दाम्पत्य जीवनको यौन विग्रह : आफ्नै ओछ्यान यातना गृह

बुटवलकी जुनाको पेटमा नौ महिनाको शिशु थियो । पेट बढेर सुत्न मात्र होइन, सास फेर्नसम्म गाह्रो हुन्थ्यो । तर, सुत्केरी हुने दिनसम्म पति गणेशले निरन्तर यौनसम्बन्ध राखे । सुत्केरीको ११ दिनपछि पनि पुनः पोर्न साइटको भाव र आसन अनुसार यौनसम्बन्धमा बाध्य पार्न थाले । सुत्केरीमा यौनसम्बन्ध राख्दा हुने पीडा र रत्तस्रावले जुना शिथिल हुन थालिन् ।

आफ्नै पति दैत्य, आफ्नै घर र ओछ्यान यातना गृहजस्तै बने । हरेक रात कालरात्रि सरह भयो । सहनै नसकेपछि जुनाले माइतीको शरणमा गएर गत मंसिरमा इलाका प्रहरी कार्यालय, बुटवलमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । अझै मुद्दा टुंगिएको छैन । जसरी पनि पतिबाट उन्मुक्ति खोजेको तर छोराछोरीको मायाले सम्बन्धविच्छेद गर्न नसकेको जुना बताउँछिन् । लुम्बिनी प्रदेश सरकारको वस्तुस्थिति विवरणमा ६ प्रतिशत महिला गर्भावस्थामा पतिबाट हिंसामा परेको उल्लेख छ । पतिबाट हिंसा भोग्ने २४ प्रतिशत महिला छन् । जुना तिनै मध्येकी हुन् ।

रूपन्देहीको जानकी सुनीताले पनि पतिको यौन हिंसा सहन नसकेर बुटवल प्रहरीमै घरेलु हिंसाविरुद्ध उजुरी दिएकी रहिछन् । सुनीताका अनुसार, पति श्याम यौन उत्तेजनामा आउँदा चिथोर्ने, चिमोट्ने वा दबाउने गर्थे । सुनीता पीडाले रुन थालेपछि मात्रै उनी सन्तुष्ट हुन्थे । क्रमशः उनले कार्यालय जाने बेला र दिउँसो समेत यौन सम्बन्ध राख्न थाले । सुनीताले रोग हुन सक्ने भन्दै मनोचिकित्सक कहाँ जान आग्रह गरिन् । तर, पति मानेनन् । त्यसपछि आफन्तको सहयोगमा घरेलु हिंसाविरुद्ध उजुरी हालेकी रहिछन् । ‘उसको अँगालो र ओछ्यान यति हिंस्रक थियो कि दैत्य बनेर आउँथ्यो र लुट्थ्यो,’ सुनीताले पीडा पोखिन्, ‘यौनका नाममा यति पीडा दियो कि संवेदनशील अंग मात्र होइन, शरीरभरि कोपरेका, चिथोरेका र टोकेका दाग छन् ।’

यी दुई महिलाका घटनाले हाम्रा ओछ्यानहरू अशान्त, विवादित र हिंस्रक बन्दै गएको पुष्टि हुन्छ । प्रहरीकहाँ पुग्ने घरेलु हिंसाका झन्डै ९० प्रतिशत घटना ओछ्यानबाटै सुरु हुने रहेछन् । लुम्बिनी प्रहरीमा आर्थिक वर्ष २०७४–७५ देखि २०७८–७९ सम्मका पाँच वर्षमा १० हजार ९२७ घरेलु हिंसाका उजुरी परेका छन् । अनुसन्धानकर्ता प्रहरीका अनुसार, तीमध्येका अधिकांश पतिपत्नीबीच यौन असन्तुष्टि, यौन दुर्व्यवहार र यौन विचलनले गर्दा निम्तिएका समस्या छन् । महिला र पुरुषका बीचमा यौनबारे बुझाइ फरक छ । त्यही फरकपनाले समस्या बढाएको छ । प्रहरीसँगै न्यायका लागि अदालत वा मनोवैज्ञानिक परामर्शका लागि जाने महिलामा कतै न कतै यौन विचलन जोडिएको छ ।

हुन त पछिल्लो समय नेपाली समाज यौनप्रति खुल्दै र उदार बन्दै गएको छ तर यौन शिक्षामा हुनुपर्ने उदारता यौन विचलनका रूपमा देखिन थालेको छ । जोडीमा प्रेमभाव खोज्नुको साटो यौन प्यास खोज्न र मेट्न थालिएको छ । यसले गर्दा मायाप्रेमले रंगिने हाम्रा ओछ्यान अशान्त र विवादित बन्दै गएका छन् । प्रेम हिंसामा परिणत भएको छ । यसकै कारण सम्बन्धविच्छेद हुने क्रमसमेत बढेको छ ।

