सिपलाई बजारसँग जोड्दै शनिबारे मेला
कैलाली। धनगढी उपमहानगरपालिकाले सीप सिकेर घरमै सीमित रहेका महिला उद्यमीलाई बजारसँग जोड्ने प्रयास गरिरहेको छ। पालिकाले दुई वर्षअघिदेखि शनिबारे मेला सुरु गरी करिब १५० जना महिला उद्यमीलाई स्वरोजगार बन्ने अवसर दिएको उपप्रमुख कन्दकला रानाले बताइन्।
‘‘श्रमको सम्मान र महिलाको आर्थिक सशक्तीकरणका लागि २०८१ सालदेखि हप्तामा एक दिन शनिबार मेला सुरु भएको हो। यहाँ नेपाली भान्छामा पाक्ने परम्परागत, मौलिक तथा अर्गानिक खानाको प्रवर्द्धन भइरहेको छ,’’ उनी भन्छिन्।
परिकारदेखि हस्तकलासम्म
सुदूरपश्चिममा बसोबास गर्ने विभिन्न समुदायको आ(आफ्नै संस्कृतिअनुसारका खानाका परिकार मेलाको मुख्य आकर्षण बनेका छन्। राना थारू, डङ्गौरा थारू, नेवार तथा पहाडी समुदायका परिकार मेलामा राखिने गरेका छन्।
मेलामा नेवारी खाजा, थारू समुदायका ढिक्री, गंगटाको मासु, लोकल कुखुराको मासु, घोंगी, अन्डीक भातलगायत परिकार पाइन्छन्। त्यस्तै, पहाडी समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटुक, निस्सोसे, मासको पुरीलगायत परिकार पनि मेलामा राखिने गरेका छन्।
महिला उद्यमीले घरमै बनाएका झोला, चप्पल, हातले बनाएका क्रिङ ९छल्ला०, हातले बुनेका कपडा, दुना(टपरी तथा फाइबरबाट बनाइएका घर सजावटका सामग्रीसमेत स्टलमा राख्ने गरेका छन्।
जाडो सुरु हुनासाथ फेरि मेला सञ्चालन गर्ने गरी २०८३ सालको मेला २४ असोजमा उद्घाटन गर्ने तयारी
धनगढी(५ की दिप्ती राजभण्डारीले शनिबारे बजारमा दुना–टपरी र हस्तकलाका सजावटका सामग्री राख्दै आएकी छन्। घरको काम सकेर फुर्सद हुनेबित्तिकै दुना(टपरी गाँस्ने, पोते बनाउने, रिबनका फूल बनाएर गमला सजाउनेलगायत सामग्री निर्माण गर्दै आएको उनले बताइन्।
धनगढी(१५ को जमुना महिला समूहकी अध्यक्ष सुमती चौधरीले थारू खाजाको स्टल राख्दै आएकी छन्। उनको स्टलमा ढिक्री, सुकेको माछा, घोंघी फुलौरीलगायत परिकार बिक्रीका लागि राखिने गरेका छन्।
मोहनपुरकी उमा तामाङले पनि मेलामा अचारको स्टल राखेकी थिइन्। उनले चार किसिमका अचार बिक्रीका लागि बजारमा ल्याउने गरेकी छन्। मेलाले अचार बनाउन आफूलाई थप उत्साहित बनाएको उनले बताइन्। हप्तामा दुई दिन मेला लागे उद्यमी महिलाको आम्दानी बढाउन थप सहज हुने उनको सुझाव छ। ‘‘मेला एकदम राम्रो छ। पहिला घरमै बस्नुपर्ने र बनाएको अचार बिक्री गर्न समस्या थियो। अब सहज भएको छ,’’ उनी भन्छिन्।
उत्पादनसँगै बजारको पहुँच
सिप सिकेका तर कतै व्यवसाय नगरेका महिलालाई निःशुल्क बजारको अवसर दिने उद्देश्यले शनिबारे मेला सुरु गरिएको उपप्रमुख रानाले बताइन्। ‘‘तालिम लिने तर त्यसबाट सिकेका कुरा बजारमा लैजाने प्रवृत्ति एकदमै न्यून छ। हामीले महिला उद्यमीलाई उत्पादनमा मात्रै होइन, बजारसँग पनि पहुँच बनाइदिएका हौँ,’’ उनी भन्छिन्।
नगरपालिकाले गर्मी र वर्षायामलाई मध्यनजर गर्दै सो अवधिमा मेला सञ्चालनमा रोक लगाउने गरेको छ। जाडो सुरु हुनासाथ फेरि मेला सञ्चालन गर्ने गरी २०८३ सालको मेला २४ असोजमा उद्घाटन गर्ने तयारी रहेको रानाले बताइन्। ‘‘यो मेलालाई हामीले दीर्घकालसम्म निरन्तरता दिने सोच बनाएका छौँ। घरमै सीमित महिलाले व्यवसाय गर्न सिकून् भन्ने हाम्रो उद्देश्य हो,’’ उनी भन्छिन्।
विभिन्न परम्परागत खाना तथा खाजाका परिकारले महिलाको आम्दानीसँगै आत्मविश्वास पनि बढाएको धनगढी उपमहानगरपालिकाको भनाइ छ।
मेलामार्फत उद्यमशीलता विकासका लागि आवश्यक सिप र तालिमको पहिचानसमेत हुने उपप्रमुख रानाको भनाइ छ। महिलाको आयआर्जन बढाउन र सिप सिकेका महिलालाई उत्पादन तथा व्यवसाय गर्न सहज होस् भनेर मेलाको आयोजना गरिएको उनले बताइन्। ‘‘यस मेलाले महिलामा उद्यम गर्ने बानीको विकास हुनेछ। साथै सिकेको सिपबाट उत्पादन गर्ने भावनाको पनि विकास हुनेछ’’ उनी भन्छिन्।
विभिन्न परम्परागत खाना तथा खाजाका परिकारले महिलाको आम्दानीसँगै आत्मविश्वास पनि बढाएको उपमहानगरपालिकाको भनाइ छ। महिलाहरू समूह बनाएर पनि स्टल राख्दै आएका छन्।
बजारसँगै सांस्कृतिक जमघट
मेलालाई केवल व्यापारिक गतिविधिमा सीमित नराखी मनोरञ्जन र सांस्कृतिक कार्यक्रमसमेत जोडिएको छ। मेलामा सांस्कृतिक प्रतियोगितामा सहभागी विद्यार्थी तथा बालबालिकासमेत उत्साहित हुने गरेका छन्।
धनगढी-१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयका छात्राहरूले दुईवटा समूह बनाएर नृत्य प्रस्तुत गरेका थिए। उक्त दिन धनगढीका १० वटा विद्यालयका विद्यार्थी नृत्य प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो।
मेलाको अर्को छेउमा साना बालबालिकालाई लक्षित गरी खेलमैदान पनि छुट्ट्याइएको छ। त्यहाँ बालबालिकाका लागि विभिन्न खेल सामग्री राखिने गरेका छन्। सांस्कृतिक मञ्चमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जन दिन भजन–कीर्तन, पौराणिक गीत, वक्तृत्वकला तथा नृत्य प्रस्तुतिलगायत कार्यक्रम हुने गरेका छन्। मेलामा पालिकाले स्टल निःशुल्क उपलब्ध गराउँदै आएको छ। प्रत्येक स्टलका लागि एउटा कुर्सी र एउटा टेबलसमेत उपलब्ध गराउने गरिएको छ। नेपालन्यूजबाट ।













