सयभन्दा बढी जातजातिमा विभक्त नेपालीहरूको सम्बन्ध कति गाढा छ भन्ने कुरा थारु र मगरलाई हेरे पुग्छ ।
मगर महाभारत पर्वत शृङ्खलाका बासिन्दा हुन्, थारू भित्री मधेशका । थारूहरू आफूलाई भूमिपुत्र भन्छन्, मगरहरू आदिवासी–जनजाति । आ–आफ्नै जातीय परम्परा भएका यी दुई समुदायको शताब्दीयौं पुरानो सहगमनबाट निर्मित धार्मिक–सांस्कृतिक सम्बन्ध भने अनुकरणीय छ ।
नवलपरासीको देवचुली–२ कीर्तिपुरका मगरहरू अघि नलागी शिरथानमा थारूहरूको कुल पूजा शुरु हुँदैन । मगरहरूको रहजरथानमा कुमारवर्ती माईको आराधना भएपछि मात्र शुरु गरिने पाँच–पाँच वर्षमा हुने थारूहरूको कन्तरी पूजामा मगर ढोके हुनैपर्छ । थारू र मगरको ठूलो सांस्कृतिक सहचार्य देखिने कन्तरी पूजाका लागि शिरथानमा चाहिने भेडी, परेवा र बाख्राको पाठी लिएर आउने मगरहरूलाई सीताबासमा बिसाउने चलन छ, जहाँ देवीले विश्राम गरेको विश्वास दुवै समुदायमा छ ।
देवचुली हिँडेका थारू गुरौ ९पुजारी० मगर वस्ती कीर्तिपुरमा बास बस्छन्, जहाँ झ्मटा गाएर देवीको प्रार्थना गरिन्छ । भोलिपल्ट पाहुना पुजारीहरूलाई ‘बाटो देखाउन’ मगर समूह अगाडि–अगाडि उकालो लाग्छ । पूजाका लागि आगो पनि अग्निपत्थरमा काँचो बाँस रगडेर मगरले नै निकाल्नुपर्छ । यो परम्पराले थारू थलो कीर्तिपुरमा प्राचीनकालदेखि पहाडबाट मगरहरूको आगमन भएको देखाउने थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य शान्ति महतो बताउँछिन् ।
“कृषिमा निर्भर थारू र मगरबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, पारिवारिक र व्यक्तिगत सम्बन्धहरूको कडी चाहिँ इष्ट अर्थात् मीत लगाउने सौहार्द प्रणाली हो”, समाजशास्त्री शिवशङ्कर बस्याल भन्छन् । उनको भनाइमा, प्रकृतिपूजक यी दुवै जातिलाई आर्थिक आवश्यकता पूरा गर्न इष्ट प्रणालीले जोडेको छ । हुनपनि, धान रोपाईंपछि थाकेका थारूका घरमा पहाडबाट मगर इष्टको खसी कोसेली आइपुग्छ । यसलाई हर्धोन वा हिलो पखाल्ने भनिन्छ । पहाडमा चाडबाड आउँदा मधेशका थारू इष्ट धान, चामल, माछा आदि बोकेर उकालो चढ्छन् । मगर इष्टकै लागि वर्षामा माछा सुकाएर सिद्रा बनाउने थारूहरू धेरै भेटिन्छन् । जितिया, ठूलो एकादशी, माघेसङ्क्रान्ति कोसेली आदानप्रदानका अन्य मुख्य अवसर हुन् ।
कोसेलीमा धान, चामल, सुन्तला, अदुवा, बेसार, कोदो, खसी, माछा, रोटी, अम्रिसो, पिँडालु, खुर्सानी, नाम्लो, डालो लगायतका घरेलु आवश्यकताकै चिजबिच हुन्छन् । इष्टलाई भनेर सोचेको सामान केही गरी अन्त जाँदैन । यस्तो आत्मीयताले दुवै समुदायको अर्थतन्त्र टिकाउने काम गरेको समाजशास्त्री बस्याल बताउँछन् । बाबुहरू इष्ट बाँधिएपछि छोराहरू स्वतः इष्ट हुने परम्परा छ । महाभारत पर्वत शृङ्खलामा पर्ने देवचुली, धौवादी, जौवारी, नरम, रुचाङ्ग, रकुवा, राकाचुली, हुप्सेकोट गाविसका मगर र त्यसको ठीक तल समथर भूभागका थारूहरूबीच एक घर एक इष्ट बनाउने चलन वस्तु विनिमयकालदेखि नै चलेको अनुमान छ । नवलपरासीको नवलपुर क्षेत्रमा पुराना पुस्ताका कुनै थारू छैनन् जसको पहाडमा मगर इष्ट नहोस् ।
तर, अहिले इष्ट परम्परा क्रमशः घट्दै गएको देखेर चिन्तित छन्, आदिवासी जनजाति महासंघ नवलपरासीका अध्यक्ष खड्कबहादुर थनेत । खास गरेर २०५२ सालमा नेकपा माओवादीले हिंसात्मक विद्रोह थालेपछि इष्ट हुने चलन हराउन थालेको उनले बताए । व्यापारिक नभई आत्मीय सम्बन्धमा विकसित भएकाले एकअर्काको खाद्यान्नलगायतका आवश्यकता पूरा गर्न शुरु भएको इष्ट परम्परा जसरी पनि जोगाउनुपर्ने रकुवाका दुर्गाबहादुर राना बताउँछन् । यसका लागि सडक र सूचनाप्रविधिसँगै नयाँ जीवनशैलीमा आकर्षित भएका युवालाई जगाउनुपर्ने उनको भनाइ छ । हिमालखबरबाट ।













