गुहरीको तयारी अन्तिम चरणमा, थारु संघसंस्थाद्धारा सार्वजनिक बिदाको माग
कैलाली, २ भदौ । थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आइरहेका गुहरी पर्वका दिन सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारले बिदा दिनु पर्ने थारु समुदायको संघसंस्थाले माग गरेका छन् ।
थारु समुदाय आबद्ध रहेका बिभिन्न ६ संस्थाले आज एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । २०६७ सालदेखि धनगढीको गुहरी चोकमा संस्थागतरुपले गुरही मनाउदै आईरहेको छन् । यहाँका संघसंस्थाले सोही वर्षदेखि नै पटक पटक बिदामो माग गर्दै आईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘यहि भदौ ४ गते प्रदेश सरकार र स्थानीय सरकारको कार्य तालिकामा गुरहीको बिदा देखिएकाले सो दिन तत्काल बिदा घोषणा गर्नको लागि अपिल गर्दछौँ’ आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक संघ,राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गरेर सरकारलाई बिदा दिन आग्रह गरेका हुन् ।
धनगढी उपमहानगर पालिका ८ गुहरी चोकमा ४ गते गुहरी असरैना कार्यक्रमको आयोजना गरिएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
गुरही भनेको के हो ?
पश्चिचम नेपालको थारु समुदायल नाग पञ्चमीको दिन गुरही पर्व भव्यरुपले मनाइने गर्दछन् । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौंमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको हो ।
गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कपडाको पुतला, खेलौना बनाउँछन् । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।
नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरु कपडाका रंगीचंगी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् ।
कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री) को प्रयोगले सुन्दर, रंगीचंगी बनाइएको हुन्छ ।
केटाहरु सोंटासँग खासै सरोकार राख्दैन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर केटीहरु गुरही र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।
केटा र पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटीहरु गुरही चौराहामा फाल्छन् र केटाहरु सोंटा, कोर्राले पिट्छन् ।
केटीहरु गुरही फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरुले केटीसँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।
कतिपय गाउँमा पिटिएका यी गुरही सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।
यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरुलाई बोकेरै सहभागी हुन्छन् ।
गुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रालाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्दछन् । यसो गर्दा दुःख, कष्ट, रोग, ब्याध लाग्दैन, भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।