भनिन्छ, यौन व्यवहारका लागि आफ्ना इच्छा तथा यौन क्रियाकलापबारे खुलेर एकअर्कासँग कुरा गर्ने वातावरण हुनुपर्छ । दुवैले एकअर्काका शरीर र भावना बुझ्नुपर्छ । विडम्बना, हाम्रो समाजमा अधिकांश महिला आफ्ना पतिको यौन प्रस्ताव नकार्ने वा आफ्नो असहमति राख्न सक्ने अवस्थामा छैनन् । असहमति राखिहाले दुर्व्यवहार सहन बाध्य छन् । यसैले हरेक रात आफ्नै पतिबाट आफ्नै ओछ्यानमा महिलाहरू चुपचाप बलात्कृत भइरहेका छन् । रसपूर्ण दाम्पत्य यौन व्यवहार नीरस बन्दै गइरहेको छ । असन्तुष्टि र विचलनले पतिपत्नीबीचको यौनसम्बन्धलाई हिंसामा परिणत गरिदिएको छ । दाम्पत्य जीवन विग्रहतर्फ र व्यक्ति अपराधकर्मतर्फ उन्मुख भइरहेका छन् ।

सामान्यतया जोडीबीच एकआपसमा स्वीकृत विधिबाट गरिने यौन क्रियाकलापको आनन्द यौन व्यवहार हो । दाम्पत्य सम्बन्धमा समेत कसैले आफूलाई दबाब दिएको अनुभूति गर्छ भने त्यो यौन दुर्व्यवहार हो । यौनेच्छा हरेक व्यक्तिमा फरकफरक हुन सक्छ । इच्छा नहुँदा इच्छा नभएको कुरा भन्न पाएमा मात्र यौन व्यवहार राम्रो हुन्छ । नत्र पतिपत्नीबीचको सम्पर्क पनि बलात्कार हुन्छ । इच्छाविरुद्ध भएको भए पतिपत्नीबीचको सम्पर्क बलात्कार हुने कानुन हाम्रो देशमा पनि छ । तर, कानुन बने पनि ओछ्यानमा पतिपत्नीबीचको यौनसम्बन्ध पीडादायी बन्न छोडेको छैन ।

यौन व्यवहार व्यक्तिको नियन्त्रणबाहिर जानु विचलन हो । त्यो पीडाजनक यौन व्यवहार, यौन दुर्व्यवहार, शोषण र बलात्कारका रूपमा देखिने गर्छ । फलस्वरूप व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुन्छ । कामको थकान, घरायसी कामको बोझ र छोराछोरीको कारणले होला, पुरुषमा भन्दा महिलामा यौन रुचि कम हुन सक्छ । पतिपत्नीबीच यौन रुचि नभए, सन्तुष्टि नभए वा कसैमा विचलनको भाव आए समस्या केलाएर उचित समाधान खोज्नुपर्ने हो । तर, कतिपय विवाहित जोडी यसैलाई समस्या बनाएर विवाहेतर सम्बन्धमा लागेका हुन्छन् । आफूहरूबीचको समस्याको समाधान नखोजी विवाहेतर सम्बन्धमा लाग्नु ठूलो यौन विचलन हो ।

शारीरिक बनोटका कारण पुरुषले चाहेमा जसरी पनि यौन सन्तुष्टि लिन सक्छन् । यसैमाथि हाम्रो समाज पितृसत्तात्मक छ । यसले महिलालाई सधैं संवेगरहित वस्तुजस्तो व्यवहार गर्न उद्दत गरेको छ । व्यक्तिका असीमित यौन चाहना हुने तर स्वीकृत यौन व्यवहार कम हुने कारणले पनि यौन विचलन जन्मन्छ । महिलालाई यौन प्यास मेट्ने माध्यम ठान्ने पितृसत्तात्मक मान्यता दोषी छ । सामाजिक र सांस्कृतिक रूपमा रहेको लैंगिक भेदभाव र पुरुषप्रधान सभ्यता पनि उत्तिकै जिम्मेवार छ । यौनलाई पुरुषका हकमा बहादुरी र महिलालाई चरित्रहीनताका रूपमा हेरिँदा पनि विकृत मानसिकता बढेको छ ।

अपसंस्कृतिको सिको, अश्लील तस्बिर तथा भिडियो र लागूपदार्थको सहज उपलब्धताका कारण कतिपय व्यक्तिमा यौन विचलनतर्फ बढेको छ । नशामा रहँदा हरेक समय यौन उत्तेजना हुने र त्यस्तो उत्तेजना घरपरिवारभित्र वा बाहिर पोख्ने गरेका छन् । यौन विचलन व्यक्तिको मानसिक विकार पनि हो । मानसिक रूपमा स्वस्थ व्यक्तिमा यौन विचलन आउँदैन । उसले यौन दुर्व्यवहार गर्नु अपराध हो भन्ने अनुभूति गर्छ । यसर्थ कुनै व्यक्तिमा यौन विचलन देखिए उपचारमा लाग्न जरुरी छ । यौन व्यवहार रसपूर्ण पारिवारिक जीवन व्यतीत गर्न ऊर्जा दिने महत्त्वपूर्ण प्रक्रिया हो । कान्तिपुरबाट ।