बलात्कारपछि सुत्केरी किशोरी : न्याय होइन थप अन्यायको जालोमा

माघको महिना, तराईमा वर्षा पहाडमा हिउँ परिरहेको थियो । सिमसिमे पानीसंगै चिसो हावाको सहारामा कैलालीदेखि कञ्चनपुरसम्मको स्कुटी यात्रा तय गरे । जहाँ १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएर बच्चा नै जन्मिसकेको ठाउँको अवलोकन गर्न ।

गाउँभरि ती बालिकाकै कुरा चर्चामा थियो । जो एक बच्चाले अर्को बच्चाको जन्म दिइकी थिईन् । त्यो समाजमा पीडकको खोजी गर्न कोही तयार थिएनन् । सबैले बालिकामाथि नै प्रहार गरिरहेका थिए । गाउँ छेउमै सानो बजार थियो । पानी परेर होला सायद । पसल पसलमा २–४ जना मान्छेको भेला थियो । त्यो ठाउँकोलागि म नयाँ अनुहार, कपडा किन्ने बहानामा ति भेला भएका मान्छेहरुको कानेखुशी मज्जाले सुन्न पाएँ ।

मेरालागि त्यो बजार अन्जान थियो, तर ती बालिकाकालागि कुनै न कुनै साईनो जोडिएको थियो । बालिकाको पक्षमा केही व्यापारिहरु कुरा गरेपनि न्यायको खातिर बाहिरिन कोही तयार थिएनन् । सामाजिक सञ्जालमा उनै बालिकाकोबारेमा तर्क वितर्क भईरहेको थियो । अनलाईन खबरमा प्रकाशीत सामाचार प्रायःले हेरिरहेका थिए । त्यो समाचारको मुनि पृतीसत्ताले घेरिएका ठिठाहरुको औला अपाच्य शब्दले कमेन्टहरु लेखिदै थिए । ति कमेन्ट हेर्दा पृतीसत्ताको झिल्को बलिरहेको थियो ।

लाग्थ्यो महिला त, केवल बजारमा विक्री हुने कुनै बस्तु हुन् । उनीसंग मन, विचार, भावना केही पनि छैन ? त्यो बालिका समाजकोलागि बजारको खेलौना जस्तै भईन् । फिल्डमा सुनेको कुरा यदि साँचो हो भने ति बालिका कोही किन्ने त, कोही बेच्ने बस्तु बनिन् । उनी आफ्नो बारेमा सोच्नै सकिनन् । बरु घरको समस्या सुल्झाउने साधान बन्नि । आफू बाध्य भएर कसैको आवश्यकता पुरा गरिन् त कसैको मनोरञ्जनका साधन बनिन् ।

बालिका आर्थिकरुपले कमजोर परिवारका सदस्य हुन् । उनको आमा र बुवा महाकाली नदीमा बालुवा छान्ने काम गर्छन् महाकाली नदी र बालिकाको घर ६० किलोमिटरको दुरीमा पर्छ । जसले गर्दा आमा बुवाले आफ्नो छोरीलाई घरमा एक्लै छोडेर महाकाली किनारमै बस्ने गर्थे । बालिका स्कुलबाट आएर ठेलामा तरकारीपनि बेच्ने गर्थिन् । उनको बुवाले लघुवित्तको चर्को व्याजमा एक लाख भन्दा बढी रुपैयाँ ऋण लिएका कारण केही महिना अगाडी निकै समस्यामा थिएँ । तर अहिले त्यो परिवार यहि मंसिर २० गतेदेखि पक्की घर बनाउनमा व्यस्त छन् । निर्माणधिन घर लिन्टर हाल्न मात्रै बाँकी छ । प्रहरीकोलागि अनुसन्धन गर्न यो उदाहरण बलियो हुन सक्छ ।

बालिका दैनिक स्कुल गईरहेकी थिईन् । गत बैशाष २० गते भारतीय नागरिक नाताले (भिनाजु) पर्ने बरेलीका दयाराम गुप्तासंग विवाह गर्ने भन्दै भारत जाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको थियो । त्यो दिन सीमा प्रहरी, माईति नेपाल र परिवारको छलफल पश्चात घटना मिलापत्र भयो । उक्त घटनापछि भारतिय नागरिक गुप्ता नेपाल भने आएका छैन । उता बालिका गर्भवति भईन् तर आमा बुवाले भने शुरुदेखि बालिकाको गर्भ लुकाउन प्रयासरत भए । अन्ततः बालिकाले शिशुको जन्म दिईन् ।

केही स्थानीयहरु भने बजारकै एक बैंकको म्यानेजर, बालिका पढ्ने स्कुलको शिक्षक र एक व्यापारीलाई आरोप लगाईरहेका छन् । बालिकाका परिवारले मंसिर महिनामा आरोप लागेकाहरुसंग गुप्तरुपले छलफल गरिएको कुरा बाहिर हल्ला छ । जुन बेला बालिका ८ महिनाको गर्भवति भईसकेका थिईन् । गर्भपटन गर्न सक्ने अवस्था नभएपछि परिवारले ती आरोप खेप्दै आएका व्यक्तिबाट पाँच÷पाँच लाखका दरले रु १५ लाखमा मिलापत्र भएको गाउँलेहरु आरोप लगाउँदै आईरहेका छन् ।

