परदेशको भोगाइले स्वदेशमै अब्बल बनेका महिलाहरु

कैलाली । परदेश गएर काम गर्ने महिलालाई अहिले पनि हाम्रो समाजमा कुदृष्टिले हेर्छ । तर वैदेशिक रोजगारीले महिलाका लागि अभिशाप होइन हौसला बनेको उदाहरण गाउँघरमा प्रस्ततै देखिन्छ ।

आर्थिक अवस्था कमजोर भएका, घरेलु हिंसाको चपेटामा परेका, श्रीमानले छाडेर बालबच्चा सहित बिचल्लीमा परेका थुप्रै महिला अहिले वैदेशिक रोजगारीमा गइ आफ्नो र बच्चाको जीवन सहज तरिकाले धानेका छन् । उनीहरु आफू परदेशिएर घरमा भरथेग गर्ने महिलाका गर्विला कथाले वैदेशिक रोजगारीलाई महिलाको सशक्तीकरण तथा आत्मनिर्भरताको पक्षबाट हेर्न बाध्य बनाउँछ ।

सानै उमेरदेखि नेपाल छोडेर परदेशको भूमिमा पसिना बगाउँदै पुनःनेपाल फर्केर पैसा र सम्मान दुबै कमाइरहेको उदाहरणीय व्यक्ति हुन् सञ्जिता ।

पछिल्लो केही वर्षयता नेपालको ठूलो जनशक्ति परदेशको यात्रा तय गरिरहेको छ । तर १७ वर्षपछि नेपाल फर्केर बिदेशको सीप र अनुभवले अब्बल बन्दै छिन् उनी ।

धनगढी उपमहानगरपालिका वडा नं. १४ मा बस्दै आएकी अन्दाजी ४० वर्षीया सञ्जिता रानामगर २१ वर्ष अगाडि रोजगारीको शिलशिलामा भारत पसिन् । १० वर्षसम्म भारतमै बसेर उनी मलेसियाको भिसा लागाइन् ।

उनी भन्छिन् ‘नेपालमा राम्रो रोजगारी नपाएपछि सन २०१२ मा मलेसिया उडिन् । भारतमा कमाएको पैसाले भिसा लगाएर त्यहाँ तीन वर्ष काम गरेर पुनः नेपाल फर्केकी हुँ ।’

त्यो बेला उनलाई गाउँमा अलिक फरक तरिकाले हेर्थे । चौतारामा बस्नेहरु विदेश गएर आएकी महिलाभन्दै कुरा काट्थे । त्यसैले नेपाल फर्केर पनि आफ्नै देशमा भविष्य सुरक्षित देखिनन् । र, अन्नततः पुनः ३ वर्षको लागि साउदी गएको कहानी उनले सुनाइन् ।

सञ्जितालाई साउदीबाट फर्केको पाँच वर्ष भयो । अहिले उनको आयस्रोत क्रमिक रुपले सुधार हुँदै गइरहेको छ । उनी विदेशमा कमाएको पैसाले धनगढी उपमहानगरपालिका वडा नं. १४ फूलवारीमा एक कठ्ठा जमिन खरिद गरि चार वटा सटर निकालेर घर बनाएकी छिन् । सोही घरमा अहिले चप्पल उद्योग, कपडा पसल र ब्युटिपार्लर सञ्चालनमा ल्याइकी छिन् ।

उनी भन्छिन् ‘सुरुमा एक लाख रकम खर्चेर चप्पल बनाउने मेसिन खरिद गरे । त्यहाँबाट व्यवसायको सुरुवात भयो । वीरगञ्जबाट थोर थोरै कच्चा पदार्थ मगाएर आफै चप्पल उत्पादन गर्न थालिन् । होलसेल भन्दा खुद्रा मुल्यमा बढी नाफा आएपछि कपडा तथा चप्पल पसल दर्ता गरि अर्को पसल खोलिन् ।’

उनी चप्पल उद्योगमा दुई जना कर्मचारी राखेर उत्पादन बढाउदै लगिन् । अहिले उनी दैनिक २५० जोडी चप्पल उत्पादन गरि थोक तथा खुद्रा मूल्यमा बिक्री वितरण गर्छिन् । उनीसँग एक २३ वर्षकी छोरी सुजाता रानामगर पनि व्यवसायमा साथ दिइरहेकी छिन् ।

उनी आफ्नो छोरीलाई प्लस टु पछि व्यूटिपार्लर सिकाइन् । अहिले उनको छोरी पनि आफ्नै घरको एक सटरमा कास्मेटिक तथा व्युटिपार्लर पसल खोलेर बसेकी छिन् । तीन वटै पसलको कारोवार भने सञ्जिता आफै हेरिरहेकी छिन् ।

उनी भन्छिन् ‘मेहनत गर्न सके आफ्नै देशमा पनि अब्बल भइन्छ । मेरो दैनिक ५० हजार बढीको कारोबार हुन्छ । आफ्नो कामप्रति सन्तुष्ट छु । यसमा हामी आमा छोरी स्वरोजगार भएका छौ । साथै दुई जनालाई रोजगारी समेत दिएकी छु ।’

