गुरही चोकको ईतिहास

गुरही थारु समुदायको पहिलो तिहुवार हो । जतिबेला म सानो थिएँ, त्यसताका गाउँमा सहेलीहरुसंग गाउँको दक्षिण तर्फको चोकमा गुरही असराउने (सेलाउने) गर्दथ्यो । त्यो बेलाको रमाईलो पल, आहा कति सुन्दर हुन्थ्यो । छोरी मान्छे लेहंगा चोरिया र फरिया लगाएर सजिएका हुन्थ्यो । हातमा एक थाली भुजा, त्यस माथि कपडाले बनाएको डल (पुतली) हुन्थ्यो । हामी त्यो पुतलीलाई पनि मजाले सजाउथ्यो । दिनभरिको मेहनतले बनेको त्यो पुतली साच्चिकै गुडिया जस्तै दखिन्थ्यो । गुरहीमा छोरी मान्छे मात्रै होईन, छोरा मान्छे पनि आफ्नै पहिरनमा सजिएका हुन्थे । उनीहरुको हातमा रंगीचंगी सोटा (कुस र घासबाट बनाएको खेलौना) हुन्थ्यो ।

म हुर्किदै गए, गाउँको स्कुलमा आठ कक्षा सम्म मात्रै पढाई हुन्थ्यो । जसले गर्दा पढाईको शीलशीलामा २०५८ सालमा धनगढी आए । सरकारले अन्य पर्वमा विदा दिएपनि थारु समुदायले मनाउँदै आएको पर्व गुरही मा भने विदा हुदैनथ्यो । उसरी त यो पर्व थारु समुदायकोलागि पहिलो पर्वकै रुममा लिने गरिएको छ । जसले गर्दा यो पर्वमा थारु छोरीहरुलाई निकै रमाईलो हुन्थ्यो । गाउँ छोडेर शहर पसेको छोरीलाई भने यो पर्व मनाउन सकस नै थियो । मेरो हकमा पनि त्यहि भयो । तर म ति चुनौति सामना गर्न तयार भए । र गुरही असराउन भने कहिलै छोडेन ।

म त्यो बेला धनगढी उपमहानगरपालिका ८ गुरही चोकको पछाडी बस्थे । हाम्रो बाबाहरुले बनाएको कच्ची घर थियो । म त्यो टोलमा वर्षौ दिन विताए । त्यहाँ ३ वटा थारु घर थियो विस्तारै ५ वटा थारु घर बन्यो । तर हामी हाम्रो टोलको नामाकरण गर्न सकेनौं । हुदा हुदै त्यहाँ थुप्रै पहाडी मुलका मान्छे आए र अहिले त्यो टोल ठूलो बस्तीको रुपमा सावित हुदैछ ।

जति बेला हामी ३-४ घर थियो, त्यो बेला स्कुले विद्यार्थीहरु मात्रै बस्थ्यो । मेरो साथी राधा चौधरी, सुनिता चौधरी भतिजी कल्पना चौधरी, सविता चौधरी, रविता चौधरी भतिजो अनुप चौधरी, कपिल चौधरी, अनुज चौधरी लगायतलाई गाली गरि गरि थारु पहिरनमा सजिन लागाउथे । त्यो टोलमा गुरही असराउनेमा अलिक ठूली म थिएँ र बाँकी सा साना भाई बहिनीहरुलाई लिएर हरेक वर्ष गुरही चोकमा गुरही असराउन जान्थ्यो । जति बेला त्यो चोकलाई क्याम्पस चोक भनेर चिनिन्थ्यो । जब की त्यहाँ कुनै क्याम्पस छैन ।

कुनै कुनै वर्ष हामी तिन चार जना मात्रै पनि गुरही असराएको अनुभव छ । त्यो बेला पहाडी मुलका मान्छे चकित पर्थे । के गरेका हुन् भनेर । शुरुवाटी चरणमा गुरही असराएका केही साथी काम र जिम्मेवारीको हिसावले टाढा टाढा भईसकेका छन् । मलाई राम्रोसंग सम्झना छ । गुरही नजिकिदै गर्दा थारु पत्रकार साथीहरुसंग २०६७ सालमा यो वर्ष सबै मिलेर गुरही अस्रराउनु पर्छ है भन्ने प्रस्ताव राखेको । जतिबेला म थारु पत्रकार संघ नेपाल कैलाली शाखाको कार्यबाहक अध्यक्ष थिए भने अविनाश चौधरी आदीवासी जनजाती पत्रकार महासंघ कैलालीका अध्यक्ष थिए । खासमा मैले पत्रकार अविनाश जी लाई दुबै संस्था मिलेर गुरही मनाउने प्रस्ताव राखेको थिए । तर अविनाश जी ले पत्रकारको संस्था मात्रै नभई थारुसंग सम्बिन्धित सबै संस्थासंग समन्वय र सहकार्य गरि गुरही मनाउन बैठक बोलाउनु भयो ।

