यूरोप यात्राः आफ्नै देशमा सम्भावना खोजौं
यूरोपियन यूनियनले आफ्नो ७५औ बार्षिकउत्सवको अवसरमा नेपालबाट तीन जना पत्रकार “मनाव अधिकार पत्रकारीता अवार्ड” बाट एक हप्ताकोलागि यूरोप भ्रमणमा लगेको थियो । सो भ्रमणमा एक सहभागि पात्र म पनि हुँ । भ्रमण थियो बेल्जियमको राजधानी ब्रसेल्समा । EU ले लगभग दुई महिना अगाडी नै छनौट हुने सहभागीहरुको नाम सार्वजनिक गरिसकेको थियो । त्यसमा दुई जना गोर्खापत्रबाट चाँदनी हमाल र आशिस मिश्र रहेका थिए । उहाँ दुबै जना काठमाडौमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ र म सुदूरपश्चिम प्रदेशमा बसेर काम गर्दछु ।
EU ले व्यक्तिलाई छनौट गर्नु भन्दा पनि हामीले लेखेका स्टोरीलाई मुल्यांकन गरि यूरोप भ्रमणको अवसर प्रदान गरेको थियो । तेस्रो मुलुकमा पाईला नटेकेकी म अवार्ड पाएपछि निकै उत्साहित थिए । पत्रकारिता पेशामा १७ वर्ष विताएका संघर्ष अवार्ड पाएपछि एकछिनको लागि बिर्से । खुशीले मेरा शरिर नै फुल जस्तै हलुको भएको अभाष भयो । मैले आफ्ना मन मिल्ने साथीहरुसंग दिल खोलेर खुशी साते ।
यो अवार्ड मेरोलागि अविस्मरणीय पल बन्यो । मेरा आफ्न्त, साथी, भाई र मेरा पाठकवर्गहरुले मलाई गर्ने प्रेम छटाछुल्ल भयो । यति धेरैले मेरो खुशीमा खुशी साटेको देख्दा म अहिलेसम्म गरेको कर्मप्रति आफै गर्व महशुस गरे ।
अन्तराष्ट्रिय विमान स्थलभित्रको पहिलो अनुभव
२०८० असोज १९ गते दिउँसो ३ बजे अन्तराष्ट्रिय विमान स्थलको प्रवेशद्धारमा म पहिलो पटक पाईला टेक्दै थिए । मलाई लाग्यो, म त आफ्नै भूमिमा छुँ । मेरो आफ्नै ठाँउमा कागजात हेरेर सहज तरिकाले भित्र प्रवेश दिन्छन् होला भन्नेमा ढुक्क थिए । हामी नेपालीहरुलाई किन धेरै केरकार गर्नुपर्यो र, भन्ने सोचेको थिए । तर अहाँ, मैले सोचेको भन्दा निकै फरक अनुभूति भयो ।

मेरो पासपोर्टमा पहिलो पटक भिसा लागेको थियो । बोडिंगपासको लागि जब म पासपोर्ट देखाए, त्यतिबेला आफूलाई निकै हिनताबोध भयो । नेपालमा त सम्बेदनशीलता भन्ने चिजै नै छैन जस्तो अभाष भयो । त्यो बेला टिकट काउन्टरमा मेरो पासपोर्ट नै फ्याकेको थियो । मैले सात वर्ष अगाडी नै पासपोर्ट बनाएका थिए । तर विदेश जाने अवसर भने पाएको थिएन । सायद त्यसैले होला उनीहरुलाई मेरो पार्सपोर्ट भन्दा म माथि नै अविस्वास भएको हो ? या खै के हो । त्यो दिनको दृष्य अहिलेपनि मेरो आँखा वरिपरि छाया बनेर बसेको छ । “यस्तो पनि पासपोर्ट हुन्छ ? सबै खाली छ, यो हुदैन ?” भन्दै पासपोर्ट फालेका थिए ।
जुनबेला मेरो आत्मसम्मानमा चोट पुगेको थियो तर के गर्नु ! रिसाएर हुदैन । म मलिन स्वरमा अलि अलि डराए जस्तै गर्दै भ्ग् ले पठाएको टिकटको प्रिन्ट कपि देखाउँदै भने ‘सर म एक हप्ताको लागि बेल्जियम जाँदैछु । मिडियाको कार्ड देखाउँदै म पत्रकार हुँ । मलाई EU ले नै पठाईरहेको छ ।’ टिकट हेरेर त्यो व्यक्ति मत्थर भयो र मलाई बोडिंगपास दियो । केहीबेर बिमान स्थिलभित्रै हामी तीनैजना रमायो । यताउता गर्दागर्दै साझा ६ बज्यो । हामी सबै जना जहाजमा चढ्यो ।
मेरो लागि त्यो नै नौलो थियो । जहाज चढेर धनगढीदेखि काठमाडौं र काठमाडौंदेखि धनगढीसम्म मात्रै यात्रा गरेको थिए । अन्तराष्ट्रिय जहाज त निकै ठूलो लाग्यो । त्यहाँ भित्रको सेवासुविधा अनुशासन सबै देख्दा एकछिन त क्या गजब लाग्यो ।
ब्रसेल्स पुग्दा
७ अक्टोबरको बिहान हामी ब्रसेल्सको विमानस्थलमा अवतरण भयो । विमानस्थलको क्षेत्रफल निकै ठूलो थियो । हेर्दा आह लाग्ने, चिटिक्क सुन्दर ठाउँ । मनले धेरै कुरा सोचे ।

