मेरा बा, सन्दुक र सपना
मेरा बा, ले
बषौंदेखि राखेको एउटा सपनाको सन्दुक छ ।
जिन्दगीभरि गोठालो गरेको
तीता–मीठा कुराहरूको पोको,
मालिकको गाली गलौच
हृदयमा लागेका चोट
र बनावटी मुस्कान छ,
हो, यि सबै चीजहरुको पोको पारेर
उही सन्दुकमा राखेका छन् ।
हलो–जुवा, गुँइ–गोरु, खेत–बारी
जहाँ मेरा बा, का हात–खुट्टाहरू चल्छन्
सीप चल्छन् र जाँगर चल्छन्
हो, म त्यहीं देखिरहेछु,
पानी नपाएर धाँजा फाटेका खेत जस्तै
पट्पटी फुटेका खुट्टाहरू
कर्कलाका पात जस्तै गलेका हातहरू
तर, पनि
जब जाँगर र पाखुरी चलाउँथे बा, ले
यता बर्षातको पानी
घरको छानोबाट खसेर
ती धाँजा फाटेका खेत सिंचित भए झैं
मेरा बा, का श्रम र पौरखले निस्किएका
पसिनाले मन सिंच्थे
र पटपटी फुटेका खुट्टाहरू बिशेक हुन्थे
जहाँ बा, का सुन्दर सपनाहरू हाँस्थे ।
मंसिरमा भरिएका भकारीहरू
जब रित्तिएर भदौरे भेलझैं ओरालो लाग्थे
र राज गर्थे दुःखका पोकाहरू
यता बा, का लगौंटीमा
अभावका गाँठोहरू पर्थे
अनि, बा खुब गहिरिएर हेर्थे
मालिकको जालझेलमा लुकेका बनावटी हाँसो
मेरी आमाको मौनता
हाम्रा आँखाहरूमा आशाको नजर
बिचरा ! बा
निर्जवाफ टाउको निहुराउँथे
र मनको सन्दुकमा
यो कुरा पनि पोको पारेर राख्थे ।
माघको खोज्नी–बोझ्नी, भुरा खेलमा
बर्षभरिका तीता–मीठा कुरा संगालेर
मनभरि हिम्मत र सपना बोकेर
जब जान्थे बा सभामा
यता, मालिकका एक गीलास रक्सी
एक दुना मासु
र मीठो वचन सुनेर
बोकेर गएको मनको पोको
कहिल्यै फुकाउन सकेनन्
र फर्काएर ल्याउथे
अनि, राख्थे फेरि आफ्नै सन्दुकमा ।
जहाँ मालिकबाट भोकमरीमा ल्याएको धान
दिदीको विहेमा लिएको ऋण
र, अजिङ्गर जस्तै मोटाइरहेको सौंकी
बिचरा ! बा
यि सब आँखै अगाडि देखे पनि
गुपचुप पोको पारेर राख्थे आफ्नो सन्दुकमा ।
जब बा मलाई छोडेर गए
र, मैंले खोलेको थिएँ
बा, ले राखेको त्यही सन्दुक
जहाँ बा, का पीडा र दुःखका पोका थियो
सुन्दर सपनाको पोको थियो
र एउटा अलग्गै लुकाइएको पोको पनि थियो
जहाँ मेरी आमाको टीका थियो
संगालेर राखिएको प्यार थियो
र, सुन्दर कहानी थियो
जसको एक छेउमा गाँठो पारेर राखिएको थियो सगुन ।
जसमा लेखिएको थियो
यो सन्दुक तिम्रो हो
यो जिन्दगी तिम्रो हो
यो सपना पनि तिम्रो हो
अब यी बालबच्चाहरुलाई भविष्य देखाउने
अभिभारा पनि तिम्रो हो ।
(लेखक : कोपिलाको फेसबुक कविता डायरीबाट)