हामी बैठक बसेर थारु पत्रकार संघ, आदीबासी जनजाती पत्रकार महासंघ, थारु कल्याणकारीणि सभा, थारु विद्यार्थी समाज, कमैया प्रथा उन्मुलन समाज, थारु महिला सभा, मुक्त कमलहरी विकास मञ्च लगायत संस्थाको बैठक बसी मुल आयोजक समिति गठन गर्यो र केही रकम संकलन गरि गुरही पर्व मनायो । जुन वर्ष म लगायत ५÷६ जना साथीहरु मात्रै लेहंगा र चोलियामा सजिएका थियो ।
अर्को वर्ष पनि त्यसै गरी नै बैठक बोलायो र पुरुषहरुलाई पनि धोटी (थारु पहिरन) अनिवार्य गरिदियो । त्यसबेला केही पुरुषहरु थारु पहिरनमा आए । लेहंगा लगाउनेहरुको संख्यापनि विस्तारै बढ्दै गायो । हुन त हामीसंग त्यो बेला मञ्च र साउण्ड बाजा हुदैनथ्यो । तर पनि हामी कार्यक्रम भव्य नै गर्थ्यो । हात्तमा माईक लिएर रिक्सा माथि उभिई उभिई भाषण गरेको अहिले पनि सम्झना छ ।

गुरहीको दिन मलाई एकदमै खुशी लाग्छ, ४÷५ जनाबाट शुरुवाट गरेको गुरही ८÷१० हजार जनाले संगै उएटै चोकमा असराउन पाउँदा । हुन त गुरही पश्चिम नेपालका थारु समुदायले मनाउदै आएको पर्व हो । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो भन्ने कुनै लिखित इतिहास त छैन । तर पनि परापूर्वकालदेखि नै यो पर्व नागपञ्चमीको दिनमा मनाउदै आएको थारु पुर्खाहरु बताउँछन् ।
खेतीपाती सकिएपछि रमाइलो गर्ने पर्वको रुपमा पनि गुरहीलाई लिइन्छ । रोपाइँ सकेपछि धानबालीमा किरा नलागुन् भनेर गाँउका छोरीहरु कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) चोकमा असराउने (सेलाउने) गर्छन् (सेलाइएका) गुरहीलाई गाँउका केटाहरुले सजाएर ल्याएका सोटाले पिट्ने गर्दछन् । यसरी गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने जनविश्वास छ ।

त्यस्तै यो पर्वलाई बालबालिकासंग सम्बन्धित पर्वको रुपमा पनि लिइन्छ । गुरही सेलाउने साना बालबालिकाहरुमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको थारु समुदायमा विश्वास छ । गाँउमा भएको दुख, संकट, विपत्ति भाग्ने साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउने पर्वको रुपमा पनि लिइन्छ ।

यसरी मनाईन्छ गुरही

शुक्लपक्ष चौथीको दिन साँझ चौकीदारले गाउँमा हाँक पार्छ । ‘घुघरी भिजाउ रे घुघरी’ (खाने परिकार मटर, केराउ, चना मकैै) को भुजा बनाउनलाई भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन त्यो परिकार पकाउँछन् । र गाउँका सबै घरका स–साना बालिकाहरुदेखि अविवाहित यूवतिहरु कपडाले बनाएको गुडिया (डल) ‘गुरही’ संगै घुघरी (बिशेष परिकार चना केराउ मकै) थालीमा सजाएर देवथानबाट बाहिर निस्कन्छन् । केटाहरु भने सजाएर बनाएको सोँटा (कोंर्रा) लिएर तयार हुन्छन् । छोरी मान्छे नयाँ लुगा लगाएर पुतली जस्तै बनेर ‘गुरही’ अस्राउछन् (विसर्जन, सेलाउन) गर्दछन् । सेलाउने बेला ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लूतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घरबाट विकार चिजलाई ढपाउने गर्दछन् ।

यसरी भयो गुरही चोकको नमाकरण

धनगढी बजारको भूमि थारु समुदायले आर्जेका हुन् । विगत लामो समयदेखि नै धनगढीमा बसोबास भएका थारु समुदायका यूवा यूवतिहरुले क्याम्पस चोकमै गुरही कार्यक्रम मनाउदै आईरहेकोले थारुहरुको धेरै जसो कार्यक्रम पनि त्यहि हुन्थ्यो । जुनबेला त्यो चोक क्याम्पस चोकबाट नामाकरण थियो । थरुहट आन्दोलन हुदाँ थरुहट आन्दोलनकारीहरुको जमघर हुने ठाउँ । यसरी आन्दोलनबाटपनि त्यो चोक थारु समुदायकै कुनै नाम दिएर नामाकरण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो ।

टीकापुर घटनापछि पहिलो गुरही पर्व २०७३ सालमा मनाउने क्रममा तत्कालिन कैलाली प्रमुख जिल्ला जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा क्यापस चोकलाई गुरही चोक भनेर विधिवत तरिकाले नामाकरण गरियो ।

थारु समुदायले उठाउदै आएको अवाजलाई थप बलियो बनाउन धनगढी नगरपालिकाका मेयर गोपाल हमालले गुरही पर्व २०७९ मा चोकको पहिचान झल्किने मुर्ती बनाउँछौं भन्दै अभिव्यक्ति समेत दिएका थिए । मलाई लाग्छ, धनगढीमा बसोबास गर्ने सबै समुदयले अ आफ्नो पहिचान झल्किने सालिक तयार गर्दैछन्, गरिरहेका छन् । त्यसैले गुरही चोकमा पनि गुरहीको सालिक राख्दा यस क्षेत्रको सौन्दर्य बढ्नेछ भन्नेमा विश्वस्त छु । त्यसैले आउँ सबै हात्तेमालो गरौं । गुरही चोकमा गुरहीको मुर्ती खडा गरौं ।