महिलाले आफ्नो शरिरमाथिको अधिकार भुल्नु हुदैन
गाउँघरमा विरामीहरु बिभिन्न समस्या लिएर धनगढी पुग्छन् । स्वास्थ्य उपचारकोलागि सुदूरपश्चिममा पहिलो ठूलो अस्पताल सेती प्रादेशिक अस्पताल छ । म धनगढी बस्दै आएको केही वर्ष भयो । यो अवधिमा गाउँबाट उपचारकोलागि अस्पताल आउँनेहरुलाई प्राय अस्पताल सम्म पुर्याउन सहयोग गरिरहन्छु ।
केही दिन पहिला मेरो आफ्नै आफ्न्त (नाताले बुहारी पर्ने) बिरामी भईन् । उनलाई लिएर सेती प्रादेशिक अस्पताल आए । भर्खरै बच्चा जन्मेको थियो । बच्चा जन्मिनेबेला उनी नर्मल नै थिईन् । तर एक्कासी ब्लड प्रेसर हाई भएर उनी अचेत भईन् । बेला बेलामा होस आउँथ्यो । उनी धेरै बान्ता गरिन् । उनको शरिर पुरै गलिसकेको थियो । जुन कारण भर्खरै जन्मेको बच्चालाईलाई बिगौते दुध समेत चुसाउन पाएकी थिईन्न ।
हामी डाक्टरलाई बोलाएर चेकजाच गरायो । डाक्टरको सुझाब अनुसार भर्ना गर्नुपर्ने भयो । भर्ना पनि गर्यो । तत्पश्चात निकै समयपछि बुहारी अलिक होसमा आईन् ।
डाक्टर आयो र भन्यो, समयमै अस्पताल ल्याएर आमा र बच्चाको ज्यान जोगाउन सफल भयो । यदी यस्तो अवस्था बच्चा जन्मिनु भन्दा अगाडी भएको भए एकदमै जोखिम हुन्थ्यो । त्यसैले प्रसुति हुन अस्पतालमै आउनुपर्छ । बुहारीको त्यो पीडा देख आफु सुत्केरी हुँदाको अवस्था सम्झे । र बुहारीलाई सुमसुमाउदै सबै ठिक हुन्छ भन्दै हौसला दिए ।
लगभग बुहारी सामान्य अवस्थामा आईसकेकोले उनलाई केही खुवाउँनु पर्छ भन्दै च्याउ र ज्वानो फुराएर सुपको व्यवस्था गरे । बुहारीलाई सम्झाउदै तातो तातो सुप खुवाएँ । सासु आमाको काखमा बच्चालाई राखे । आफू बसेको वरिपरि आफै सफा गरे । बुहारीको कपडापनि मिलाए । अनि साँझाको खाना तयार गर्न कोठातिर लागे ।
हाम्रो विरामीको छेउमा पनि एक जना महिला विरामी थिईन् । उनीपनि बेला बेला बान्ता गरिरहेकी थिईन् । बाटोभरि उनलाई सम्झे । ति महिलालाई के भएको होला ? किन यसरी बान्ता गर्दै छिन् लगायत धेरै प्रश्न मनमा खेलिरहयो । खाना लिएर अस्पताल आए । ति महिलाको अबस्था देखेर छेउमै गई सोधे । तपाई के समस्या हो ? उनले मसिनो स्वरमा भनिन । मेरो अर्कै समस्या हो । मलाई पेटमा बच्चा आयो भने यस्तै हुन्छ ।
मैले पुनः सोधे, कति महिना भो ? उनले दुई महिना भएको जानकारी दिईन् । उनलाई पहिलो बच्चाको बेलापनि सात आठ महिना सम्म यस्तै भएको थियो रे ।
उनको घरमा दूई वटा छोरी छन् । छोराको आशमा पुनः उनी अर्को बच्चा जन्माउदै थिईन् । उनका घरमा सबैलाई छोरा छाहिएको थियो । तर ति महिला ज्यानको प्रवाहा कसैलाई थिएन । ति महिलापनि के गर्नु, परिवारको खुशीकोलागि आफू मर्नलाई समेत तयार भएकी थिईन् ।
यो दृष्य हेर्दा लाग्यो छोराछोरी बराबर भन्ने नारा अहिलेपनि नारामै सिमित छ । गाउँदेखि शहरसम्म महिलाहरुले भोग्ने पिडा उस्ता उस्तै छ ।
एक पालिकामा कार्यरत महिला तथा बालबालिका शाखाका अधिकृतको पीडापनि उस्तै छ । उनी महिनावारी भएपछि परिवारबाट धेरै गाली सहनुपर्छ । घरमा कोही पाहुना आए परिवारल अभागीको संकेट गर्छन् । किन की उनको कोखबाट छोरा जन्मेन रे ।
ती परिवारमा छोरा जन्माउनेहरु मात्रै भाग्यमानी हुन् रे । बाँकी त दुखी आत्म । सरकारी जागिरे बुहारीले यस्तो सम्म सहनुपर्छ भने बाँकी महिलाको हालत के होला ? सोच्न बाध्य भए ।
महिलाको अधिकारकालागि पैरवी गरिरहने शाखा प्रमुख होस्, या संसदको रोस्टममा उभिएर टेवल टक गर्ने सांसद । शिक्षक होस्, या डाक्टर । अहिलेपनि हाम्रो समाजमा महिलाले आफ्नो शरिरमाथि अधिकार उपभोग गर्न पाईरहेका छैनन् । महिलाले कुन समयमा विबाह गर्ने, कति बच्चा जन्माउने, परिवार नियोजनको साधान प्रयोग गर्ने वा नगर्ने लगायत विषयमा अहिलेपनि पुरुसत्वबाद हाबी छ । त्यसैले त शिक्षित महिलाहरुपनि यी सबै घटनाका पात्र बन्न पुगेका हुन् ।
त्यसै अब सबै महिलाहरु आफ्नो शरिरमाथिको अधिकारबारे जागरुक हुन जरुरी छ । “मेरो शरिर मेरो अधिकार” को सवालमा हामी सबै प्रष्ट हुनुपर्छ । यसमा कसैलेपनि सम्झौताको सौदाबाजी नगरौं अनि मात्रै यी असमान बिभेदको अन्त्य हुन मदत पुग्ने छ । जसले गर्दा आउँ आजैदेखि बोलौं, अहिले नबोले कहिले बोल्ने ।













