महिला आन्दोलनको सान्दर्भिकता

महिला आन्दोलन संसारभरका महिला शोषित–पीडित छन् भन्ने अनुभूतिपछि प्रारम्भ गरिएको हो, तथापि यसले महिलाको मात्र हित खोजेको छैन । यसले सबैको सहभागिताको वकालत गर्छ, समतामूलक समाजको परिकल्पना गर्छ ।

महिला दिवसका बेला र अघिपछि पनि धेरै मानिस अनेक जिज्ञासा राख्ने गर्छन् । यस पटक पनि महिला दिवसको केही दिनपछि दुई जनाले सोधेका थिए, ‘महिलावादीहरू महिलाका समस्या अनेक छन् भन्छन्, तर एक दिन महिला दिवस मनाउँदैमा ती समस्या कसरी निराकरण हुन्छन् ? वर्षमा एक दिन नारी दिवस मनाउनुको औचित्य के ?’

साधारण बोलीचालीका भाषादेखि संस्कार, संस्कृति, नीतिनियम, कानुन, राजनीति, अर्थनीतिसम्म महिलाले भोग्दै आएका विभेद सर्वत्र छन्स व्यापक छन् । त्यसैले संघर्ष पनि निरन्तर गर्नुपर्ने नै हो, एक दिन होइन । तथापि हामी एक दिन महिला दिवस मनाउँछौं किन रु किनकि यसले हामीलाई इतिहासको याद गराउँछ र सिकेका पाठहरूबाट अघि बढ्न सिकाउँछ । विश्वभरिका महिलाका साझा मुद्दामा ऐक्यबद्धता जनाउन प्रेरणा दिन्छ, हाम्रा लुकेका मुद्दाहरू उजागर गराउने अवसर दिन्छ ।

सन् १९०८ ताका युरोप र अमेरिकाका कारखानाहरूबाट समान तलब र काम गर्ने समय घटाउनुपर्नेजस्ता सामान्य माग राख्दै मजदुर महिलाहरूले सुरु गरेको क्रान्तिले आजसम्म आइपुग्दा विश्वभरि यति विशाल रूप लिएको छ, सामाजिक अवयवका अनेकमध्ये महिलाले चासो राख्नु नपर्ने कुनै क्षेत्रै छैन । अहिले यो क्रान्तिले महिला मजदुरको समस्या समाधानको मात्र बाटो खोज्दैन, समाजको हरेक तह र तप्काका मानिसहरूको न्यायको आवाज मुखरित गर्ने गर्छ । आज यो मुद्दा न कुनै भूगोलको रेखाभित्र कैद छ, न यो आर्थिक मामिला मात्र हो, न हामीकहाँजस्तो राजनीतिक उपलब्धिका रूपमा मानिएको संख्यात्मक जोडघटाउ मात्र हो, न यसको उद्देश्यलाई कुनै सांस्कृतिक मुद्दामा मात्र सीमित गराउन मिल्छ, न त यो आवरणमा देखिएजस्तो महिला र किशोरीको मुद्दा मात्र हो ।

माथि भनिएझैं, सुरुमा महिलाहरूले आफू पछि पर्नुका कारण असमान तलब पाएको र मतदान गर्न नपाएको कुरा उठाए । बुझ्दै जाँदा थाहा भयो- आर्थिक, सामाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्य, सुरक्षा, अंश, वंश, न्याय, कानुनजस्ता तमाम क्षेत्रमा महिलालाई इज्जत, सम्मान र सुरक्षा मिल्न सकेको छैन । यस्तो किन भयो त रु प्रकृतिप्रदत्त गुणलाई आधार मानेर मानिसले बनाएका संस्कृतिका अधिकांश पक्षमा महिलालाई हेपेका, वास्ता नगरेका, हिंसा गर्ने गरेका यावत् तथ्य उजागर हुँदै गए, जसलाई अचेल हामी लैंगिक विभेद भन्छौं । लिंग हेरेर गरिने फरक सामाजिक व्यवहार । नीतिनियम यस्तै व्यवहार हेरी बने–बनाइएसजस्तो कि, सम्पत्तिको उत्तराधिकार बाबुबाट छोरामा सारियो, छोरीको गनितो–मनितो भएन । शिक्षा छोरालाई नै । हरेक संस्कार छोराकै पक्षमा बनाइँदै गए । राजनीति छोराकै एकाधिकारको क्षेत्र मानियो । यसैलाई भनिन्छ- पितृसत्ता ।

