कस्तो छ विद्या चापागाईको ‘हेर्ने कथा’को यात्रा ?
“कहिलेसम्म ‘हेर्ने कथा’ चलाउन सक्छौं थाहा छैन। तर, ‘हेर्ने कथा’को जस्तो कथाहरू सधै भनिरहन मन छ। यसमा भोलि कमल र म नरहौंला, नयाँ पुस्ता आएर यि कथाहरू निरन्तर भन्नुहोला भन्ने आशा र विश्वास छ।”
कथा भन्ने कर्ममा छु, तर आफ्नो पृष्ठभूमिको कथा भने फरक छैन। आम नागरिकको कथा जस्तै सामान्य जीवनबाट आएकी हुँ। काठमाडौँको काखमा जन्मिए। आमाबुवा कृषि पेशामा नै हुनुहुन्छ। खेतीपाती, गाईगोठसँगै हुर्किएँ।
मैले गोठाटारमा पढे र रत्न राज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेँ। यस बीचमा विभिन्न सञ्चारमाध्यममा काम गरेँ। बीबीसीमा प्रस्तोता र निर्माता भएर काम गर्दा देशभरि घुम्ने अवसर पाएँ। देशको वास्तविक चित्र देखेँ। त्यहाँ काम गरिरहँदा जुनसुकै क्षेत्रहरूमा पनि भाले टाउकेहरू नै देखेँ।
हामीले काम गर्ने मिडियाको विषयवस्तुमा पनि उही अवस्था पाएँ। त्यहीँ समयमा लाग्यो, के साँच्चै हामीले आवाजविहीनहरूको आवाज बोलिरहेका छौं तरु यहीँ प्रश्नले घोचिरहेको थियो। यो प्रश्न सुन्दा जति सामान्य सुनिन्छ, यसलाई मिहिनरुपमा बुभ्mदा यो त गहिरो प्रश्न रहेछ।
त्यहीँ बीचमा हामीले चिया गफमा, के अब हामी सधै एउटै व्यक्ति र क्षेत्रलाई उही प्रश्न मात्र गरिरहने हो त भन्ने लाग्यो। हामी बाहिर निस्केर पहिचानविहीन भएकाहरूको कथा कहिले भन्ने तरु हामी सधैँ घटनाका पछि मात्र कहिलेसम्म लाग्ने तरु काठमाडौँमा नै भएका वास्तविक कथाहरू पनि नभन्नेरु
घोत्लियौं, यो कुराले पोलिरह्यो। मलाईसँगै अर्को साथी कमल कुमारलाई पनि यहि कुराले पेट पोलेको थाहा पाएँ। त्यसपछि कुनै समय बीबीसीलाई नै आफ्नो सपना बनाएकाहरूलाई त्यहीँ बीबीसीले अर्को सपना देख्ने बनाइदियो। त्यसैले बीबीसी मलाई सपना देख्न सिकाउने कारक भएको लाग्छ। ‘हेर्ने कथा’ शुरू गर्न बीबीसी नै एक प्रेरणा हो।
त्यसपछि हामीले बीबीसीको काम केही नसोचि चटक्कै छाडिदियौँ। हामीले बनाएको कथा कसले हेर्लान वा नहेर्लान भन्ने पनि सोचेनौँ। अब साधारण मान्छेको कथा भन्छौँ भन्नेमा प्रष्ट थियौँ। त्यही बीचको कुराकानीमा ‘हेर्ने कथा’को नाम पनि फुर्यो। माध्यम सजिलो हुन्छ भनेर युट्युब नै रोजियो।
विषयवस्तुका हिसाबले भने कठिन भएन। हामीले आम मानिसका कथा खोज्न र सोच्न थाल्यौं। मुलधारका मिडियाले कथा नमानेका पात्र खोज्यौं। यस्ता पात्रहरू जसलाई आफू कथा हुँ भन्ने थाहा छैन, उनीहरूका कथा भन्न थाल्यौँ। त्यसपछि एक एक कथा आउन थालेपछि दर्शकहरू आफैले आफनो गाउँघरमा पनि यस्ता कथाहरु छन् भनेर भन्न थाल्नुभयो। हाम्रो पनि कथा छन् भनेर प्रतित्रिया आउँन थाले।
कथा भेटिने भनेको आफ्नो ‘कम्फर्ट जोन’बाट निस्किएपछि भेटिने रहेछ। अनि हाम्रो कथा भन्ने शैलीमा खास फरक छैन। पहिला हामी कथाका पात्रहरूबारे जानकारी लिन्छौं। २४ घन्टादेखि तीन दिनसम्म पनि बिताएका हुन्छौं। पात्र कति सहि र गलत भन्ने कुरा त्यही बीचमा थाहा हुन्छ। कथा लिएर आएपछि ‘पोस्टप्रोडक्सन’मा एक सातासम्म लाग्छ। त्यसमा कार्यक्रमको समयको सीमा नभएकाले खुलेर बनाउँछौं। कुनै कथा १४ मिनेट त कुनै एक घन्टासम्म पनि छन्।
