कुनै हार्दिकताहरूमा ?

कुनै आत्मीयताहरूमा ?

कुनै आफ्नोपनहरूमा ?

अचेल म कुचो लगाइरहेको छु–

मनको विकार फ्याँक्न,

मस्तिष्कमा आइरहेका वासना हटाउन,

सोचमा बसेका थुप्रोहरूमा आगो लगाउन,

दुर्भाव–घृणाका च्यादरहरू च्यात्न,

पुरातनको पिरामिड भत्काउन,

सपनाको ऐँठनबाट ब्युँझिन ।

र, सबै–सबै सफा गरिरहेछु–

चुनौतीको राजमार्गमा उभिन ।

मन बढार्नुस् या दिमाग

कुचो लगाउनु जरूरी छ ।

कान्तिपुरबाट ।