पितृसत्ताकै नीतिनियममा अभ्यस्त मानव समाजको हरेक पुरुष विशेषाधिकारवाला र महिला अधिकारविहीन निरीह प्राणी साबित हुँदै गए । यसै अवस्थाको चित्रण गर्दै सिमोन द बाउवरले कसरी समाजले महिलालाई ‘सेकेन्ड सेक्स’ को दर्जामा राखेको छ भनेर प्रस्ट्याइन् । क्लारा जेट्किनको अगुवाइमा सुरु भएको समान ज्यालाको नाराभन्दा पनि पहिलेदेखि फाट्टफुट्ट रूपमा देखिँदै आएको महिला विद्रोहले संयुक्त राष्ट्रसंघले महिला दिवस र महिला वर्ष घोषणा गरेपछि व्यापकता लिँदै गयो ।

यस आन्दोलनको गति र व्यापकतालाई मूल्यांकन गर्दै युवल नोह हरारी भन्छन्, ‘छोटो समयको अन्तरालमा मानवजातिले लैंगिक समानताका क्षेत्रमा अद्भुत सफलता हासिल गरेको छ । सय-डेढ सय वर्षपहिलेसम्स मताधिकारबाट वञ्चित महिलाहरू मताधिकार पाउन सफल भएका मात्र छैनन्, कानुनी अधिकार स्थापित गर्न र आर्थिक अवसरमा आफ्नो भूमिका निर्वाह गर्दै सशक्त पनि बनेका छन् । लैंगिक समानता र यौनिकताजस्ता विषयका आधारभूत मान्यतामा आमूल परिवर्तन आएको छ । संसारका सबै समाजले गत शताब्दीमा मात्र गरेको प्रगति हो यो ।’

लैंगिक क्रान्ति अन्यान्य क्रान्ति र युद्धहरूभन्दा सर्वथा फरक छ । समान ज्यालाको मागबाट सुरु भएको क्रान्तिपछिका सबै माग समानतामा आधारित छन् । आफूमाथि हुँदै आएको युगौंको शोषणविरुद्ध शोषण नै गर्न पाउनुपर्ने माग राख्दैन यसले । मताधिकार आफूले पनि पाउनुपर्छ भन्ने दावा कुनै प्रतिशोधको भावनाले प्रेरित थिएन बरु यो त ‘तिमीजस्तै म पनि’ भन्ने सामान्य अनुरोध थियो । लैंगिक क्रान्ति सद्भाव र सहअस्तित्वका लागि गरिएको हो, जुन सारा मनुष्यले बुझ्न आवश्यक छ । त्यसैले त भनिन्छ, महिला अधिकार भन्नु नै मानव अधिकार हो । ‘मेरो शरीर मेरो अधिकार’ भन्दा कसैको केही खोसिँदैन । विभिन्न स्थान र समयमा उर्लिएका महिला आन्दोलनहरू कहिल्यै रक्तपातपूर्ण युद्ध बनेनन् । आफ्नो अधिकारका लागि अगाडि सारिएको विचारको यो लडाइँ सत्ता, शक्ति र सम्पत्ति आर्जनको लालसाले प्रेरित युद्धभन्दा नितान्त फरक छ ।

महिला आन्दोलन खासमा सारा संसारमा महिला शोषित र पीडित छन् भन्ने अनुभूतिपछि प्रारम्भ गरिएको यात्रा हो, तथापि यसले महिलाको मात्र हित खोजेको छैन । यसले त सबैको सहभागिताको वकालत गर्छ, समतामूलक समाजको परिकल्पना गर्छ, अनि सम्पूर्ण मानवको भलाइका खातिर आसन्न संकटहरूको सौहार्दपूर्ण समाधान खोज्छ ।

संघर्ष कसले गर्ने ? कसरी गर्ने ?