अहिले समाजिक सञ्जालका विषयवस्तु र त्यसमा पनि छोटा कथाहरू बिकिरहेको भन्छन्, तर हामीलाई हाम्रा दर्शकले कथा छोटो भएको भन्नुहुन्छ। हाम्रो कथाहरू लामा हुन्छन् किनभने हामी पात्र र चरित्रलाई डोरीले जसरी बुन्दै जान्छौँ। समयको कुनै हामीसँग सीमा हुदैन। हामी त कथासँगै उडिदिन्छौँ। हामीलाई दर्शकले नै धेरै पठाएका कथाहरू बनाइरहेका हुन्छौँ।
मान्छेलाई आफ्ना र आफ्नो भेगको कथा आइरहेको देख्दा उत्सुकता हुदोरहेछ। हामी त कथा देखाएपछि दर्शकको प्रायः प्रतिक्रिया पनि पढ्छौँ। धेरैलाई उत्तर पनि पठाउँछौं । यो गर्नुपर्छ भनेर भन्दा हामी दर्शकलाई साच्चै सम्मान गछौँ।
कथा खोज्ने क्रममा धेरै डरलाग्दा ठाउँमा पनि पुगियो। जस्तै चेपाको कथा। तर, त्यो डर उनीहरूको हरेक दिन बाँचेका हुन्छन्। हामी त एक दिन न बाँच्ने हो। उनीहरूले बाँचेको जीवन थोरै पनि बाँचेनौँ भने त्यो कथा भन्न सकिदैन। त्यसैले पात्रहरूसँगै खान्छौँ, खेल्छौँ, रहन्छौं। त्यसले पनि हाम्रो कथा कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा निखार आउँछ।
यसरी कथा बनाउँदै जाने क्रममा हामीलाई आँशु बेच्ने पनि भन्छन्, तर हामी कर्ममा विश्वास गरेर कर्म नै गर्नेहरूको कथा भन्छौं। त्यसैले केही पैसा दिएर उनीहरूको कर्मलाई हियाउन हुन्छ जस्तो लाग्दैन। हामीले दुई–चार रुपैया दिँदा उनीहरूको नै अपमान हुन्छ। कति स्थानमा एक हातले दिएको अर्को हातले पनि थाहा नपाओस् भन्ने पनि अभ्यास हुन्छ। तर, त्यो दिएको कुरा सामाजिक सञ्जालमा हाल्नुपर्छ भन्ने लाग्दैन।
त्यसैले हामी पत्रकारिताको सीमामै रहेर काम गछौं। हामीले ति पात्रहरूको कथा देखाउने हो। हामीले पैसा उठाएर दिने हैन। त्यसमा हामीलाई ‘डलर खानेहरू’ पनि भन्छन्। तर, हामीले विषयवस्तुका हिसाबले कसैको एक रुपैयाँ पनि खाएका छैनौँ। डलर कमाउने, आँशु बेच्ने भन्दा पनि कर्ममा विश्वास गर्नेहरू, आफ्नो कर्मबाट खुशी भएकाहरूको कथा दिएका छौं। त्यहि नै दिइरहन चाहन्छौं।
हाम्रो आयस्रोतको माध्यम भने सहयोग, विज्ञापन, ‘कन्टेन्स पार्टनरशिप’ र युट्युबको नै हो। तर, हामीले अहिलेसम्म कमाइ सकेका छैनौं। कार्यालय चलिरहेको छ। फेरि हामीले उत्पात कमाउने भन्दा पनि कर्मशिलहरूको कथा भन्नु छ भनेर लागीपरेका हौं। त्यहीँमा हाम्रो व्यवसायिक दिर्घकालिनताको खोजी गरिरहेका छौँ।
अर्को, आँशु बेचे भन्ने कुरामा भने त्यो आँशु हाम्रा पात्रहरूले मन खोल्दा आएको हो। हामीले त्यसलाई बेच्न खोजेका होइनौं।
हामी व्यवसायिक ‘मोडल’ खोजिरहेका छौं। हामी कहिलेसम्म यसरी काम गर्न सक्छौं थाहा छैन, तर ‘हेर्ने कथा’को जस्तो कथाहरू सधै भनिरहन मन छ। यसमा भोलि कमल र म नरहौंला, नयाँ पुस्ता आएर यि कथाहरू निरन्तर भन्नुहोला भन्ने आशा र विश्वास गरेका छौं।
(हिमाल मिडिया मेला २०२३ मा ‘मिडिया कथावाचन’ शीर्षकको बहसमा चापागाईले राखेको विचारको सम्पादित अंश।)