बालिकालाई प्रशव पिडाले च्यापेपनि उनका परिवारले अस्पताल पुर्याएन । घरको इज्जत जाने डरले जोखिमका बाबजुद पनि बालिका यहि माघ ३ गते घरमै बच्चा जन्माईन् । गाउँलेहरुलाई कुनै शंका नहोस् भनि बालिकालाई बच्चा जन्मेको तेस्रो दिन ठेला लिएर तरकारी बेच्न पठाइयो । घटना लकाउनलाई परिवारले एकमाथि अर्को अपराध गर्दै गए । अनततः घटना बाहिरियो । त्यसपछि माघ ७ गतेका दिन वडा नं. ८ का वडा अध्यक्ष विसराम रानाको रहोवरमा प्रहरी प्रशासन, स्थानीय राजनीतिक दल र आरोप खोप्दै आएका तिनै पात्रहरुको उपस्थितिमा छलफल भयो । छलफल गरेवाफल वडा अध्यक्षपनि रु एक लाख रुपैयाँ लिएको गाउँमा हल्ला फिजिएको छ । छलफल पश्चात बालिकाको बुवाले भारतीय नागरिक गुप्ताले नै छोरीलाई गर्भबवति बनाएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।

त्यो दिनदेखि बालिकालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानकोलागि आफ्नो निगरानी राखेको छ । भर्खरै सुत्केरी भएको बालिकाको पीडा कसैले देखेन्न् । ती अवोध बालिका जस्को अवाजमापनि आँशु लुकेको छ । तर ती रोदन कसैले सुनेन् । उनी दिनानुदिन वर्दीवाला प्रहरीसंगै भ्यानमा बसेर भरुवा बन्दुक नियाल्दै ईलाका प्रहरी कार्यालय, महाकाली अस्पताल, जिल्ला प्रहरी कार्यालय धाईरहेकी छिन् । प्रहरीले त ती बालिकालाई सुरक्षित अवास गृहमा राखेर एकद्धार प्रर्णाली मार्फत उपचार गर्न पो सहयोग गर्नु होईन र ?

तर सुत्केरी अवस्थामा बालिकालाई खानपान, सरसफाई, अरामसंगै मनोपरामर्श दिनुको सत्ता अनुसन्धानको नाममा अर्को तनावपूर्ण यातना दिनु के जायज हो ? प्रहरी प्रशासनले यस्तो गर्न जरुरी छ र ? कतै प्रहरीपनि घटनालाई तोडमोड त गरिराखेको छैन ? त्यतातिर कसैको ध्यान गएको देखिन्दैन ।

ध्यान जाओस् पनि कसरी । आखिर पीडित बालिका जो एक्लै छिन् । आफन्त, परिवार सबै बालिकाले ठूलो गल्ती गरे भन्दै उनैमाथि प्रहार गरिरहेका छन् । परिवारले त अब अर्को अपराध नै गर्न खोज्दैछ । बालिकाको एक आफन्तले भने ‘जे हुने भईसक्यो अब यो घटनालाई अगाडी नबढाऔं । कुनै केटा खोजेर बिबाह गरिदिने तयारी गर्दैर्छौ । घरको समस्या घरमै राखौं बाहिरकाले बोल्नुपर्दैन ।’ जब कि उनी उमेरले विबाह गर्न लायक नै छैनन् । २० वर्ष अगाडी बिबाह गर्दा कानूनले विबाह गर्ने र गराउने दुबैलाई सजाय तोकिएको छ ।

यो घटना सोही पालिकाका न्यायक समितिलाईपनि राम्रोसंग थाहाँ छ । माघको ९–१० गते सम्ममा त उपप्रमुख जोगराम चौधरीले पनि विभिन्न सञ्चारमाध्यममा आफ्नो अवाज समेत दिए । बालिकामाथि अन्याय भएकै हो भनेर । तर अचानक खै के भयो उपप्रमखुले आफ्नो फेसबुकमा हातले लेखिएको विज्ञप्ती नै पोष्ट गर्न भ्याए । उनको विज्ञप्तीमा लेखिएको छ ‘बेलौरी नगरपालिका वडा नं. ८ मा अविबाहित किशोरीले बच्चा जन्माएको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले मेरो नाम जोडेर कसैको चरित्र हत्या गर्ने किसिमको सामाग्री प्रशारण गरेकोले अपुष्ट सामाचार कसैलेपनि लेख्न नमिल्ने भएकोले ज जस्ले लेखेको छ उक्त समाग्री हटाउन आग्रह गर्दछु । म बाट भएको कुनै गल्ती भए माफी चहान्छु ।’ उपप्रमुखले नै यति सम्मको स्पष्टिकरण दिनुपर्ने कारण के थियो ?

उहिले उहिले मेरा आमाले भन्ने गर्थिन् ‘ठूला बडा पहुचवालाको त पादपनि सुघनु हुन्न, हात धोएर पछि लाग्छन् ।’ त्यसको अर्थ अहिले पो बुझ्दै छु । रातारात काम जति सबै सेटिंगमा हुदोरहेछ । यहाँ त ठूलालाई चयन सानालाई पो ऐन र कानून छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायका अनुसार एक नबालिक १४ वर्षकै उमेरमा बच्चा जन्माउनु भनेको उ माथि जबरजस्ती करणी नै भएको हो । पीडकलाई जोगाउनकोलागि घटना लुकाउने प्रयासमा जजस्ले सहयोगी भुमिका खेल्छ उ सबै मतियार हुन्छ । कानूनीरुपले तोकिए बमोजिम सबैले सजायको भागेदार हुन्छ ।

तर यहाँ कानूनी परिभाषा जे जस्तो भएपनि समाज आफ्नै लयमा छ । बास्तविक पीडक को हो कसैले मुख खोल्न आट गर्दैनन् । त्यसैले त कयौं निर्दोष मान्छे अनाहकमा सजाय भोग्न बाध्य छन् । कामना गरौं, यो घटनामा न्यायीक निकायले बास्तविक दोषीलाई कार्बाही गरेको सुन्न पाउँ । अनि मात्र, यी बालिका जस्तै हजारौं हजार प्रभावित बालिकाहरुले न्याय पाएको महशुस गर्न सक्छन् ।