यो आन्दोलन महिला र पुरूषलाई नदीका दुई किनाराजस्तो छुट्ट्याउने, कित्ताकाट गर्ने प्रक्रिया होइन, न त महिला मात्र लड्ने लडाइँ हो । नारीवाद, नारी दिवस भन्नेबित्तिकै उतर्सिने मानिस प्रशस्तै भेटिन्छन् । ‘डलरवादीको आन्दोलन,’ ‘आफ्नो संस्कृति मिच्नेहरू,’ ‘सुकिलामुकिलाको लडाइँ,’ ‘पश्चिमाले उरालेको आन्दोलन’ जस्ता अनगिन्ती शब्दवाण सामाजिक सञ्जालदेखि सामान्य बोलीचालीसम्म देखिन्छन्, सुनिन्छन् । तथापि जबदेखि महिला अधिकारको आवाज मुखर हुन थाल्यो तबदेखि नै पुरुषहरूले पनि साथ दिइरहेका छन्स के कारणले महिला पछि परेका हुन् भन्नेमा अनुसन्धान गरेका छन्स नीति, नियम, संस्कार बदल्ने प्रयास गरेका छन् । यस अर्थमा पुरुषहरूले पनि महिला आन्दोलनको अगुवाइ गरेका छन् । बरु कतिपय महिला नै जानेर–नजानेर, बुझेर–नबुझेर महिला आन्दोलनको विरोधी भएका छन् ।

‘सासूले नै बुहारीको विरोध गर्छे अनि महिला आन्दोलन कसरी सफल हुन्छ’ भन्नेजस्तो कथन जताततै सुन्न पाइन्छ । यहीँनेर के बुझ्नुपर्छ भने, सासूबुहारी पनि यही पितृसत्ताका उपज हुन् । उनीहरूले महिला भनेका पुरुषका सेवक हुन् भन्ने सुन्दै र अनेकौं हिंसा पनि सहज रूपमा सहँदै आएका हुन् । लोग्नेले पिटे सहनुपर्ने, नसहने हो भने आफ्नै इज्जत जाने, दाइजो लैजानैपर्ने, अंश लिनै नहुने भन्ने सुन्दै र त्यसमै अभ्यस्त हुँदै आएका छन् । जतिसुकै अमानवीय कामकुरा पनि पचाउने बानी परेको छ उनीहरूलाई । तीमध्ये केहीले विद्यमान विभेदको जरोकिलो कहाँसम्म फैलिएको छ भनी बुझेका छैनन् । केहीले केही बुझेका भए पनि आफ्नो ‘औकात’ सम्झेर पितृसत्ताको खिलाफ जाने हिम्मत गर्न सकेका छैनन् ।

महिला नारीवादी हुनैपर्छ भन्ने छैन, पुरुष यसको खिलाफ हुनुपर्छ भन्ने पनि होइन, न त नारीवादी आन्दोलन भनेको एकापट्टि पुरूष र अर्कोपट्टि महिला जम्मा भएर डोरी तान्ने खेलजस्तो हारजितको लडाइँ हो । यो त नितान्त विचारको लडाइँ हो । जोकसैलाई यसमा समाहित हुन मन लाग्छ, हुन सक्छन् । समान ज्यालाको मागसहित प्रारम्भ गरिएको आन्दोलनभन्दा आधा शताब्दीपहिले नै जोन स्टुवार्ट मिलजस्ता केही पुरुषले बेलायती संसद्मा महिलाले पनि पुरुषसरह मत हाल्न र निर्वाचनमा लड्न पाउनुपर्ने आवाज उठाएका थिए । प्रदीप गिरिजस्ता राजनीतिकर्मीको महिलाप्रतिको चेत आजका कुनै महिला नारीवादीको भन्दा कम थिएन । डा। सञ्जीव उप्रेती युगौंदेखि निर्मित ‘संरचनागत लाभांश’ मा अघि परेका पुरुषले नबुझेसम्म महिला समानताको लडाइँ अधुरै रहन्छ भन्दै छन् । अनि कसरी भन्नु यो महिलाको मात्र लडाइँ हो भनेर रु