सरसफाईमा कुनै कमि थिएन । हजारौं मान्छेको भिडमा उभिएपनि खल्तीबाट केही सामान खस्दा तिंग बजेको अवाज आउने शान्त बातावरण । अनि मनमनै सोचे यहाँका मान्छेमा कति सभ्यता छ है । काम बाहेक कोही कसैसंग बोल्दैनन् ।
चेक जाँचको लागि लाईन एकदमै लामो थियो । सबैजना अनुशासित भएर लाईनमा उभिएका थिए । एक डेढ घण्टापछि हाम्रो पालो आयो । हामी तिनै जनाको पालैपालो चेकजाँच भयो । पत्रकार हुँ भन्ने वित्तिकै wow Nice भन्दै मेरो पासपोर्ट हेरेर पठायो ।
अनि मनमनै नेपालको विमान स्थिलभित्र भोगेको व्यवहार र बेल्जियममा पाएको सम्मानबारे तुलना गरे । र आफूसंगै हिडेका साथीहरुलाई भने । यहाँका मान्छे कति सम्बेदनशील छन् है । कस्तो राम्रो व्यवहार गर्छन् ।
ब्रसेल्स साच्चिकै एक सुन्दर शहर हो । यहाँको हावापानी र मौसमपनि एकदमै मन पर्यो । हामी EU को कार्यतालिका अनुसार त्यहाँका विशिष्ट व्यक्तिहरुसंग भेटघाट गर्यो । मलाई एकदमै गजब लागेको त्यहाँको प्रणाली । हामी त्यहाँ हुने पत्रकार सम्मेलन, संसद बैठक लगायतको ठाउँको अवलोकन गर्यौं । एकदमै व्यवस्थित हुदोरहेछ । त्यतिबेला लाग्यो हाम्रो नेपालमा यस्तो व्यवस्था कहिले हुन्छ होला । त्यो विकास, त्यहाँको सभ्यता सबै हाम्रो नेपालमा पनि त लागु गर्न सकिन्छ होला नि ? यदि हामी सबै लाग्यो भने । यूरोप भन्दा हाम्रो नेपाल प्राकृतिक रुपमा कयौं गुना धनी छ । यूरोपको जस्तो काम गर्ने प्रणाली भइदिएको भए हाम्रो देशपनि कति धनी हुन्थ्यो है । यस्तै यस्तै गफ गर्दै हामी तिनै जना साँझाको समय सदुपयोग गर्थ्यौं।
यूरोपमा हाम्रो चिनजानको त कोही थिएनन् । तर त्यहाँ गएर एक नेपाली थारु सोम थारुसंग भेट भयो । उहाँले हामीलाई Oostende भन्ने ठाउँमा घुमाउन लग्नु भयो । ब्रसेल्सबाट Oostende पुग्न ३ घण्टा मेट्रो ट्रेनमा यात्रा गर्यौं । सोही क्रममा उहाँले यूरोपको ईतिहासबारे केही जानकारी दिनुभयो ।