उनको अनुभवमा विदेश गएर पैसा कमाउनु मात्रै ठूलो कुरा होइन । बरु सीप सिक्नु महत्वपूर्ण हो । आम्दानीको बचत, सीप र समयलाई मात्रै अनुशरण गर्न सके विदेशको अनुभव नेपालमा काम लाग्ने उनको भनाइ छ ।

विदेशबाट फर्किर अभियान्ता बनेकी शोभा

२२ वर्षको उमेरमा एकल भएर पारिवारिक कलह खेप्न नसकेर विदेशीएकी शोभा बानिँया कञ्चनपुर जिल्लास्थित काम गर्ने संघ संस्थामा राम्रो पहुँच बनाएकी छिन् ।
कञ्चनपुरको पुनर्वास घर भएकी बाँनिया सन २००९ मा भारतको दिल्ली हुँदै खाँडी मुलुक लेबनान) पुगिन् ।

उनी त्यहाँ दुई दिन अलपत्र परिन् । तर हार मानिन् । लेबनानस्थित सम्बन्धित निकायमा गुनासो राखेपछि उनको उद्धार भयो । लेबनानमा घरभित्रको काम गर्थिन् उनी । तलब थोरै भए पनि उनी ३ वर्ष ६महिना बसेर नेपाल फर्केको बताउँछिन् ।

नेपाल फर्केर उनी ३ महिनामात्रै बसिन् । दुई छोरी र एक छोराको पढाइ खर्च परिवारिक घर खर्च जोहो गर्न उनी पुनः मलेसियाको भिसा लगाइन् ।

उसो त उनलाई त्यो समाजले सुखका साथ बस्न दिएको थिएन । ‘विदेशबाट आएकी महिला त हो नि ! दुनियाँसँग सुतेर आएकी होला भन्थे । तर म निराश भइन ।’

३ महिनापछि पुनः उनी मलेसिया उडिन् । उनी बिदेश जाँदा उनका छोराछारी माइतीमा हुर्के । चार वर्ष मलेसियाको बसाइपछि उनी नेपाल फर्किन् ।

उनी भन्छिन् ‘विदेश गएर छोराछोरीलाई राम्रोसँग बढाउन पाएको खुशी छु । अहिले सबै जना प्लस टु पढेर सकाए ।’

आफू मेहनत गरेर पनि छोराछोरीलाई अभावको महशुस हुन नदिएको उनी बताउँछिन् ।

उनी मलेसियाबाट फर्केर निड्स नेपाल, आमकाष्ट नेपाललगायत संघ संस्थासँग समन्वय र सहकार्यमा गाउँघरमै विभिन्न खाले तालिम गोष्ठीमा सहभागी हुन्छिन् । अहिले उनी टोलकै नेता भएकी छिन् । छिमेकमा कोही विदेश जानु पर्यो भने उनीसँग परामर्श लिन आउँछन् ।

उनी दुई वर्ष अगाडि बैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वरोजगार बनाउन नेपालमै कलकारखाना उद्योगहरु खेल्नुपर्छ भन्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र समेत बुझाएको बताउँछिन् ।

सञ्जिता र शोभा प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै धेरै महिला बैदेशिक रोजगारीबाट परिवारिक भार निर्वाह गर्दै आइरहेका छन् ।

उनीहरुका अनुसार सरकारले महिलालाई जिविकोपार्जनतर्फ उन्मुख गराउने नीति ल्याउनुपर्छ । महिलालाई जनचेतनामूलक कार्यक्रमसँगै आर्थिक रुपले सशक्तीकरण गर्ने नीति ल्याए मात्रै महिला रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता हट्छ ।

रेमिटान्समा महिलाको योगदान

बैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने, ०७६/०७७ मा बैदेशिक रोजगारीमा जाने ३ लाख ६८ हजार ४३३ मध्ये २८ हजार ४३३ जना महिला छन् ।

नेपाल राष्ट्रिय बैंकको २०८० साउन १ देखि कात्तिक मसान्तसम्ममा बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिनेको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ जना रहेका छन् ।

यसैबीच चार महिनाको अवधिमा रेमिटान्स (विप्रेषण) ४७७ अर्ब ९६ करोड रहेको छ ।

यो तथ्यांकले बैदेशिक रोजगारीमा जानेको संख्या एकदमै ठूलो हो । देशमा रेमिटान्स भित्र्याउने महिलाको भुमिका पनि उत्तिकै देखिन्छ । तर अहिले पनि बैदेशिक रोजगारीमा गएका महिलाहरुलाई हेर्ने सामाजिक दृष्टिकोण निकै संकुचित छ । जसको निराकरणको लागि राज्यले बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुलाई दक्षताअनुसार स्वरोजगारको व्यवस्था कामय गर्ने नीति ल्याउ जरुरी देखिन्छ ।