आन्दोलन, विद्रोह, संघर्ष जे भने पनि यसको रूप सधैं र सबै ठाउँमा एकै हुँदैनस सबैले एकै तरिकाले योगदान दिनुपर्ने पनि होइन । विद्रोह सधैं सामूहिक प्रक्रिया हो भन्ने पनि होइन । यसका लागि कहिलेकाहीँ सामूहिक प्रतिकार चाहिन्छ नै । त्योभन्दा पनि बढ्ता यो त एकएकको सुझबुझसहितको एकल साहसिक कार्य पनि हो ।

कतिपय अधिकारकर्मीसमेत परको कुरा खोज्छन्, वरको छोड्छन्स आर्थिक अधिकारको वकालत गर्छन्, राजनीतिमा कोटा चाहिन्छ भन्छन्, नीति नियम यस्तो चाहिन्छ भन्छन्, पितृसत्ताको धूवाँदार विरोध गर्छन् तर घरभित्रको सानोभन्दा सानो विभेदमा प्रतिकार गर्दैनन्स हिंसा सहन्छन् । उनीहरूका लागि अधिकार भनेको सरकारसँगको लडाइँ हो, परतिरको प्राप्ति हो अनि कतिपय बेला अरूले गर्ने लडाइँ हो । त्यसैले त्यसमा आफू सरिक हुन आवश्यक ठान्दैनन् । तर बुझ्नुपर्छ, यो घरदेखि कार्यस्थलसम्म, परिवारदेखि समाजसम्म पाइलापाइलामा परिवर्तन खोज्ने प्रक्रिया हो । संस्कार र संस्कृतिका नाममा थुपारिएका बेअर्थका अनेकौं अन्धविश्वास, ढोङ र हिंसाको उल्लंघन हो, जसका लागि सधैं न समूहमा मात्र उत्रन आवश्यक छ न सम्भवै हुन्छ । अझ अधिकांश समयमा त तत्क्षणको प्रतिकार प्रभावकारी हुन्छ, पछि त्यसको सन्दर्भ र महत्त्व बुझाउनै कठिन हुन्छ ।

सबै प्रतिकार तत्क्षण गर्नुपर्छ भन्नेचाहिँ होइन । एक्लैले गर्ने प्रतिकार र अवज्ञाका निश्चय पनि सीमा छन् । उदाहरणका लागि, यौन हिंसाका अनेक घटनाको तत्क्षण प्रतिकार गर्न सकिँदैन वा सकिएन भने आफ्नो अनुकूलको समयमा सार्वजनिक गर्दा पनि हुन्छ तर हिंसा सहिरहनुचाहिँ हुँदैन । ‘मी टु’ यही मान्यताको उपज हो ।

करिब डेढ शताब्दी पार गरेर आजका दिनसम्म आइपुग्दा लैंगिक विभेद तथा यौनिकताका सवाल जसरी महत्त्वपूर्ण ठानिएका छन्, त्यसरी नै भोलि अन्यान्य विषयले पनि प्राथमिकता पाउँदै जालान् । महिलावादको उद्देश्य पनि हाम्रै अनुभवबाट निःसृत परिणामलाई समेट्दै समस्या समाधानका समयसपेक्ष उपाय पत्ता लगाउँदै जाने जीवन्त प्रक्रिया हो । अनि यस अभियानले हरेकको सुझबुझसहितको योगदानको अपेक्षा गर्छ । कान्तिपुरबाट ।