हामी यूरोपमा ईतिहास बुझ्न म्यूजियम छिर्यो । त्यो ईतिहास हेर्दा लाग्थ्यो, हाम्रो देशमा यति ठूला ठूला यूद्ध भए तर, जिउँदो साक्षी बाहेक केही प्रमाण छैन । हाम्रो देशमा पनि यूद्धको ईतिहासलाई लिखित तरिकाले दस्तावेजिकरण गर्न सकेको भए आउँदो पुस्तामा देश विकासको लागि नयाँ नयाँ उपायको खोजी हुन्थ्यो होला ।
त्यहाँ कसैले कसैलाई हेप्दैनन् । सबैले एक अर्कालाई सम्मान गरेको देखे । यति सम्म कि संसद बैठकमा पनि को नेता कुन तहको नेता हो, त्यहाँ कुनै विभेद थिएन । सबै जनाको बस्ने सिट समान थियो । जो जसरी आए उस्तैगरि लहरै बस्दै गए । अनि मलाई लाग्यो नेपाल र बेल्जियममा त अकाश र जमिनको फरक छ । नेपालीहरु त्यहाँको राम्रो प्रणालीलाई लागु गर्नुपर्छ ।
नेपाली राजदुतसंगको भेटवार्ता
यूरोप पुगेको पाँचौ दिनमा हामी नेपाली दुताबासमा पुग्यो । त्यहाँ राजदुत दिलेन्द्रराज भण्डारीसंग भेट भयो । त्यहाँ पुग्दा नेपालको झिल्को आयो । कार्यालयको भित्ता नेपाली हस्तकलाले भरिएको थियो । पाँचदिन सम्म यूरोपमा एक्लोपन भएको अभाष छिनभरमै विलायो । उहाँसंग कुराकानी गर्न पाउँदा हामी निकै खुशी भयो ।
उहाँले हामीलाई कफि खाना अनुरोध गर्नुभयो । तर मलाई नेपालको स्वाद मिसिएको चिया खान मन लागेको थियो । उहाँले अनुरोध गरेको केही मिनेटमै नेपाली स्वाद मिसिएको चिया खाऔं है सर भन्दै खित्का मारेर हाँसे । नेपाली खाना खान नपाएको पनि पाँच दिन भईसकेको थियो । मनले नेपालीपन खोजिरहेको बेला कफि किन खाने चिया नै खाऔं भाथ्यो । उहाँले हाम्रो मनको भाव बुझ्नु भयो र चिया गफमै उहाँले नेपाली खाना पनि खाऔं न है भन्दै नेपाली रेष्टुरेन्टमा खाना अडर गर्नु भयो । खुशीले मेरो अनुहार उज्यालो भयो । राजदुतको आग्रह नकार्नै सकेनौ । हामी त्यो दिन नेपाली खाना थपि थपि खयौं ।

साथीहरुले मलाई जिस्कियाउदै भने ‘आज बल्ल उन्नतीको अनुहारमा चमक देखियो ।’ साच्चिकै मलाई विदेशीहरुले खाने खाना फिटिक्कै रुचि भएन । मनले नेपाली स्वाद खोजीरहेको बेला त्यो दिन ढुंगा खोजे देउता भेटिए झै भाथ्यो । विदेशमा हामी ३ जना नेपाली संगै भएपनि मलाई हप्ता दिनमै नेपालको धेरै याद आयो । सातौं दिन जब हामी फ्रन्सको पेरिस घुम्न गयो, त्यो बेला मेरो एक जना साथीसंग भिडियो कलमा कुरा भयो । उहाँसंग म थारु भषामा सम्बाद गरे । त्यतिबेला मेरो भाषा यति प्यारो लाग्यो कि म शब्दमा उत्तार्न सक्दिन । वरिपरि सबै विदेशीहरु थिए, छेउमा उभिएर थारु भषामा सम्बाद गर्न पाउँदा पेरिस यात्रा झनै रमाईलो भएको अनुभूति भयो ।
बेल्जियम सानो देश हो । तर पनि त्यहाँ १० हजार नेपालीहरुको जनसंख्या छ । नेपाली राजदुत भण्डारी भन्छन् ‘यहाँ बस्ने नेपालीहरु प्राय होटेल व्यवसायी खोलेर बसेका छन् । धेरैको राम्रो छ । कोही कोही समस्या लिएर आउँछन् । यहाँ बस्ने नेपालीहरु प्राय रमाएर नै बसेका छन् ।’

तर मलाई के लाग्यो भने विदेशमा बसेर पैसा आर्जन गर्नु राम्रो कुरा हो । तर यही बसेर पुरै जिन्दगी विताउनु देशको लागि ठूलो घाटा हो । केही समय बसेर विदेशको ज्ञान नेपालमा प्रयोग गर्नुपर्छ । विदेशको भन्दा कयौं गुना सम्भावनाहरु नेपालमा छ । विदेशको ज्ञान नेपालको स्रोत साधनहरुको प्रयोग गरि सुन्दर बनाऔं । हामी नबनाए कस्ले बनाउछ । त्यसैले हामी सबै एक अर्काको सारथी बनौं, अन्य देशमा सिकेका सिप आफ्नै देशमा सदुपयोग गरौं ।













