फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै

तिख्खर र फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै गएको छ।

केही वर्षअघिसम्म थारु बस्तीमै सीमित रहेका ‘थारू परिकार’ अहिले भने ब्रान्ड बन्दै गएको छ। गाउँदेखि शहरसम्म धेरैको रोजाइमा थारू परिकार परिरहेका छन्। कतिपयत थारू परिकारको स्वाद लिन थारू होमस्टे र होटेलमा पुग्न थालेका छन्।

घोराही उपमहानगरपालिका-१६ स्थित कबिला रिर्सोटमा हरेक दिन थारू परिकारको स्वाद लिन आउनेको घुइचो लाग्ने गरेको छ। थारू समुदायभन्दा गैर थारु समुदायका मान्छे बढी आउने गरेको रिर्सोटका प्रबन्धक विकास चौधरी बताउँछन्।

थरू परिकार स्वस्थ, अर्गानिक र स्वादिलो भएकाले पनि सबैको रोजाइ भएको चौधरीको बुझाइ छ। यो रिर्सोटमा विशेष गरेर थारू परिकार ढिक्री, घोङघी, अनदीको रोटी, माछा, गंगटा, लोकल भालेको मासुका परिकार, सुंगुरको मासुका परिकार, आलुको चटनी बन्ने गरेका छन्। यहि स्वाद लिन ग्राहक आउने गरेको उनी बताउँछन्।

त्यस्तै, बाँकेको गाभर भ्याली होमस्टेमा थारु परिकार नै ब्रान्ड बनेका छन्। थारू परिकारले नै होमस्टे चलेको सञ्चालक कृष्ण चौधरी बताउँछन्। “आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पनि थारू परिकार नै पर्छन्,” सञ्चालक चौधरी भन्छन्, “अन्य परिकार भन्दा भिन्नै स्वाद भएकाले पनि थारु परिकार ब्रान्ड बनेको हो।”

केही वर्षयता थारु समुदायका परिकारको माग बढेको छ। ग्राहकको मागअनुसार, थारू परिकार आपूर्ति गर्न नसकिएको उनी बताउँछन्।

लोकप्रिय थारू परिकार

ढिक्रीस् ढिक्री सबैभन्दा लोकप्रिय र मौलिक परिकार हो। चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइन्छ। पानीको बाफमा उसिनेर पकाइन्छ। करीब एक घण्टा जति ढिक्रीलाई पानीको बाफमा पकाइसकेपछि तयार हुन्छ।

ढिक्री विशेष गरेर माघी र दशैंमा खाने प्रचलन थियो। तर, अहिले भने व्यवसायीक रुपमा थारू होमस्टे र होटलमा बिक्री भइरहेको छ।

घोङ्घी : घोङ्घी थारू समुदायको अर्को लोकप्रिय परिकार हो। शंखेकीराजस्तै देखिने घोङ्घी माछा पाल्ने पोखरी, तलाउ या खोलामा पाइने जीव हो। घोङ्घी बटुलेर ल्याएपछि करीब १२ घण्टा जति भाडामा राखेर पिठो खुवाइन्छ। त्यसपछि घोङ्घीलाई पानीमा उमालेर सफा गरिन्छ।

घोङ्घीको पछाडिको भाग काटेर आवश्यकताअनुसार पकाइन्छ। घोङ्घीलाई ग्रेभी या उसिन्ने गरिन्छ। पकाइसकेपछि घोङ्घी चुसेर खाने गरिन्छ। घोङ्घी चुस्दा घोङ्घीको भित्री मासु मुखमा आउछ। घोङ्घी खाएपछि, ढाड, घुँडा तथा जोर्नी दुखाई कम हुने जनविश्वास छ।

गंगटो : थारु समुदायको अर्को परिकार हो, गंगटो। दलदले हिलो, खोला तथा छिपछिपे पानी या दुलोमा पाइन्छ। गंगटालाई विभिन्न तरिकाले पकाउने गरिन्छ।

तेलमा फ्राई गरेर या ग्रेभी बनाएर वा सुपमा पकाएर खाने प्रचलन छ। यसलाई पोलेर अचार या चटनीको रुपमा पनि खान सकिन्छ।

माछा : माछा थारु समुदायको विशेष परिकार हो। हरेक पर्वमा थारू समुदायले माछा मारेर खाने प्रचलन छ। चाडपर्वमा मात्र होइन, फुर्सद भयो कि थारु समुदायले नजिकै खोला, पोखरी, तलामा माछा मारेर खाने गर्दछन्।

माछामध्ये थारु समुदायले झिँगाजस्तै उफ्रिहिँड्ने झिँगे माछा, गुइटा माछा, सिध्रा माछा लोकप्रिय छ। माछालाई विभिन्न तरिकाले पकाएर खाने गरिन्छ।

घरेलु मदिराः मदिरा थारु समुदायको अर्को लोकप्रिय पेय पदार्थ हो। महुवा, अन्दी, कोदो, मकै, जामुन, टिमुर, कुरिलोबाट मदिरा उत्पादन गरिन्छ। परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ नै गर्न थालिएको छ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा थारु समुदायको मदिरा ब्रान्डिङका लागि १२ करोड ८९ लाख बजेट नै छुट्याएको छ।

परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरा ब्रान्डिङ गर्न कानूनी व्यवस्था र औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रमका बजेट विनियोजन गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउँछन्। यसको ब्रान्डिङ गर्दा प्रदेशका २५ हजार जनाले रोजगारी पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ। हिमाल खबरबाट ।