सडकमा मालिकहरू
मानौं यो देश मालिकहरूको हो
यहाँ मालिकहरूको आदेश पालन हुन्छ
मालिकहरूकै कुरामा सुनुवाइ हुन्छ
किन कि
यो देश मालिकहरूले चलाउँछन् ।
हाम्रा बा’हरूले
यो घना झाडी र बञ्जर भूमि आवाद गरे
र बनेका हुन् उर्बर माटो ।
यता केही थान सामन्तहरूका आँखा
हाम्रा बा’हरूको पसिना लुट्न
ललायित भए र लुटियो
धर्म र संस्कृतिको नाममा पुरै आवाद भूगोल
र बाहरूलाई उही भूगोलमाथि
श्रमको दास बनाइयो ।
अनि, एउटा बैधानिक प्रमाण–पत्रमा लेखियो
लुटको कालो इतिहास
महाराजको दान–दक्षिणाले किनियो
यो बडेमानको भूगोल ।
बा’हरूलाई थाहा छैन
कुन भूगोल बेचियो रु
कुन मूल्यमा बेचियो रु
कुन कागजमा सही–छाप गरियो रु
र कुन सहुमहाजनले खरिद गर्यो रु
तर, बा’हरूलाई यति कुरा थाहा छ
बा’हरूको बिमतिका बाबजूद पनि
मालिकहरूकै जालझेलमा
आवाद भूगोल लुटियो ।
आज मालिकहरू हाम्रै बा’हरूका बिरुद्ध छन्
हाम्रै बा’हरूको पसिनाको बिरुद्धमा छन्
किन कि
हिजो तीनै सामन्तहरूलाई
हाम्रा बा’हरूले रातो भाले खुवाउन सकेनन्
गोलराको रक्सी पुर्याउन सकेनन्
र यही झोकमा हाम्रा बा’हरूको पसिना लुटेर
मुठ्ठीभर दलालहरूलाई मालिक बनाएका हुन् ।
मालिकहरू अझै पनि
धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर
आकर्षण विज्ञापन गरिरहेछन् ।
इतिहासले केही पदचाप छोडेर गएको छ
महन्थहरू डोकोभरि पैसा लुटेर भागेको
महन्थहरू धनसहित कसैको चेलीबेटी भगाएको
भूमाफियाहरू किस्ता–किस्तामा बिक्री गरिरहेको
र मिलोमतोमा ढुकुटी लुटिरहेको ।
आज मुट्ठीभर मालिकहरूको स्वर्गको जग
नहल्लियोस् भनेर मालिहरू सडकमा छन्
यसो त मालिकहरू सदनमा पनि छन्, सरकारमा पनि छन्
र अहिले बिगतको लुट इतिहास नबाहिरियोस् भनेर
हाम्रा बा’हरूका बिरुद्ध दफा–दफामा झूट वकालत गरिरहेछन्
बूँदा–बूँदामा स्पष्टीकरण दिरहेछन्
किन कि
यति बेला पनि हाम्रा बा’हरू निरीह छन्
निरीहहरू र पीडितहरू
लुटिएपछि अधिकार माँग्छन्
तर यतिबेला बा’हरू होइन
मालिकहरू लुटकै साम्राज्य माग्दै सडकमा छन्
किन कि
यो देश मालिकहरूले चलाउँछन् ।













